सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदै

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने सोमबार राति दक्षिण अफ्रिका जाँदैछन्।

नाबालिग बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेकाले सन्दीपले विश्वकप छनोट प्रतियोगिता खेल्ने नै अन्योल थियो। तर अदालतमा सन्दीपविरुद्धको बलात्कार आरोपको मुद्दाको पेसी आगामी असार २९ गतेसम्मलाई सरेपछि उनले दक्षिण अफ्रिकामा टिमसँगै अभ्यास गर्ने भएका हुन्।

नेपाल क्रिकेट संघ (क्यान) स्रोतकाअनुसार उनी मुख्य प्रशिक्षक मोन्टी देशाईसँगै कतार एयरवेजको फ्लाइटमार्फत् दक्षिण अफ्रिका जाँदैछन्।

प्रशिक्षक देशाई भिसा समस्याका कारण गत मंगलबार टिमसँगै दक्षिण अफ्रिका जान पाएका थिएनन्। तर उनको सबै प्रक्रिया पुरा भएकाले अब सन्दीप र मोन्टीसँगै दक्षिण अफ्रिका जान लागेका हुन्।

जिल्ला अदालतले बलात्कार आरोपमा मुद्दा खेपिरहेका सन्दीपलाई ‘अपवाद’का रूपमा लामो समय तारिख स्थगित गरेपछि उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो।

सन्दीपका कानून व्यवसायीले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै सोही अनुसारको निवेदन दिएपछि लामो समयसम्मका लागि तारिख स्थगित गर्ने निर्णय भएको हो।

प्रकाशित मिति: : 2023-06-05 08:22:00

प्रतिकृया दिनुहोस्