नेता फेरेर फेरिन्न काँग्रेस

File Photo
File Photo

विभिन्न दश अजेण्डामाथि छलफल गर्नेगरी हप्तादिन बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धेरै विषयको चर्चा भएपनि विशेषतः थुनामा रहेका नेता बालकृष्ण खाँण र महामन्त्री गगन थापाले चलाएको नेतृत्व परिवर्तन अभियानमा केन्द्रत भयो।


हरेक दुई महिनामा हुनुपर्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक ११ महिनापछि बल्लतल्त बस्यो। साउन २ गतेदेखि सुरु भएको यसपालिको बैठक पूरै एक सातासम्म ‘लाइभ’ चल्यो। आज बैठकको समापन हुँदैछ।

बैठकका सबै कुरा सबैले सुने, सबैले बैठक प्रत्यक्ष देखे। साताभरिको यो बैठकमा व्यक्तिगत घोचपेचदेखि नेतृत्वको प्रशंसा अनि आलोचना भयो। एकअर्काको बचाउमा उभिए। बैठक रोचक देखियो नै, सँगै संसदमा देखिने सत्तापक्ष र प्रतिपक्षको जस्तो दृष्य पनि।

समसामयिक विषय, सांगठनिक कार्ययोजना, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश, नीति अधिवेशनको प्रस्ताव, विभाग गठन, राष्ट्रव्यापी अभियानको घोषणा, अनुशासन समिति प्रतिवेदन पेश, संसदीय दल समीक्षालगायत एजेण्ड बैठकका थिए।

यी एजेण्डामाथि लामै छलफल भयो। तर बैठकका दुई विषय अलि फरक, रोचक देखियो। बैठकमा पार्टीका नेताले अपराध गर्दा पनि पार्टीले बचाउनुपर्छ भन्ने गरी सन्देश प्रवाह भयो।

पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेकोमा धेरैले चिन्ता व्यक्त गरे। केन्द्रीय सदस्य राधा घलेले खाँण पक्राउ परेकोमा केही साथीहरू खुशी भएको आरोप नै लगाइन्। उनले भनिन्, ‘हामीले एउटा साथीलाई दुःख पर्दा अर्को साथीले काँध हाल्न सक्दैनौँ?’

भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाँणलाई पार्टीले कारवाही नगरेको केही नेताहरुले बताउँदै गर्दा संस्थापन पक्षका नेताहरु खाँणको बचाउमा उत्रिए। कुनै अपराधमा मुछिएकालाई पार्टीले कारवाही गर्नुपर्ने केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले मात्र मत राखे। तर धेरै मत खाँणलाई निलम्बन गर्न नहुने देखियो।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले खाँणलाई निलम्बन गर्नुपर्छ भन्ने नेताहरूमाथि नै प्रश्न उठाइन्। पार्टीकै केही नेताहरूले खाँणमाथि लागेको आरोप प्रमाणित गराउन लागेको उनको आरोप छ।

तर अपराधमा मुछिएका नेतालाई बचाउने गरी काँग्रेसको केन्द्रीय समिति बैठकमा छलफल हुनु दुःखद पक्ष रहेको राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसाईं बताउँछन्।

‘कानुनी राज्यमा जुन राज्य नेपाली काँग्रेसले बनाएको छ, त्यो राज्यले हाम्रो मान्छेलाई पूर्वाग्रह राखेर पक्राउ गर्छ भन्न काँग्रेसले मिल्छ?, प्रसाईंले प्रश्न गरे, ‘कानुनी राज्य आफैँ बनाउने, संविधान आफैँ बनाउने, सरकारमा आफैँ हुने अनि पूर्वाग्रह राखेर खाँणलाई समातेको भनेर भन्न मिल्छ?’

उनले एक थुनुवाको पक्षमा वकालत गरेर लोकतान्त्रिक पार्टीको केन्द्रीय समिति बैठकमा छलफल हुनु कानुनी राज्यको उल्लंघन भएको बताए। ‘कानुनी राज्यमा गएपछि नियम कानुनअनुसार अदालतले जे गर्छ, त्यो मान्नुपर्छ। काँग्रेसको केन्द्रीय समिति बैककमा एक थुनुवालाई बचाउने गरी छलफल हुनु कानुनी राज्यको उल्लंघन हो। लोकतान्त्रिक पद्धतिविपरीत हो’, प्रसाईंले भने।

प्रसाईंले खाँणलाई बचाउनुपर्छ भन्नु मनोवैज्ञानिक रुपमा अदालतलाई दबाब दिनु रहेको बताए। पार्टीको नेताले जे गरेपनि पार्टीले बचाउनुपर्छ। भोलिका दिनमा आफूलाई पनि पर्दा पार्टीले बचाओस् भन्ने गरी खाँणको बचाउमा नेताहरु लागेको हुन सक्ने उनले बताए।

यस्तै काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टी नेतृत्व परिवर्तनले राम्रै चर्चा पायो। संस्थापन पक्ष र इतर समूहबीचमा काँग्रेस परिवर्तन, नेतृत्व परिवर्तनको जुहारी चल्यो। यसै सभापति देउवाले नेतृत्व परिवर्तनका विषयमा ठुलो बहस हुन सक्ने भन्दै बैठक लाइभ गरेका थिए।

