नागरिकताविहीनका दु:ख: राज्यकाे तिरस्कार, भविष्य नै अन्धकार

नागरिकता नहुँदा के-के समस्या भाग्नुपरेको छ ? काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेका विजय टुडुलाई शनिबार हाम्रो प्रश्न थियो। उनले प्रतिप्रश्न गरे, एकपटक सोच्नुस् त नागरिकता नभएको भए तपाईंले आजसम्म के-के गर्न पाउनुहुन्थेन ?

१३ दिनदेखि माइतीघरमा नागरिकता पाउनुपर्ने माग गर्दै धर्नामा बसेका टुडु २१ वर्षका भए। उनले नागरिकता नहुँदा साना–साना काम गर्नसमेत निकै समस्या भएको बताए। झापाको गौरिगन्ज गाउँपालिका– २ टटुवामारी गाउँ भएका उनी दमकमा बसेर अध्ययन गरिरहेका छन्।

कक्षा १२ को परीक्षा दिएर बसेका टुडु दमकमा कोरियन भाषा पढिरहेका छन्। पढ्नेसँगै उनी पढेर बचेको समयमा काम गर्न चाहन्छन्। तर, काम पाउन नागरिकता चाहिन्छ। उनी भन्छन्, ‘रुम (कोठा) भाडा मात्र कमाउनका लागि पनि काम गर्न खोजेको छु। तर, नागरिकता नभएकाले काम पाउन सकेको छैन।’

उनको आमा–बुबाको नागरिकता छ। तर, जन्मसिद्धको आधारमा बनाइएको नागरिकता भएकाले टुडुले नागरिकता पाउन सकेका छैनन्। छोराछोरीले नागरिकता पाउनका लागि हालको संविधानले वंशजका आधारमा आमा–बुवाको नागरिकता हुनुपर्ने भनेको छ।

टुडुको आमा–बुवाको नागरिकता जन्मसिद्धको आधारमा बनेकाले टुडु २१ वर्ष हुञ्जेलसम्म नागरिकता पाउन सकेका छैनन्। अब कोरिया जाने तयारीसहित काेरियन भाषा पढिरहेका छन्। तर, नागरिकता नहुँदा पढाइ किन ? के'का लागि गरि रहेको छु भन्ने उनलाई सोच आइरहन्छ।

नागरिकता नहुँदा टुडुले अनेकन समस्या भोग्नु परेको छ। एकपटक सडकमा हिँड्दै गर्दा उनको मन बेस्सरी दुःखको छ। टुडुले भने, ‘एक दिन बाइकमा यात्रा गर्दै थिएँ। ट्राफिक दाइले रोक्नुभयो। लाइसेन्स नभएको र मैले नागरिकता नपाउनुको समस्या भनेँ। तर, ट्राफिक दाइ झोक्किनुभयो। उहाँले कस्तो जन्मसिद्धको नागरिकता ? भन्दै नेपाली हो भने तिमीले नागरिकता पाउनुपर्छ नि भन्नुभयो। नागरिकता छैन भने बाइक नचलाऊ, तिमी बसमा हिँड भन्नुभयो। यतिबेला अपहेलित भएको, अनागरिक भएको महसुस भयो।’

टुडुका बाजे नेपाली नै हुन्। तर, उनले नागरिकता बनाएनन्। त्यो आवश्यक्ता ठानेन् होला। ‘नागरिकता नबनाउँदै बाजेको मृत्यु भयो। बुबाले नागरिकता बनाउँदा जन्मसिद्धका आधारमा बनाइएको रहेछ,’ उनले भने, ‘नपढेकालाई के'बाट नागरिकता बन्यो भन्ने नै थाहा भएन। अहिले हामीले दुःख पाउनु परेको छ।’

जेठ १७ गते राष्ट्रपति रामचन्द्र पाैडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछि टुडु नागरिकता बनाउन जिल्ला प्रशासन पुगेका थिए। तर, प्रशासनले माथिबाट निर्देशन नआएको भन्दै उनको नागरिकता बनाइदिएन्। जेठ २६ गते सर्वोच्च अदालतले नागरिकता वितरणमा रोक लगाएसँगै टुडुसहित काठमाडौंको माइतीघरमा नागरिकताबाट पीडित भएकाहरु धर्नामा छन्।

