‘सबैभन्दा हट प्रथम महिला’काे उपमा पाएकी पत्नी सोफीसँग छुट्टिए क्यानडाका प्रधानमन्त्री

Photo - REUTERS
Photo - REUTERS

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफी ग्रेगोयरबीच १८ वर्ष लामो वैवाहिक सम्बन्ध टुटेको छ। उनीहरु एकअर्काले बुधबार सामाजिक सञ्जालमार्फत् छुट्टिने घोषणा गरेका छन्।

‘सोफी र म यो तथ्य सार्वजनिक गर्न चाहन्छौँ कि धेरै अर्थपूर्ण र कठिन कुराकानीपछि हामीले छुट्टिने निर्णय गरेका छौँ’, ट्रुडोले इन्स्टाग्राममा लेखेका छन्। सोफीले पनि यस्तै पोस्ट गरेकी छन्।

ट्रुडो र सोफीको सन् २००५ को मे महिनामा विवाह भएको थियो।

उनीहरुको तीन सन्तान छन्।

सम्बन्धविच्छेदपछि सोफी ओटावामा छुट्टै बस्नेछिन्।

सन् २०१५ मा प्रधानमन्त्री बनेयता ट्रुडोका लागि यो सबैभन्दा ठुलो व्यक्तिगत संकट हो।

ट्रुडोले यसै साता आफ्नो सम्बन्धविच्छेदबारे सार्वजनिक रुपमा बोल्ने अनुमान गरिएकाे छ।

रोयर्टस्ले जनाएअनुसार युनिभर्सिटीमा कमर्स पढेकी लैंगिक समानताका हिमायती सोफी र ट्रुडोबीच सन् २००३ मा भेट भएको थियो। त्यति बेला सोफी रिपोर्टर थिइन्। त्यसको दुई वर्षपछि उनीहरुको विवाह भएको थियो।

सन् २०१५ को अन्त्यमा प्रधानमन्त्री हुँदा ट्रुडो ४३ वर्षका मात्र थिए र तीब्र पहिरनमा सजिएका ट्रुडोले विश्व मिडियाको ध्यान खिच्न सफल भएका थिए।

अक्टोबर २०१५ मा न्युयोर्क पोस्टले उनलाई ‘संसारको सबैभन्दा हट प्रथम महिला’को संज्ञा दिएको थियो।

ट्रुडोले पदभार ग्रहण गरेपछिका प्रारम्भिक वर्षहरूमा उनी र सोफी प्रायः सामाजिक समारोहहरूमा र विदेश भ्रमणहरूमा सँगै देखिन्थे।

यद्यपि, ट्रुडोले आफू प्रधानमन्त्री हुनुअघि नै दुवैले चुनौतीको सामना गर्नुपरेको स्पष्ट पारेका थिए र सन २०१४ मा आफ्नो आत्मकथा ‘कमन ग्राउन्ड’मा लेखेका थिए, ‘हाम्रो विवाह पूर्ण छैन र हामीले कठिन उतारचढाव भोगेका छौँ।’

हालैका वर्षहरूमा सोफीले आफ्नो पतिसँग सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन कम गरेकी थिइन्।

गत वर्ष आफ्नो विवाहको वर्षगाँठको अवसरमा उनले एक सामाजिक सञ्जाल पोस्टमा भनेकी थिइन, ‘हामीले घाम लाग्ने दिनहरू, भारी आँधीबेहरी र बीचमा रहेका सबै चीजहरू पार गरेका छौँ र यो समाप्त भएको छैन।’

गत मे महिनामा राजा चाल्सको राज्याभिषेकका लागि लण्डन गएका यी दुई मार्चको अन्त्यमा अमेरिकी राष्ट्रपति जो बाइडनको भ्रमणका क्रममा सँगै थिए।

सोमबारसम्म ट्रुडोले आफ्नो विवाहको औंठी लगाएका थिए।

सन् १९७७ मा क्यानडाको प्रधानमन्त्री भएका बेला उनका बुवा पिएरे ट्रुडोको पनि पत्नी मार्गेटसँग सम्बन्धविच्छेद भएको थियो।

– एजेन्सी

प्रकाशित मिति: : 2023-08-03 09:01:00

प्रतिकृया दिनुहोस्