राजश्वले सय किलो सुन समात्यो, पछि-पछि गृहमन्त्री

कमल विक

काठमाडौं

बरामद गरिएको करिब एक सय किलो सुनको अनुसन्धान चलिरहेका बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ अघि-पछि प्रहरी हुल लिएर शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। उनको यो बिहानी भ्रमणलाई विमानस्थलको निरीक्षण भनिएको छ। 

विमानस्थलबाट ‘जाँचपास’ गरेर त्यो सुन बाहिर पठाउने भन्सारका कर्मचारी हुन्। यो विभाग अर्थ मन्त्रालयअन्तर्गत छ।

त्यहाँबाट उम्मिएर झन्डै विमानस्थलबाट फुत्किसकेको सय किलो सुन समाउन पुगेको राजश्व अनुसन्धान विभाग सिधै प्रधानमन्त्रीले हेर्छन्। यो विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत छ। 

विमानस्थलमा प्रहरी पनि हुन्छन्। यी गृहमन्त्रालयअन्तर्गत हुन्छन्। सुन समातिएको ३ दिनपछि विमानस्थल हेर्न पुगेका नारायणकाजी उनै गृहमन्त्री हुन्, जसका प्रहरीलाई त्यो सुन आएको समातिएको अनि संलग्नहरू गिरफ्तार भएको सुइँको भयो, कुनै जानकारी।  

अकस्मात त्रिभुवन विमानस्थलमा झुल्किएका गृहमन्त्री श्रेष्ठले त्यहाँ लगेज कसरी ल्याइन्छ वा लगिन्छ भनेर हेर्न गएको बताए। ‘प्लेनबाट सामान लगेज र कार्गोबाट सामान कसरी निस्कने रहेछ? त्योचाहीँ सामान कसरी ल्याउँदो रहेछन्?  कार्गोमा कसरी आइपुग्दो रहेछ? स्क्रीनमा के हुँदोरहेछ? लगेजको सामान त्यहाँसम्म कसरी जानेरहेछ भन्ने मैले निरीक्षण गरेँ’, उनले आफ्नो निरीक्षण अनुसन्धान गर्ने स्तरको नभएको उल्लेख गरे।

अहिलेसम्म यो सुन तस्करी प्रकरणमा प्रहरीलाई औपचारिकरूपमा केही भनिएको छैन। न अनुसन्धानबारे भनिएको छ, न मान्छेहरू समाउनेबारे। 
विमानस्थल पुगेका गृहमन्त्री आफैले भनेका थिए- यो संगठित अपराधको मुद्दा भएका कारण यसको अनुसन्धान सिआइबीलाई दिँदा राम्रो हुन्छ कि भन्ने मेरो धारणा छ। केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी नेपाल प्रहरीको अर्को एउटा इकाइ हो। जसले यसअघि ३३ किलो सुनकाण्डको पनि लामो अनुसन्धान गरेको थियो। 

उसो भए गृहमन्त्री किन विमानस्थल गए?

उनकै भाषामा गृहमन्त्री श्रेष्ठ अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद भएपछि त्यसबारे थप बुझ्न त्यहाँ गएका हुन्। 

जबकि सुन बरामद प्रकरण पूरै हातमा लिएर राजश्व अनुसन्धान विभाग अघि बढिरहेको छ। राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री मातहतको निकाय हो, नियमित कामका लागि गृहसँग यसको खासै साइनो हुँदैन। यो विभागका प्रमुख(महानिर्देशक) सिधै प्रधानमन्त्रीको सम्पर्कमा हुन्छन्। आदेश लिने र रिपोर्टिङ पनि उनले सिधै प्रधानमन्त्रीसँगै गर्छन्। 

मंगलबार साँझ विमानस्थल गेटअगाडि सिनामंगलबाट राजस्व अनुसन्धान विभागको विशेष टोलीले बरामद गरेको थियो। सुन मोटरसाइकलको ‘ब्रेक शु’मा फिट गरेर तस्करी गर्न लागिएको थियो। त्यो सुन अब नेपाल राष्ट्र बैंकको जिम्मा लगाएको छ। त्यसको नापखोज र रेखदेखको जिम्मेवारी अब राष्ट्र बैंककै हुन्छ। उसको टक्सार विभागले त्यसको तौल लिन्छ र सुन हो कि होइन वा अरू केही त्यसको गुणस्तरबारे राष्ट्र बैंकले नै जाँच गर्छ।
यो प्रकरणमा पक्राउ परेकाहरूलाई मात्रै विभागले प्रहरीलाई जिम्मा लगाएको छ। किनकि विभागसँग ‘कस्टडी’का लागि संयन्त्र छैन। पक्राउ पर्नेहरूमा एकजना भारतीय र एकजना चिनियाँ नागरिक पनि छन्। जसले यो सुन तस्करीमा जोडिएको त्रिदेशीय अंकुश देखाएको छ।  

