सबैका कुरा सुन्ने माइतीघर

धर्म हराए काशी जानु
न्याय नपाए गोरखा जानु।

राज राम शाहकाे समयदेखि विद्यमान याे उखानजस्तै अहिले ‘न्याय नपाए माइतीघर जानु’ भन्दा अनुपयुक्त नहोला।

छेउमै नेपाली सेनाकाे मुख्यालय, सर्वाेच्च अदालत, मुलुककाे प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलगायत विभिन्न संघ संस्थाहरु रहेकाे माइतीघर मण्डला पुग्ने मानिसमा एउटै विश्वास छ,‘माइतीघरकाे चित्कार राज्यले सुन्छ।’ र त देशभरका पीडितहरु यहाँ आएर प्रदर्शन गर्छन्।

माइतीघर मण्डलामा के कस्ता मुद्दालाई लिएर मानिसहरु धर्नामा बस्छन् ? भन्ने विषयमा बिएल नेपाली सेवाले यही असार ६ गतेदेखि १९ गतेसम्म संकलन गरेका गतिविधिहरु समेटिएकाे रिपाेर्ट प्रस्तुत छ :


माइतीघरकाे चिसाे सडकमा आसीन मानिसहरुकाे समूह झट्ट हेर्दा आन्दाेलनकारीहरुकाे एउटा जत्थाजस्ताे देखिन्छ। उनीहरुले घन्काएका भाषणले त्यहाँ कुनै चर्काे आन्दाेलन भइरहेकाे जस्ताे भान हुन्छ। तर, नजिकै पुगेपछि थाहा हुन्छ, यहाँकाे वास्तविकता। जहाँ मानिसहरु अनेकाैँ पीडा बाेकेर मानिसहरु बसिरहेका छन्।

यहाँ देशका विभिन्न जिल्लाबाट आएका सात समूहले विभिन्न मागसहित प्रदर्शन गरिरहेका छन्। जहाँ देशभरका सहकारी पीडितहरु एक महिनादेखि, दाइजाेकाे नाममा छाेरीकाे हत्या भएकाे भन्दै साह परिवारले २३ दिनदेखि, प्रहरीलाई बचाउन जाँदा गाेली लागेका वीरेन्द्र जैशीले करिब एक महिनादेखि, सेनाले सडक निर्माण गर्दा क्षति भएकाे गेस्ट हाउसकाे क्षतिपूर्तिकाे मागसहित गाेरखाका तेलबहादुर घलेले ४० दिनदेखि, सरकारले मिटरब्याजसम्बन्धी अध्यादेशमार्फत आफूहरूलाई अन्यायमा परेकाे भन्दै मिटरब्याजीहरुले १३ दिनदेखि, विद्यालय कर्मचारीहरुले करिब एक महिनादेखि तथा राजतन्त्रकाे मागसहित राजतन्त्रवादीहरुले एक महिनादेखि धर्ना दिइरहेका छन्।

एक महिनादेखि सडकमा सहकारी पीडितहरु

दुःख गरी कमाएर जम्मा गरेको पैसा सहकारीले खाइदिएपछि पीडितहरु विगत एक महिनादेखि माइतीघरमा प्रर्दशनरत छन्। आफूले जेनतेन गरी कमाएको पैसा बढी ब्याज आउने लोभ देखाइ सहकारीमा राख्दा आफूहरु ठगिएको पीडितहरु बताउँछन्।

काठमाडौँकाे कागेश्वरी मनोहरा नगरपालिकाकी विमला दंगालले दुई वर्षअघि कपनको सुमो सहकारी संस्थामा ५ लाख रुपैयाँ जम्मा गरेकी थिइन्। तर, सहकारीले त्यही पैसा खाएर भागेपछि उनी पनि माइतीघरमा आन्दाेलनमा उत्रिन बाध्य छिन्। ‘सहकारी कर्मचारीले बढी ब्याज दिन्छाैँ। केही हुँदैन, हामी जिम्मेवारी लिन्छौँ भनेको भएर कृषि विकास बैंकमा गरेकाे पैसा निकालेर सुमो सहकारीमा जम्मा गरेकी थिए,’ उनले भनिन्, ‘तर अहिले सहकारीसञ्चालक सम्पर्कविहीन हुँदा मर्नु न बाच्नु भएको छ।’

