नयाँ पुस्तामा छैन छुवाछुतकाे भेदभाव

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

दलित समुदायमाथि जातका आधारमा गरिने छुवाछुत तथा भेदभाव स्याङ्जामा न्यून हुँदै गएको दलित समुदायले महसुस गर्न थालेका छन्।

गल्याङ नगरपालिका–६ का मनिसा सेञ्चुरीले वृद्धहरुमा अझै पनि छुवाछुतको मानसिकता रहे पनि नयाँ पुस्ताका गैरदलितले छुवाछुत र विभेद नगर्ने बताइँन। धारोमा पानी भर्दा, मेलापात तथा भोजभतेर र मन्दिरमा हुने भेदभाव हट्दै जान थालेको उनको अनुभव छ। 

मानिसहरु शिक्षित बन्नु, यससम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन, समाजमा चेतनाको विकासलगायतले जातिय छुवाछुत तथा भेदभाव कम भएको उनको अनुभव छ। यद्यपि समाजका सबै उमेर समूहमा भने सोही अनुसारको चेतना फैलाउन नसकिएको उनले बताइँन। 

पुराना पुस्ताबाट धर्म तथा संस्कारका नाममा दलितलगायतका जातसँग पानी बार्ने, उनीहरुलाई मन्दिर प्रवेशमा रोक लगाउने र सम्बन्ध नगाँस्ने व्यवहार भए पनि अहिले त्यो न्यून हुँदै गएको छ। 

पछिल्लो समय दलित र गैरदलित भोजभतेरमा सँगै बसेर खान थालेका छन्। निश्चित जात मात्र पस्न र पूजा गर्न पाउने भनिएका मन्दिर सबैका लागि खुला गरिएको छ। जातियरुपमा गरिने विभेदजन्य कार्यले कानूनीरुपमा दण्डित हुनुपर्ने भएकाले पनि सार्वजनिक रुपमा छुवाछुत न्यून हुँदै गएको धेरैको बुझाइ छ।

गल्याङ नगरपालिका–११, गल्कोटका युवा उदयराज भण्डारीले आजका दिनमा सबै प्रकारका भेदभाव निन्दनीय भएको बताए। उनले जातका आधारमा हुने छुवाछुत तथा भेदभाव हटाउन विभिन्न सङ्घ संस्थासँगको सहकार्यक्रम अभियान चलाइएको समेत जानकारी दिए। जातिय छुवाछुतविरुद्धको अभियान सञ्चालन गर्दा आफूहरुलाई पुराना पुस्ताबाट सामाजिक बहिस्कारको चेतावनी समेत आउने गरेको गुनासो पोखे। यद्यपि समाजलाई पूर्णरुपमा परिवर्तन गर्न भने केही समय लाग्ने र आफूहरु सोही बाटोमा अग्रसर भएको उनको भनाइ छ।

गल्याङ नगरपालिका–४, का नारायण न्यौपानेले नयाँ पुस्तामा यसप्रकारको विभेदको मानसिकता हराउँदै गएको बताए। गल्याङ नगरपालिका–४, कै मञ्जु मगरले पनि पनि खानेपानीका धारा, मन्दिरलगायतका स्थानमा गरिने विभेद हराउँदै गएको अनुभव सुनाइँन।

दलित अधिकारकर्मी पूर्णिमा परियारले दलित एक्लैको प्रयासले जातिय छुवाछुत तथा भेदभाव निर्मूल नहुने भन्दै सबैको साझा प्रयास आवश्यक रहेको बताइँन। उनले सरोकारवाला निकायसँग  नागरिकलाई संविधान र कानुनका बारेमा अवगत गराउन सचेतनामुलक कार्यक्रम सञ्चालन गरिदिन आग्रह गरे।

–नारायण विक

प्रकाशित मिति: : 2023-06-06 17:54:00

प्रतिकृया दिनुहोस्