पक्राउ परेकाहरूलाई प्रहरी हिरासतमा राखिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए। ‘अनुसन्धान जारी छ। अहिलेसम्म १० जना पक्राउ परेका छन्, ती सबै प्रहरी हिरासतमा छन्’, अधिकारीले भने।

यसरी विभागले अनुसन्धान गरिरहेको अवस्थामा विमानस्थल पुगेका श्रेष्ठले सुन तस्करीमा संलग्न कसैलाई पनि नछाड्ने बताए। ‘छानबिन र अनुसन्धानको प्रक्रियालाई जरैसम्म पुग्नेगरी अगाडि बढाउनुपर्छ। जसोसुकै भए पनि यसको नेक्सन र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौँ।’

उनले बालकोट, बालुवाटार, बुढानीलकण्ठ वा कुनै ‘टार’ र ‘कोट’हरूका दबावका अघि यो अनुसन्धान नरोकिने जिकीर पनि गरे। 

श्रेष्ठ विभागबाटै गठन गरिएको छानबिन समितिले नै अनुसन्धान गर्ने र त्यसमा आवश्यक परेको अवस्थामा प्रहरीले पनि सहयोग गर्ने बताए। हालसम्म भने विभागले अनुसन्धानको लागि प्रहरीको साथ नमागेको उनको भनाइ छ।

हाल पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको बनेको सरकारमा पहिलो लटमै उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका श्रेष्ठ आफ्नो रुचिअनुसारको मन्त्रालय नपाएको भन्दै घुर्की लगाएर तीन दिनसम्म पदभार ग्रहणका लागि रक्षा मन्त्रालय नै गएका थिएनन्। तैपनि जसोतसो मन्त्रालय फर्किएका श्रेष्ठले बम्पर उपहार पाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा तत्कालीन गृहमन्त्री रवि लामिछाने नागरिकता प्रकरणका कारण सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट पदच्युत भए। त्यसपछि श्रेष्ठ गृहमन्त्री भएकाका थिए।

संयोग नै भन्नुपर्छ श्रेष्ठ गृहमन्त्री भएपछि ९ महिनादेखि अड्किएको नक्कली भुटानी शरणार्थी प्रकरण छताछुल्ला भयो। त्यसपछि जे-जे भयो सबैमा प्रधानमन्त्रीसहित गृहमन्त्री श्रेष्ठको वाहवाही नै भएको छ। 

अहिले गृहमन्त्री श्रेष्ठ चर्चा र प्रशंसाको उत्कर्षमा छन्। सरकारको तर्फबाट केही ‘बोल्ड’ कामहरू भए भने गृहमन्त्री श्रेष्ठको वाहवाही नै हुन्छ। त्यसकै उपज भन्नुपर्छ, अहिले जहाँ सरकारी निकायहरूले ‘एक्सन’ लिन्छन्, त्यहाँ गृहमन्त्री श्रेष्ठ पुग्छन्।

गृहमन्त्री श्रेष्ठका तिनै पाइला शुक्रबार त्रिभुवन विमानस्थल पुगे। त्यहाँ पुगेर उनले आफू र आफ्नो पार्टी नेतृत्वको सरकार भ्रष्टाचार विरोधी अभियानमा अगाडि बढेको भन्दै सुन प्रकरणको अनुसन्धान जरैसम्म पुर्‍याउन निर्देशन दिए। आवश्यक परेको खण्डमा नेपाल र केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोली पनि खटाउने वचन दिए।

देशमा हुने ठुला चोरी–पैठारीका घटनामा गृहमन्त्री सक्रिय हुनु गलत नभएको विभागका सूचना अधिकारी अधिकारी बताउँछन्। 

‘यस्तो ठुला चोरी पैठारीको अवस्थामा राज्यका सम्पूर्ण निकायको जिम्मेवारी हुन्छन्। यस अर्थमा उहाँ (गृहमन्त्री)को साथ सहयोग रहन्छ भने त्यो आफैंमा गलत कुरा होइन नि त’, उनले भने, ‘राज्यका निकायले यसरी साथ र हौसला दिनु, समन्वय गर्नु स्वभाविक हो। यसमा को संलग्न भयो वा भएन भन्ने कुरा भन्नुभन्दा पनि घटनामा सफलतामा प्राप्त गर्नु ठूलो कुरा हो।’

प्रकाशित मिति: : 2023-07-21 22:00:00

प्रतिकृया दिनुहोस्