नेपाली नागरिकलाई शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।
माओवादी नेता एंव उर्जामन्त्री शक्तिबहादुर बस्नेतको मन्त्रालय बाहिरबाट उनी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।
मन्त्रालय बाहिर समातिएका मियाँलाई मन्त्री शक्तिबहादुर बस्नेतले लुकाउन खाजेकाे प्रहरीकाे आरोप छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयबाट पक्राउ परेका उनलाई काठमाडौँ प्रहरी परिसर लगिएको छ।
भुटानी शरणार्थी प्रकरणमा पैसा ओसारपसार गर्दा उनकाे गाडी प्रयोग भएको खुलासा भएको थियो। याे प्रकरणमा मियाँको पनि संलग्नता रहेकाे देखिएपछि प्रहरीले बिहीबार पक्राउ गरेको हो।
नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ ठगी भएको फेला परेपछि प्रहरीले त्यस घटनामा जोडिएका पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
उनीहरूमाथि प्रहरीले सङ्गठित अपराध र ठगीमा अनुसन्धान गरिरहेको छ। अब प्रहरीलाई उनीहरूमाथि अनुसन्धान गर्न सात दिनको मात्रै समय छ।