भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा कुमाल र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारूनी बनेर तालमा ताल मिलाएर घन्टौं नाचिन्। पाउदुरे नाच पुरुषले महिला बनेर नाच्ने प्रचलन छ। तर गाउँमा पुरुष नहुँदा भानु नगरपालिका–४ कुमालगाउँका यी दुई महिला पाउदुरे नाच संरक्षणमा पछिल्लो पाँच वर्षदेखि अहोरात्र खटिएका छन्।
‘के गर्नु यस्तो पुरानो नाच त्यसै मर्न दिन मनले मानेन’, पाउदुरे नाच्दै गरेकी मनिषाले भनिन् ‘त्यसैले गाउँका सबैलाई भेला गरी हामीलाई पनि नाच्न सिकाउनुस् हामी यो नाच बचाउँछौँ भनेर संरक्षणमा कस्सियौं।’
शुक्रबार विभिन्न क्षेत्रबाट आएका पाहुनालाई देखाउन भनेरै आफूहरूले पाँच दिनअघिदेखि लगातार मेहनत गरेर पाउदुरे नाच्न सिकेको मनिषाले बताइन्। पाँच वर्ष पहिले नाच सिक्ने क्रममा सुरुका दिनमा गाउँकै केही व्यक्तिले महिलाले पाउदुरे नाच्न हुँदैन भनेर असहमति जनाए पनि अहिले तिनै व्यक्तिले प्रशंसा गरेको देख्दा आनन्द लाग्ने गरेको हीराले बताइन्।
‘पहिले नाच्न हुँदैन, अनिष्ट हुन्छ भन्नेहरू नै अहिले कति राम्रो ताल समातेको भनेर हौसला दिने गरेका छन्’, उनले भनिन्, ‘पाउदुरे नाच देखाउन भनेरै पाँच–सात स्थानमा पुगिसकेका छौं।’
आफूहरूले पाउदुरे नाच्न थालेपछि दिगोरूपमा संरक्षणका लागि आफूहरूले गाउँका अन्य साना बालबालिकालाई समेत नाच्न सिकाउँदै गरेको हीराको भनाइ छ।
पाउदुरे जनजातिमाझ लोपोन्मुख नाच हो। विभिन्न जनजातिले आ–आफ्नो तवरले पाउदुरे नाच्दै आएको पाइन्छ। यो नाचमा विजबारे, मारुनी, मादले, गुरुलगायत आवश्यक पर्दछ । यो नाच पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने चलन छ। छेउमा नाच्ने दुई पुरुषलाई ‘मारूनी’ र बीचमा नाच्नेलाई ‘बिजबारे’ भनिन्छ।
नाच्दा बिजबारेकै भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्छ। गीत गाउने मुख्य व्यक्तिलाई ‘गुरुबा’ भन्ने चलन छ। गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायतले पनि गीतलाई होमा हो मिलाउने चलन छ। बेला–बेलामा ताल काट्दै मादलेसमेत नाच्ने भएकाले पाउदुरे हेर्दा रमाइलो हुने गर्छ। पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन छ। देवीदेवतासँग सबै जिवात्माको कल्याणको कामना गर्दै यो नाच नाचिन्छ।