पशुपतिमा राखिएको सुनको जलहरीबारे महालेखाले उठाएको प्रश्न के हो ?

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको विषय उठेपछि संसदमा नाराबाजी भएको छ। बुधबार संसद बैठकमा सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भनाइ राखेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला २०७७ फागुन १३ गते १ सय ८ किलोको सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको थियो। उक्त जलहरी निर्माणमा ८५ करोड खर्च भएको थियो।

यस विषयमा बुधबार संसदमा प्रश्न उठेपछि शुक्रबार एमालेले संसद अवरोध गरेको छ। केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचार गरेको भन्ने विषय तथ्यका आधारमा नरहेको र आरोप लगाइएको भन्दै एमालेले संसद अवरोध गरेको हो।


ओलीमाथि लाग्यो १०८ केजीको सुनको जलहरी साटेको आरोप, एमालेद्वारा संसद् बैठक अवरुद्ध


संसद अवरोध गर्दै एमाले माओवादी सांसद दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग गरेको छ।

तर, सुनको जलहरीका विषयमा महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदनमासमेत प्रश्न उठाइएको छ। महालेखापरीक्षकको कार्यालयले २०७९ मा तयार पारेको ५९औं वार्षिक प्रतिवेदनमा केही विवरणहरु नभेटिएको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ,‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ। रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू. ७ करोड ८६ लाख ४६ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन।’

यस्ताे छ महालेखा परीक्षककाे प्रतिवेदन :

प्रकाशित मिति: : 2023-05-26 16:50:00

प्रतिकृया दिनुहोस्