'लडाकु शिविरमा भ्रष्टाचार भएको छैन, खुलेआम लुट थियो'

File Photo
File Photo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले लडाकु शिविरमा कुनै भ्रष्टाचार नभइ खुलेआम लुट भएकाे टिप्पणी गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार संसद बैठकमा सांसदहरूकाे प्रश्नकाे जवाफ दिँदै लडाकु शिविर घोटाला भएको प्रमाणित भए जेल जान तयार रहेकाे बताएका थिए। यही सन्दर्भमा महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्ता बताएकाे हुन्।

'लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन। हो नि लुकेर गरेको भए पो भ्रस्टाचार र अनियमितता हुन्थ्यो। त्यो राज्य माथिको खुलेआम लुट थियो, डकैती थियो। अनि माओवादीका सुप्रिमोहरूलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रस्टाचार भन्न मिल्छ र?', उनले भनेका छन्,' तर पनि नेपाली जनताले शान्तिका नाममा ती सवै कुरालाई आजसम्म सहदै आएका छन्। सत्य यही हो।

लडाकु शिविर प्रकरणमा ७-८ हजारको हाराहारीमा रहेका लडाकुहरूलाई ३२-३३ हजार पुर्याएको कुरा प्रचण्ड आफैँले हुंकारका साथ बाेलेको अडियो सामाजिक सञ्जालमा सुरक्षित रहेका दाबी गरे।

'वास्तविक लडाकु ७-८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरू बाँकीलाई वाईसियलका रूपमा राजनीतिक रूपमा परिचालित गरेको तथ्य अहिले माओवादीवाट वाहिरिएका धेरैले बाेल्ने गर्दछन्', उनले लेखेका छन्, 'शिविरमा रहेकाहरूले वुझ्नेगरेको भत्ताको चेक उनीहरूका कमाण्डरले खोरेर राख्नेगरेको कुरा त्यहावस्ने लडाकुहरू धेरैले धेरैपटक उठाउदै आएको कुरा हो।'

लडाकुको नाममा राज्यले उपलव्ध गराएको सहयोग कसरी उनीहरूका कमाण्डरहरूले लुटे र कसकसलाई बुझाए भन्ने कुरा खोजी गर्दा लुक्न सक्ने कुरा  नभएकाे समेत उनले उल्लेख गरेका छन्।

'अनमिनले प्रमाणिकरण गरेकाहरू मध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकास रोजेर राज्यवाट ठुलो रकम प्राप्त गरेकै हुन्। यी सवै तथ्यहरूबाट राज्यले कति अनुचित आर्थिक भार बाेक्नुपर्यो र लडाकुको नाममा राज्यले उपलव्ध गराएको सहयोग कसरी उनीहरूका कमाण्डरहरूले लुटे र कसकसलाई बुझाए भन्ने कुरा खोजी गर्दा लुक्न सक्ने कुरा होइन', पोखरेलले भनेका छन्, 'तर पनि प्रचण्डजीहरू अझै पनि ठुलो स्वरमा हुंकार दिइँनै रहेका छन्।'

प्रकाशित मिति: : 2023-05-19 12:07:00

प्रतिकृया दिनुहोस्