कांग्रेस ‘नियति’को उही बाटोमा डोरिँदैछन्, गगन

BreaknLinks
BreaknLinks

एउटा व्यक्तिको निजी र असायिक महत्वाकांक्षा पूरा गर्नका लागि पूरै ‘गगनपुस्ता’ले नै भोग्नुपर्नेगरी फेरि उस्तै र उही नियतिमा फर्किनु झन् घातक हुनेछ।

करिब ११ महिनापछि बस्न लागेको केन्द्रीय समिति बैठकका लागि नेपाली कांग्रेसका केन्द्रीय समितिमा चुनिएका धेरैजसो पदाधिकारी तथा सदस्यहरू काठमाडौं आइसकेका छन्। 

त्यसअघि कांग्रेसभित्र स्पस्ट देखा परेका समूहहरू पनि आआफ्ना मान्छे बोलाएर बैठक गर्न व्यस्त रहे। मंगलबार पार्टी कार्यालयमा बस्ने त्यो बैठकको सबै तयारी पूरा भइसकेको सचिवालयले जनाएको छ। 

बैठकका लागि आफ्नो समूहको अजेन्डाहरू तय गर्नका लागि शेखर–गगनको समूहका नेता तथा कार्यकर्ताहरू सोमबार बिहानैदेखि शेखर कोइरालाको सम्पर्क कार्यालयमा जुटेका थिए।

देउवाले पनि निवासमा आफूनिकट पूर्व तथा वर्तमान पदाधिकारीहरू बोलाएर छलफल गरे। अनि उनले केन्द्रीय सचिवालयमार्फत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बैठकका लागि १० अजेन्डा दिए। यति मात्र हाेइन उनले गगनसाेच’ भन्दा एक कदमअघि बढेर केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्तावसमेत गरे।

यसअघि नै दुई महामन्त्री गगन र विश्वप्रकाश शर्माले देशभरिबाट पार्टी सभापतिहरूलाई बोलाएर छलफल गरेका थिए। उनीहरूको भेलामा करिब ४२ जिल्लाका सभापति तथा उनीहरूका प्रतिनिधि सहभागी भए। त्यो भेलाले सांगठिनक सुदृढिकरण र सञ्चालनका लागि विभिन्न १४ बुँदामा प्रतिवद्धता जारी गरेको थियो। आन्तरिक र सांगठिनक कुराहरू भएका कारण ती प्रतिवद्धताहरू सार्वजनिक गरिएन। 

०००

खासमा महामन्त्रीहरूले बोलाएको भनेर त्यो भेलाका बारेमा गगनहरूले उठाएकै ‘नेतृत्व फेर्ने’ अभियानका रूपमा प्रचार प्रसार गरियो। गगनहरूले त्यसको खण्डन पनि गरेनन्। बरू पार्टी सभापति आएनन् भनेर उल्टो प्रचार पनि गरियो। खासमा त्यो पार्टी सभापति आउनैपर्ने कार्यक्रम थिएन र होइन पनि। संगठन चलाउने जिम्मेवारीअनुसार महामन्त्रीहरूले बोलाएको भेला थियो। 

‘त्यसो प्रचारहरू कसरी गरिए थाहा भएन। त्यो विशुद्ध सांगठिन सञ्चालनका लागि आन्तरिक छलफलमात्रै थियो। ती हामी आफैले गर्नुपर्ने काम थिए’ भेलामा सहभागी एक जिल्लाका सभापतिले भने ‘त्यो न सभापति आउने कार्यक्रम थियो न, उहाँ आउनुभएन भनेर उल्टो प्रचार गर्ने विषय थियो। त्यहाँ दुवै समूहका मान्छेहरू थिए। पदाधिकारीहरू पनि थिए। बरू महामन्त्रीहरूले आफै विधि–विधानअनुसार चल्छौं भनेर प्रतिवद्धता जनाउनुभएको थियो।’

तर त्यो भेलालाई महामन्त्री थापाहरूले नै चलाइरहेको ‘नेतृत्व बदल्ने अभियान’का रूपमा उनकै मान्छेहरू खुब प्रचार गरे। जब कि त्यसबारेमा त्यो भेलामा औपचारिक छलफल वा विषय प्रवेश नै भएको थिएन। 

यो बैठकमा के गर्लान् गगन?

