बाल्टिमोरमा गोली चल्दा दुईको मृत्यु, दर्जनौं घाइते

अमेरिकाको बाल्टिमोरमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने, दर्जनौँ  घाइते भएका छन्।

बाल्टिमोरको दक्षिणी क्षेत्र ब्रुकलिनस्थित ग्रेटना कोर्टमा खानपिन र नाचगान भइरहेका बेला गोली चलेको भन्दै स्थानीय अधिकारीहरूलाई फोन आएको शहरका कार्यवाहक प्रहरी आयुक्त कर्नेल रिचार्ड वोर्लेले जनाएका छन्। 

घटनास्थलमा १८ वर्षीया युवती मृत अवस्थामा फेला परेकी थिइन्। त्यस्तै, घटना भएको केही समयपछि २० वर्षीय एक युवकलाई अस्पताल लैजाँदै गर्दा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतकाअनुसार तीनजनाको अवस्था गम्भीर छ। भोजमा सहभागी दर्जनौँ मानिसहरूलाई घटनास्थलबाट अस्पताल लगिएको कार्यवाहक प्रहरी आयुक्त वोर्लेले बताएका छन्।

‘बाल्टिमोरले नराम्रो पीडा भोगेको छ। यहाँका मानिसहरूले परिवारका सदस्य र आफन्त गुमाएका छन्, उनीहरू शोकमा डुबेका छन्, ‘शहरका मेयर ब्रान्डन स्कटले पत्रकार सम्मेलनमा भने, ‘यो लापरबाहीपूर्ण र कायरतापूर्ण कार्य हो। जबसम्म हामी तपाईंलाई भेट्टाउन सक्दैनौँ तबसम्म हामी रोकिने छैनौँ।’ 

कार्यवाहक प्रहरी आयुक्त वोर्लेका अनुसार अनुसन्धानकर्ताहरूले शंकास्पद व्यक्तिको पहिचान गर्न भिडियो फुटेजको समीक्षा गरिरहेका छन्।

प्रकाशित मिति: : 2023-07-03 15:51:00

प्रतिकृया दिनुहोस्