टुडुलाई नागरिकताको विषयमा विवाद गरेको देखेर नेताहरुले नचाहिँदो राजनीति गरेको अभाष हुने गरेको छ। ‘हामीले सरकारलाई कर तिर्न मिल्ने, हामीलाई जनगणनामा नेपालको नागरिक हो भनेर समावेश गर्न मिल्ने तर नागरिकता दिने विषयमा विवाद किन गर्नु परेको होला,’ उनी भन्छन्, ‘राजनीतिक दलका नेताहरु चुनावका बेला नागरिकता समस्या समाधान गर्छु भन्छन्। तर, ठाउँमा पुगेपछि सबै बिर्सिने रहेछन्।’

धर्नामा बसेका ५५ वर्षीय कृष्णबहादुर कार्कीसँग पनि पीडाको पहाड कम छैन। मोरङको दरवसा नगरपालिका– ८ दरवसा घर भएका उनी सानै छँदा घरबाट निस्किएका थिए। ‘म सानो छदा आमा खस्नुभयो (मृत्यु), त्यसपछि म घरबाट निस्किएको हुँ,’ उनले भने, ‘त्यसपछि मलाई अरुले पालेका हुन्।’

पहिले पहाड घर बताउने कार्की १५ वर्ष बढी अरुको घरमा बसेर काम गरे। त्यही घरबाट नागरिकता पनि बन्यो। तर, नागरिकता वंशजको बनाइएनछ। जन्मसिद्धको आधारमा कार्कीको नागरिकता बन्दा अहिले उनकी छोरीले नागरिकता पाउन सकेकी छैनन्। ‘म नेपाली नै हो। सिडियोले नागरिकता बनाउने बेला जन्मसिद्धको बनाइदिएका रहेछन्। पहिले थाहा भएन,’ उनी भन्छन्, ‘अहिले छोरीको नागरिकता बनाउनेबेला त छोरीले नागरिकता पाइनन्।’

कार्की छोरीले नागरिकता पाउन नसकेपछि ठाडो अनुहार लगाएर बोल्न पनि सकेका छैनन्। ‘पहिले जन्मसिद्धको बन्यो कि वंशजको भन्ने याद गरिएन। म नपढेको मान्छे थाहा भएन,’ उनले भने, ‘छोरीको नागरिकता बनाउन जानेबेला छोरीले नागरिकता पाउँदैनन् भनेपछि मैले छोरीलाई नागरिकता बनाइदिन सकेनँ। अहिले उनीसँग म ठाडो अनुहारले बोल्न पनि सकेको छैन।’

कार्कीले आफ्नो २० वर्षीया छोरी पढाइमा राम्रो रहेको र नागरिकता नभएकै कारणले अहिले विभिन्न समस्या भोगिरेहेको बताए। उनले भने, ‘छोरी पढाइमा ट्यालेन्ट छिन्। उनलाई ३०–३५ हजारको जागिरको अफर पनि आएको छ। तर, नागरिकता नभएकाले जागिर गर्न सकेकी छैनन्।’

कार्कीकी श्रीमतीको नागरिकता वंशजको छ। आमाको नामबाट पनि नागरिकता उनकी छोरीले पाइनन्। अहिले कार्की दमकमा बसेर होटेलमा कुकको काम गरेर जीवन चलाइरहेका छन्। ‘बिहे गरेपछि म सानोमा हुर्किएको घरबाट निस्किएको हुँ। अझै घर बनाएको छैन। छोरी पढाइरहेको छु। मेरो सम्पत्ति नै छोरी हुन।’ उनले भने।

टुडु र कार्की माइतीघरमा नागरिकता पाउनुपर्ने माग गर्दै धर्नामा बसेका उदाहण हुन्। १३ दिनदेखि माइतीघरमा झापा, मोरङ, सिराहा, सप्तरीलगायत जिल्लाबाट आएका नागरिकता पीडितहरु धर्नामा छन्। कहिलेसम्म आफूहरुलाई अनागरिक बनाउने भन्दै माइतीघरबाट प्रश्न गरिरहेका छन्।

उनीहरुले नागरिकता विधेयक छिटो कार्यन्वयनमा आउनुपर्ने माग गरेका छन्। अहिले नागरिकता नपाएर समस्या परिरहेका नागरिकको संख्या ११ लाख बढी रहेको सरकारको अनुमान छ। तर, नागरिकता विधेयकमा राजनीतिक दाउपेच हुँदा वर्षौँदेखि नागरिकहरु अनागरिक भएर बस्नु परेको छ।

भिडियाे :

प्रकाशित मिति: : 2023-06-21 18:30:00

प्रतिकृया दिनुहोस्