विमला त यही सरकारी पीडितहरुकाे समूहमा सामेल एक प्रतिनिधिमुलक पात्र मात्रै हुन्। सहकारी पीडितहरुकाे याे समूहमा देशभरका करिब ५० जनाभन्दा बढी मानिसहरु सामेल छन्। सहकारीबाट पीडित भएका मानिसहरु यहाँ दैनिक रुपमा जाेडिइरहेका हुन्छन्।

दाइजाेकाे नाममा छाेरीकाे हत्या भएपछि धर्नामा माइती परिवार

गत जेठ ७ गते रहस्यमय मृत्यु भएकी आरती साहको न्यायको माग गर्दै माइतीपक्ष विगत २५ दिनदेखि प्रर्दशनरत छ। माइतीपक्षले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रर्दशन गरिरहेकाे छ।

जनकपुरधाम थापाचोककी आरती साह जेठ ७ गते आफ्नै घरमा मृत फेला परेकी थिइन्। शरीरभरि निलडाम तथा घाउ चोट देखापरेपछि साहीकाे आरतीकाे हत्या भएकाे दाबीसहित माइतीपक्ष आन्दाेलित छ। आरतीकाे माइतीपक्षले श्रीमान मोतिबाबु र ससुरा मदन मोहनविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएको थियो।

यसैगरी उनीहरुले मुद्दा दर्ता गराउन जाँदा उल्टै प्रहरीले पिटेको तथा हातपात गरेको भन्दै धनुषा जिल्ला प्रहरी कार्यालयका एसपी र डिएसपीलाई निलम्बन गर्नुपर्ने, जिल्ला न्यायधीवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि कारबाही हुनुपर्ने माग गर्दै प्रर्दशन गरिरहेका छन्।

एक्लाे धर्ना

सडक निर्माणकाे क्रममा नेपाली सेनाले पहाड फुटाउँदा आफ्नाे गेस्ट हाउस ध्वस्त भएकाे भन्दै क्षतिपूर्तिकाे मागसहित गाेरखाका ६५ वर्षीय तेलबहादुर घलेले ४० दिनदेखि माइतीघर धर्ना दिइरहेका छन्।

‘सेनाले रोड बनाउँदा दुई पटक गरेर मेरो होटल ध्वस्त बनायो, दिन्छु भनेको क्षतिपूर्ति बापतकाे रकमसमेत दिएको छैन,’ उनले भने, ‘मेरो गरिखाने त्यहीँ एउटा मात्रै भाँडो थियो, त्यही पनि सेनाले ध्वस्त बनाइदिएपछि यहाँ आउन बाध्य भएको छु।’

४० दिनदेखि एक्लै धर्ना बसेका उनलाई भेट्न अहिलेसम्म पनि काेही आएका छैनन्।

६५ वर्ष उमेर पुगेकाे उनकाे अब एउटै अन्तिम आशा छ,- सेनाले क्षतिपूर्ति दिए, भत्किएकाे गेस्ट हाउस पुन: ठड्याउने।

मिटरब्याजसम्बन्धी अध्यादेश खारेजीकाे माग

सरकारले ल्याएकाे मिटरब्याजसम्बन्धी अध्यादेश खारेजीकाे मागसहित देशका विभिन्न जिल्लाबाट आएका मिटर ब्याजीहरु पनि माइतीघरमा प्रदर्शन गरिरहेका छन्। १३ दिनदेखि प्रदर्शनमा रहेका उनीहरूकाे माग सरकारले ल्याएकाे मिटरब्याजसम्बन्धी अध्यादेश खारेज गर्नुपर्ने हाे।