१५ औं अधिवेशनबाट महामन्त्री भएपछि नै आफूलाई पुस्तान्तरणको ‘मसिहा’ ठानेका गगनले त्यसपछि निरन्तर नेतृत्व बदल्ने कुरा गरिरहे। लगत्तै आएको आम निर्वाचनमा उनी फेरि आफ्नै निर्वाचन क्षेत्रबाट जितेर सांसद पनि भए। 

त्यसअघि नै अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगनलाई ‘भावी प्रधानमन्त्री’का रूपमा प्रोजेक्सन गरिसकेका थिए। त्यो उत्कट महात्कांक्षाबाट उचालिएर गगन आफै पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेता हुनका लागि लडे। 

सुरुमा लगभग बहुमत सांसदले समर्थन दिन्छन् भन्ने ठानेका गगनले जम्मा २५ मत ल्याए। देउवाले बहुमत ल्याएर जिते। कांग्रेसको संसद संख्या अनुसार अहिले पनि संसदीय दलको चुनाव जित्न कम्तीमा ४६ सांसदको मत चाहिन्छ। देउवाले ६४ जनाको मत पाएका थिए। 

अब एकपटक पराजति भइसकेका गगन फेरि आफू प्रधानमन्त्री हुनका लागि संसदीय दलको नेता लडेर देउवालाई हटाउने एउटा कठीन अभियानमा होमिएका छन्। हरेक दिनजसो उनले यही अभिव्यक्ति पनि दोहोर्‍याइरहेका छन्। 

उनकै भाषामा नेपाली कांग्रेसको विधानले एकपटक पराजित भएको व्यक्ति फेरि चुनाव लड्न पाइँदैन भनेर कतै भनेको छैन। उनी फेरि देउवासँग भिड्न पाउलान् पनि वा अरू कोहीसँग। 

तर उनकै समूह नेतृत्व गरिरहेका शेखर कोइराला भनिरहेका छन्, यो अपरिपक्व कुरा हो। बहुमत सांसद नै आफ्नो पक्षमा जुटाउन नसकिरहेका गगन भने त्यही जिद्दीमा भुनभुनाइरहेका छन्। 

आइतबार संसद बैठक स्थगित भएपछि एकछिन बाहिरिएका गगनले पत्रकारहरूसँग भनेका थिए ‘संसदीय दलको नेता हटाउन मैले मेरै नेता देउवासँगै सिकेको हुँ…’

‘जतिबेला गिरिजाप्रसाद नेता हुनुहुन्थ्यो । देउवा जी पराजित हुनुभयो। त्यो बेला शेरबहादुर देउवाले बदल्नुपर्छ भनेर निरन्तर लागिरहनुभयो। त्यो बेला पनि पार्टीले उपयुक्त मौका होइन भनेकै हो। तर त्यो उहाँले गर्नुभयो। र आफू हुनुभयो’ उनले भने ‘अहिले मैले पनि त्यही गर्न खोजेको हुँ। उहाँले जे गर्नुभएको ठ्याक्कै त्यही गर्न खोजेको हुँ। बदल्ने प्रयास गर्नुपर्छ भन्ने कुरा छोड्नुहुन्न। यो मेरो नयाँ आकांक्षा होइन। पहिला पनि म त्यसका लागि योग्य थिएँ। हाम्रो विधानले एकपटक पराजति भएपछि लड्न पाइन्न भनेको छैन। देउवा पनि थाक्नुभएन। लगातार लाग्नुभयो। म पनि थाकेको छैन। मैले मेरा आदरणीय नेताबाटै सिकेको कुरा हो। नयाँ अनि एकदमै अप्रत्याशित कुरा पनि त होइन।’

उनका अनुसार यो अलमल, अस्थिर अनि अपत्यारिलो कुरा कांग्रेसभित्र निरन्तर भइरहेको कुरा हो। जसलाई गगन आफैंले दोहोर्‍याउने कोसिसमा छन्। 

र, भनिरहेका छन् ‘अहिल्यै नै थाक्दैन। त्यो मौका आउँछ र म छोड्नेछैन।’ 

कांग्रेसमा संसदीय दलका नेताको नियति

२०४७ सालमा संविधान जारी गर्दा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए। उनी कांग्रेसका सभापति पनि थिए। संविधान जारी भइसकेपछि २०४८ सालमा भएको आम निर्वाचनमा उनले एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँग चुनाव हारे। 

