सुदूरपश्चिममा सत्ता गठबन्धनबीच भागबण्डा मिल्यो, माओवादीबाट साउद र धामी मन्त्री बन्दै

फाइल तस्विर
फाइल तस्विर

सुदूरपश्चिम प्रदेश सरकारमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको छ।

गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र)ले २, नेपाली कांग्रेसले थप १ र नागरिक उन्मुक्ति पार्टीले १ मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए।

भागबण्डामा कुरा मिलेसँगै मुख्यमन्त्री कमलबहादुर शाह आजै (शुक्रबार) सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन्। उनले भागबण्डा मिलाउन नसक्दा मुख्यमन्त्री भएको तीन महिनासम्म पनि सरकारलाई पूर्णता दिन सकेको थिएनन्।

भागबण्डा अनुसार दुई मन्त्रालय पाएको माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्रीको नाम टुंग्याएको छ। माओवादीले झपट साउदलाई सामाजिक विकासमन्त्री र रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाउने भएको छ।

त्यसैगरी काँग्रेस र नागरिक उन्मुक्ति पार्टीले पनि आजै मन्त्रीको नाम टुंग्याएर सरकारमा जाने तयारीमा छन्।

एमाले नेतृत्वको तत्कालीन सरकार अल्पमतमा परेपछि गत माघ २६ गते काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका थिए। उनी मुख्यमन्त्री बनेको आजै एक सय दिन पूरा भएको छ।

प्रकाशित मिति: : 2023-05-19 10:25:00

प्रतिकृया दिनुहोस्