यद्यपि, सरकारले ल्याएकाे उक्त अध्यदेश बुधबारकाे प्रतिनिधिसभाकाे बैठक स्थगित हुँदा विधेयकसम्म नपुग्दै स्वत: निष्कृय भएकाे छ।

सात वर्ष पुरानाे घाउ बाकेर धर्ना

प्रहरीलाई बचाउन जाँदा प्रहरीकै गोली लागेर घाइते भएका कैलालीको वीरेन्द्र जैशी पनि विगत एक महिनादेखि माइतीघरको एउटा छेउमा बसेर न्याय मागिरहेका छन्। जैशीलाई २०७३ मा प्रहरीको गोली लागेको थियो।

कक्षा ९ मा पढ्दै गरेका वीरेन्द्र त्यसदिन पनि रातको खाना खाएर आराम गर्दै थिए। रातको ८ः३० बजेतिर गस्तीमा हिँडेका प्रहरी जवान हतारिँदै उनको घर पुगे र आफ्नाे सिनियर (सई, वृजलाल अधिकारी)को ज्यान बचाइदिन मद्दत मागे।

वीरेन्द्र पनि गाउँका अन्य मानिस जम्मा पारे र सई घाइते भएको ठाउँमा पुगे। तर, सई (वृजलाल अधिकारी)ले वीरेन्द्रको समूहलाई तस्करकौ समूह ठानी गोली चलाए। जुन गाेली वीरेन्द्रलाई लाग्यो।

वीरेन्द्र सात वर्षअघि उक्त घटनामा घाइते हुँदा उपचारमा लागेको खर्च बापतको रकम पाउनुपर्ने माग राख्दै एक महिनादेखि अनसनरत छन्। वीरेन्द्रकाअनुसार उपचारमा उनले लगभग १० लाख रुपैयाँ खर्च भइसकेकाे छ। र, उक्त रकम बराबारको क्षतिपूर्ति पाउनुपर्ने उनको माग रहेको छ।

सामुदायिक विद्यालयका कर्मचारीहरुको आन्दोलन

सेवा सुविधा कम भएको भन्दै देशभरका सामुदायिक विद्यालयका कर्मचारीले माइतीघरमा प्रर्दशन गर्न थालेको एक महिना पुग्न लागेकाे छ।

सरकारले पटक-पटक जनाएको प्रतिबद्धता कार्यन्वयन नगरेकाले शिक्षक र कर्मचारीहरु गर या मरको स्थितिमा पुगेको भन्दै आन्दाेलनमा उत्रिएका छन्।

उनीहरुले विद्यालयमा कर्मचारी सहायक (लेखापाल)हरुका लागि ३६ हजार ७३० रुपैयाँ, विद्यालय सहयोगीहरुका लागि २६ हजार २१० रुपैयाँ तलबकाे ग्यारेन्टी गर्नुपर्ने तथा सामुदायिक विद्यालयमा कार्यरत कर्माचारीहरुलाई समायाेजनमार्फत स्थायी बनाउनुपर्ने मागसहित आन्दाेलन गरिरहेका छन्।

२०४७ को सत्याग्रह ब्युँताउन माग

माइतीघरमा हाल २०४७ को संविधान पूर्नवहाली गर्नुपर्ने माग राख्दै राजतन्त्र पक्षधरहरुको रिले अनसन चलिरहेको छ। ०४७ मा भएको षडयन्त्रले जनादेश ल्याउने काम भएको भन्दै उनीहरुले राजसंस्था पुर्नवहालीको मागसमेत राखेका हुन्।

राजा पक्षधरहरु निधारमा कालोपट्टी बाँधेर सत्याग्रहमा सामेल छन्।

प्रकाशित मिति: : 2023-07-09 20:30:00

प्रतिकृया दिनुहोस्