चुनाव हारेपछि त्यो बेला कांग्रेसका महामन्त्री रहेका गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता बने। र उनकै प्रतिनिधित्वमा सरकार पनि बन्यो। आलोचनै आलोचनामा ३ वर्ष गुजारेको कोइराला सरकार २०५१ सालमा ढल्यो। त्यो उनको सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुने बेलामा कांग्रेसकै सांसद मत दिन आएनन्। नीति तथा कार्यक्रम फेल भयो र संसद नै विघटन गरेर कोइरालाले मध्यावधि निर्वाचन घोषणा गरे।

त्यो मध्यावधिमा कांग्रेसले हार्‍यो। एमाले पहिलो पार्टी बन्यो र कांग्रेस दोस्रोमा झर्‍यो। त्यसको जिम्मेवारी आफूले लिँदै कोइराला आफू संसदीय दलको नेता नलड्ने घोषणा गरे। 

त्यो बेला कोइरालाका ‘विश्वासपात्र’ मानिनने शेरबहादुर देउवा संसदीय दलको नेता चुनिए र आफै प्रधानमन्त्री भए। नौ महिनापछि उनको सरकार पनि ढल्यो। र पनि उनी अल्पमतका प्रधानमन्त्री भइरहे। 

२०५६ सालमा आम चुनाव भयो। त्यो बेला पनि कोइराला नै पार्टी सभापति थिए। त्यो बेला पनि कृष्णप्रसाद भट्टराई नै अघि प्रधामन्त्रीका रूपमा प्रोजेक्सन गरेर कांग्रेस चुनावमा होमियो। 

कांग्रेसले यसपालि बहुमत ल्यायो। पार्टी सभापति कोइराला थिए तर प्रधानमन्त्रीका रूपमा अघि सारिएका भट्टराई संसदीय दलका नेताका उम्मेदवार बनाइयो। निर्विरोध संसदीय दलका नेता भएर प्रधानमन्त्री भए पनि कोइरालाले बाहिर बसेर ‘पेल्न’ थालेपछि भट्टराई सरकारमा धेरै टिकेनन्। उनले राजीनामा दिए। 

आफैले चुनेका नेतालाई हटाएर कोइराला आफै संसदीय दलको नेता र प्रधानमन्त्री बने। 

त्यही बेला माओवादीले रोल्पामा सेना र माओवादीहरू आमनेसामने भए। त्यो घटनाले सरकार र दरबारबीचको सम्बन्ध पूरै बिगारिदियो। 

आफ्नै सरकारको विरोधमा तत्कालीन गृहमन्त्री रामचन्द्र पौडेलले राजीनामा दिए। त्यसपछि कोइरालाले पनि राजीनामा दिए। 

प्रतिनिधिसभामा बहुमत कांग्रेसकै थियो। ठूलो दलको हिसावले फेरि पनि प्रधानमन्त्री त कांग्रेसबाटै हुनुपर्ने भयो। 

तर संसदीय दलको नेता फेरि चुन्नुपर्नेभयो। 

त्यो बेला कांग्रेसका महामन्त्री सुशील कोइराला थिए। केन्द्रीय सदस्यमात्रै रहेका शेरबहादुर देउवा संसदीय दलको नेता बन्नका लागि महामन्त्री कोइरालासँगै चुनावमा भिडे र जिते पनि।

शान्ति प्रक्रियापछि अन्तरिम सरकारको प्रधानमन्त्री गिरिजाप्रसाद नै थिए। कांग्रेस सभापति पनि उनै थिए। 

त्यसअघि नै कोइरालासँग टसल भएपछि शेरबहादुर देउवा ‘प्रजातान्त्रिक’ कांग्रेस बनाएर छुट्टै अस्तित्वमा थिए।

२०६४मा भएको संविधानसभाको पहिलो चुनावमा भर्खरै शान्तिपूर्ण राजनीतिमा आएको माओवादी चम्कियो। देशभरिबाट बहुमत ल्याएर माओवादी पहिलो पार्टी बन्यो। कांग्रेस दोस्रो भयो। 

प्रधानमन्त्री बन्ने सम्भावना थिएन। त्यसैले कोइरालालाई संसदीय दलको नेता पनि हुनुथिएन।

तर त्यही बेला उनले फेरि देउवालाई फकाएर मूल पार्टीमै समाहित गराए। देउवालाई पार्टीमा आफूभन्दा दोस्रो वरियता दिए। 

संसदीय दलको नेता हुनका लागि उनै देउवा र अर्का नेता रामचन्द्र पौडेलबीच चुनाव भयो। देउवाले हारे। पौडेल संसदीय दलको नेता भए। 

