पयर्टन डिभिजन कार्यालय बाँकेमा चरम बेतिथिः फोटो हेरेरै भुक्तानी दिन्छन्

बाँकेको कोहलपुर नगरपालिका-११ लोकनगरमा रहेको लक्ष्मीनारायण मन्दिरमा रहेको जस्तापाता र ४ पिल्लरको मात्र ९ लाख बढी रकम भुक्तानी गरेको पाइएको छ।

पर्यटन डिभिजन कार्यालय कोहलपुरको आ.व. २०७९-०८० को बजेटबाट कोहलपुर नगरपालिकामा ३ वटा मन्दिरमा संरचना निर्माण गरिएको छ। जसमा लक्ष्मीनारायण मन्दिर -११, शिव मन्दिर-२ र महाकालिका मन्दिर १२ मा संरचनाहरु बनाइएको हो। यी तीन मन्दिरको रकम जनही १०÷१० लाख रकम हो।

लक्ष्मीनारायण मन्दिर निर्माणका लागि उपभोक्ता समिति निर्माण नगरी सोझै कोटेशन मार्फत काम गराएको र मन्दिरका कुनै पदाअधिकारीलाई जानकारी नदिई ९५ वटा जस्तापाताको ९ लाख ३७ हजार ५ सय ४ रुपैयाँ भुक्तानी लिएको पुजारी मगंरु थारुले बताए।

लक्ष्मीनारायण मन्दिरको माथिल्लो भागमा जस्तापाता हाल्न भनी कर्मचारी र निर्माण व्यवसायीको मेलोमतोमा कोटेशन हाल्न लगाई भूपेन्द्र निर्माण सेवाले कोटेशन पारेको उनले बताए।

‘लक्ष्मीनारायण मन्दिरको टिनको छानो भन्दा पक्की ढलान गर्ने योजना थियो तर आर्थिक अपचलन गर्न कोटेशनमा काम भयो’, कस्तो बनाउने भनेर मन्दिरको संरक्षण समितिलाई समेत थाहा दिइएन,’ उनले भने, ‘संरक्षण समितिले यसको विरोध गर्छ भनेर होला कुनै जानकारी दिइएन।’ 

त्यहा करिब ९५ जस्ताको पाता हालेको बताउँदै कति रकमको भनी बोर्ड समेत नराखेको उनले सुनाए। त्यो काम कसले गरेको भन्ने कुरा आफूलाई थाहा नभएको उनले बताए। 

 ‘मन्दिर व्यवस्थापन समिति कै उपभोक्ता समिति निर्माण गरी काम गरौं भनेको थिएँ तर मानेन्,’ थारुले भने। मन्दिर व्यवस्थापन समितिको कुनै संलग्ता नरहेको पुजारी थारु बताउँछन्। 

यता, सम्झौता भएअनुसार नै भुक्तानी लिएको भूपेन्द्र निर्माण सेवाका सञ्चालन लक्ष्मीनारायण आचार्यले बताउँछन्। भने उता, पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका प्रमुख दिनेश अधिकारीले साना-साना योजनाको फोटो हेरेर भुक्तानी दिने गरेको बताए। 

‘यहाँ ठुला-ठुुला योजना हुन्छन्’ उनले भने, ‘त्यो सानो-सानो योजनाहरुको फोटो हेरेरै भुक्तानी दिने गरेका छौं’, कार्यालय प्रमुखले गैर जिम्मेवार पूर्ण अभिव्यक्ति प्रस्तुत गर्र्दै भुक्तानी गरेको समेत उनले स्वीकारे।

पहिले रातो कितावमा नआएको र नेताले भनेकै भरमा योजना बनेको भन्दै राजनैतिक चरित्रमाथि प्रश्न गर्दै अधिकारीले भने, ‘किताब निकालेपनि बिचबाट योजना बन्छन्, ती बिचबाट बनेका योजनाहरुलाई कार्यालयले कार्यान्वयन गर्नुपर्ने बाध्यता छ।’

थप लक्ष्मीनारायण मन्दिरकै संरचना बनाउन कोहलपुर नगरपालिका वडा नं. ११ को वडाबाट भुँई तलामा पि.सि.सि.गर्ने भित्र बाहिर पलस्टर गर्न २ लाख २८ हजार रकमको काम भइरहेको बताइएको छ।

कोहलपुर नगरपालिका ११ नम्बर वडा अध्यक्ष कल्पना अधिकारीले वडाबाट २ लाख २८ हजार रकमको काम भइरहेको बताइन्।

‘पर्यटन कार्यालयको विषयमा आफ्नो संंलग्नता छैन,’ उनले भनिन्, ‘वडाको बजेटको विषयमा भने आफू पूर्ण जानकार छु।’

पर्यटनकै प्रमुखले भुक्तानीको लागि सिफारिस मागेपछि आफूले सिफारिस दिएको वडा अध्यक्ष कल्पना अधिकारीको भनाइ छ।
 

प्रकाशित मिति: : 2023-08-02 21:41:00

प्रतिकृया दिनुहोस्