तर नेताहरुले आफू आलोचनाबाट बच्ने गरी नेतृत्वको परिवर्तनको कुरा चलाए। संस्थापन पक्षका नेताले संस्थापनइतर समूहका नेतालाई चाँडै नेतृत्व लिने गरी अघि नसर्नसमेत आग्रह गरे।

केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महामन्त्री गगनकुमार थापालाई संसदीय नेता बन्ने चाहना नराख्न आग्रह गरे। पछिल्लो समय पार्टी रुपान्तरण हुनुपर्ने माग गर्दै थापाले छिट्टै संसदीय दलको नेता फेर्न सकिने बताउँदै आएका छन्।

सोही विषय उठाउँदै रिजालले भने, ‘महामन्त्री थापालाई सुझाव- सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस्। संसदीय दलको नेता बन्नेतिर मन नडुलाए पार्टी थप राम्रो हुन्छ...।’

अर्का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि महामन्त्री थापाले संसदीय दलको नेता परिवर्तनका लागि गरिरहेको गतिविधिका बारेमा प्रश्न उठाए। उनले संसदीय दलको नेता फेर्ने भनेर अतिरञ्जना नगर्न आग्रह गरे।

संस्थापन पक्षका नेताहरुले महामन्त्री थापाप्रति प्रश्न गर्दा महामन्त्री थापा र विश्वप्रकाश शर्माले भने पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने बैठकबाटै सन्देश दिए। थापाले पार्टी फुटाउने कुरा नगरेको भन्दै दलको नेता फेर्ने कुरा गरेको बताए।

‘..साथीहरू किन आत्तिनुभएको हो? मैले पार्टी फुटाउने कुरा गरेको होइन। घरको नेता फेर्ने कुरा गरेको हो। म्युजिकल चियरजस्तै ४-५ जना नेताको वरिपरि देशको सत्ता घुमिरहने प्रवृत्तिलाई बदल्नु नै मैले दलको नेता परिवर्तन गर्न लागेको हो,’ उनले भने, ‘के यो प्रयास गर्न मिल्दैन? विधानले गर्न दिन्छ। दलको नेता फेर्न आवश्यकता छैन? मलाई आवश्यक छ भन्ने लागेको छ । कर्म गर फलको आशा नगर भनेझैं म लागिरहन्छु। सके बदल्छु। सकिएन भने चुप लागेर बस्छु।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा नेतृत्व विकासका लागि ‘एक्जिट’ हुने व्यवस्था आवश्यक रहेको बताए। ‘पार्टीलाई रूपान्तरण गर्नका लागि पनि एक्जिट व्यवस्था आवश्यक देखियो, यो व्यवस्था गर्न सकेको भए सभापतिज्यूले धेरै वर्षअघि नै राजनीतिबाट अवकाश लिइसकेको हुनुहुन्थ्यो,’ शर्माले भने, ‘राष्ट्रपति एकपटक हुने, मन्त्री तीनपटक हुने र सांसद चारपटक हुने गरी एक्जिट पोलिसीलाई कानुनको अंग बनाएर लैजाऊँ।’

महाधिवेश आउन अझै ३ वर्ष बाँकी रहेको र संसदीय दलको नेतृत्वमा हारेकै व्यक्ति फेरि दलको नेता फुर्नुपर्छ भन्दै महामन्त्री थापाले चलाएको अभियानलाई राजनीतिक व्यक्ति सकारात्मक रुपमा लिँदैनन्। उनको केन्द्रीय समिति बैठकमा भएको धेरै आलोचनाले पनि त्यो देखाउँछ।

राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसाईं काँग्रेस रुपान्तरणका लागि संसदीय दलको नेता फेरेर केही नहुने बताउँछन्। काँग्रेसले नव उदारवादको सिद्धान्त बोकेसम्म काँग्रेस रुपान्तरण नहुने पनि उनको भनाइ छ।

‘संसदीय दलको नेता फेरेर केही हुँदैन। काँग्रेसले बोक्ने नव उदारवाद हो वा पुँजीवाद हो,’ उनले भने, ‘त्यसैले देउवा–गगनले बोकेको पुँजीवाद हो। काँग्रेस सुध्रिने हो भने नव उदारवादबाट प्रजातान्त्रिक समाजवादतर्फ पार्टी लैजानुपर्छ। नेतृत्व परिवर्तन गरेर केही हुँदैन।’

नेपाली काँग्रेसमा सिद्धान्तका लागि भन्दा व्यक्तिका लागि लडाइँ हुने गरेको डा.प्रसाईंले बताए। उनले भने, ‘नेपाली काँग्रेसमा सिद्धान्तको लडाइँ छैन। व्यक्तिको लडाइँ छ अहिलेसम्म। फेर्नुपर्ने पार्टीको नेता होइन, सिद्धान्त हो। नव उदारवाद बोकेर देउवाको ठाउँमा गगन वा अरु साथीहरु बसेपनि काँग्रेस त्यही हो। परिवर्तन हुँदैन।’

प्रकाशित मिति: : 2023-07-26 21:50:00

प्रतिकृया दिनुहोस्