तर सरकार माओवादीले बनाएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए। तर माओवादीको त्यो पहिलो सरकार धेरै टिकेन। प्रधानसेनापति रुक्माङ्गद कटवाल र पशुपतिका मूल भट्ट हटाउने अभीष्ट पूरा नभएपछि प्रचण्डले राजीनामा दिए। 

व्यवस्थापिका संसदले फेरि प्रधानमन्त्री चुन्नुपर्ने भयो। दलहरूबीच कुरा मिलिरहेको थिएन।

त्योबेला पनि देउवाले यस्तै हर्कत देखाएका थिए, जस्तो उनीविरूद्ध अहिले महामन्त्री थापाले गरिरहेका छन्।

देउवाले त्योबेला प्रधानमन्त्रीको उम्मेदवार बन्नबाट रोक्नका लागि खुब कोसिस गरे। पार्टीभित्र त्यो वारपारको लडाइँ सुरु भएपछि एउटा बिन्दुमा कुरो मिल्यो– सहमति नै भएर प्रधानमन्त्री हुने भयो भने देउवालाई अघि सार्ने र बहुमतीय प्रणाली (संसदीय मतदान)मा जाने अवस्थामा रामचन्द्र पौडेलले उम्मेदवारी दिने।

सहमतिका लागि भएका प्रयासहरूमा लगातार तीनपटकसम्म देउवा उम्मेदवार भए। तर राजनीतिक दलहरूबीच भागबण्डा मिल्दै मिलेन। सहमति नै हुन सकेन। त्यसपछि फेरि बहुमतीय प्रणाली सुरु भयो। अनि रामचन्द्र पौडेल नै उम्मेदवार भए। त्यहीबेला हो, जहाँ प्रधानमन्त्रीका लागि संसदमा १७ पटक चुनाव भएको थियो। र, ती १७ वटै निर्वाचन पौडेलले हारेका थिए।

यसपालि गगनले सक्लान्?

सक्दैनन्। 

‘अहिले परिस्थिति त्यस्तो छैन। पार्टीभित्र सांसदहरूको आआफ्नो क्लियर लाइन छ। प्रस्ट समूहहरू छन्’ नेपाली कांग्रेसका एकजना पुराना नेता तथा सांसद डिल्लीराज पन्त भन्छन् ‘गगन जी अलि धेरै अत्तालिनुभयो। पालो त आउँछ नै। राजनीतिमा आत्तिएर हुँदैन। उहाँजस्तो मान्छेले विधि र प्रक्रियाहरू बुझ्नुपर्छ।’

उनलाई लाग्छ, पार्टीभित्र हिँज कोइरालालाई सताइरहेका देउवालाई अहिले गगनहरूले सताइरहेका छन्, नेतृत्व फेर्ने नाममा होस् वा परिवर्तनका नाममा। यो त सब गगन एक्लैको निजी महत्वकांक्षामात्रै हो। 

‘त्यो बेला पनि देउवा जी कोइरालासँग लड्नुभएको भएको। उहाँहरूसँग भिड्नुभएको हो। कतिपय अवस्थामा जितेरै पाउनुभएको हो’ पन्त भन्छन् ‘तर त्यो सब विधि र प्रक्रियामा रहेर भएको थियो। त्यस्तै वातावरण बनेका थिए।’

पन्तले अब पालो गगनहरूकै आउने हुने समयले त्यो देखाइसकेको पनि बताए।

‘अब त उहाँहरूले नै गर्ने। उहाँहरू नै दौडिने। हामी त हिँड्नेमात्रै हो। यो उहाँहरूको दौड्ने बेला हो। उहाँहरू नदौडे पार्टी पनि दौड्न सक्दैन’ पन्त भन्छन् ‘तर देउवाले अब म हुँदिन भन्नुभएकै छ। अब गगनहरूकै पालो हो भन्नुभएकै छ। अलिकति समय त पर्खिनुपर्छ नै। हुने त गगनजीहरू नै हो। निर्वाचनको परिणामलाई समयअघि नै उल्ट्याउँछु भन्दै त हिँड्नुभएन नि!’ 

र, पन्तलाई लाग्छ, एउटा व्यक्तिको निजी र असायिक महत्वाकांक्षा पूरा गर्नका लागि पूरै ‘गगनपुस्ता’ले नै भोग्नुपर्नेगरी फेरि उस्तै र उही नियतिमा फर्किनु झन् घातक हुनेछ।

प्रकाशित मिति: : 2023-07-17 20:30:00

प्रतिकृया दिनुहोस्