गण्डकी प्रदेश :

गण्डकीमा एमालको छायाँ सरकार, को–को बने मन्त्री ?

प्रमुख प्रतिपक्ष नेकपा एमालेले गण्डकी प्रदेशमा छायाँ सरकार गठन गरेको छ। गठबन्धन सरकारले सरकार चुस्त सञ्चालन नगरेको भन्दै एमालले शनिबार छायाँ सरकार गठन गरेको हो।

स्याङ्जाबाट निर्वाचित प्रदेश सभा सदस्य मोहन रेग्मीको नेतृत्वमा एमालेले छायाँ सरकार गठन गरेको छ। यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा रेग्मी विधान समितिका सभापति थिए।

प्रदेश सरकारका ११ वटा मन्त्रालयको कामकारबाहीमा ‘वाचडग’को भूमिका खेल्न छायाँ सरकार गठन भएको एमालेले बताएको छ।  सरकारले २ महिना बितिसक्दा पनि गतिलो काम नगरेकाले छायाँ सरकार गठन गर्नु परेको एमाले प्रदेश सभा सदस्य राजीव पहारीले बिएल नेपाली सेवासँग बताएका छन्।  

‘यो सरकारले महिनादिन बितिसक्दा पनि देखिने गरी केही काम गरेन। पहिलोका सरकारको पालामा जुन गतिमा काम भई रहेको थियो। अहिले त्यो सबै ठप्प भयो,’ पहारीले भने, ‘करोडौंको योजना अहिले अलपत्र छन्। त्यसैले एकाले संसदीय समितिले छायाँ सरकार गठन गरेको हो।’

छायाँ सरकारले सरकारका काम कारवाहीलाई निगरानी र खबरदारी गर्न प्रतिपक्षी दल नेकपा एमाले छायाँ सरकार गठन गरेको सांसद पहारीले जानकारी दिए। 

को–को छन् छायाँ सरकारमा ?

मोहन रेग्मी मुख्यमन्त्री रहेको छायाँ सरकारमा ९ सदस्य रहेका छन्। प्रदेशका ११ मन्त्रालयको काममा निगरानी गर्न ९ सदस्यीय छायाँ सरकार गठन भएको छ।

लमजुङबाट निर्वाचित मायानाथ अधिकारी र कास्कीबाट मीना गुरुङ यो समुहको सदस्यका यो भूमिकामा छन्।

यस्तै, भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको जिम्मा पूर्वमन्त्री रामशरण बस्नेत छन्। बस्नेत यसअघिको सरकारमा पनि भौतिक पूर्वाधार मन्त्री नै थिए। उनी नेतृत्वको समूहमा रोशन गाहा मगर र प्रभा कोइराला सदस्य छन्।

पर्वतबाट निर्वाचित विकास लम्साल उद्योग, पर्यटन, वन तथा वातावरण समूहको नेतृत्वमा छन्। यसअघि उनी पनि पर्यटन मन्त्री थिए। उनको समूहमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार सदस्य छन्।

म्याग्दीबाट निर्वाचित नरदेवी पुन सामाजिक विकास समूहको जिम्मेवारीमा छिन्। यसअघि उनी सोही मन्त्रालयको मन्त्री थिइन्। उनको समूहमा सांसद जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट सदस्य छन्। 

सांसद चन्द्रमोहन गौचनको संयोजकत्वमा बनेको कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूह बनेको छ। यो समितिमा पुष्पा केसी भण्डारी सदस्य छिन्।

अर्थ समूहको संयोजकमा इन्द्रलाल सापकोटा छन्। अर्थ समूहमा सांसद कृष्णबहादुर थापा सदस्य छन्। भूमि, व्यवस्था, कृषि समूहको संयोजकमा मित्रकुमारी गुरुङ छिन्। उनको समूहमा सांसद मनबहादुर गुरुङ, महेन्द्र थकाली सदस्य छन्।

सांसद मीनप्रसाद गुरुङको नेतृत्वमा बनेको ऊर्जा, खानेपानी समूह गठन भएको छ। उक्त समूहका सदस्यमा सांसद धनञ्जय दवाडी छन्। छायाँ सरकारमा युवा, खेलकुद तथा स्वास्थ्य समूह सम्हाल्ने जिम्मेवारी राजीव पहारीले पाएका छन्। पहारी कास्की क्षेत्र नम्बर ३ (क) का सांसद हुन्। पहारी नेतृत्वको युवा, खेलकुद तथा स्वास्थ्य समूहमा सदस्य जुनादेवी नेपाली र सावित्रा रानामगर छन्।

सांसद पहारीले विकास निर्माणका कामलाई महत्व दिन छाडेर कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले खुद्रे बजेटमात्रै बाँड्ने काम गरिरहेको आरोप लगाएका छन्। उनले छायाँ सरकारले सरकारलाई झकझक्याउने बताए।

यसअघि, केन्द्र सरकारमा यस्तो अभ्यास हुँदै आए पनि प्रदेश सरकारमा भने यो पहिलो अभ्यास हो। उसो त सात प्रदेश सरकारमध्ये गण्डकीमै पहिलो चोटी सरकार परिवर्तन भएको थियो। गण्डकीपछि लुम्बिनीमा सरकार ढल्न पुग्यो। बाँकी ५ प्रदेशमा सरकार अहिलेसम्म यथावतै छ।

गुरुङ सरकारको पालमा काँग्रेस प्रतिपक्षी हुँदा भने छायाँ सरकार गठन भएको थिएन। राजनीतिक विश्लेकषकहरु छायाँ सरकार गठन हुनु संसदीय प्रणालीको राम्रो अभ्यास बताउँछन्।

छायाँ सरकार गठन भएर सरकारको कामकारबाहीलाई चुस्त राख्न आवाज उठाउनुपर्ने विश्लेषक कपिलमणि दाहालले बताए। संसदीय प्रणालीमा यो अभ्यास पहिलेदेखि नै चल्दै आएको र सरकारलाई खबरदारी गर्न यो आवश्यक रहेको उनले बताए।

प्रकाशित मिति: : 2021-08-14 20:52:00

प्रतिकृया दिनुहोस्