अझै बनेन् ग्वार्को फ्लाइओभरको डिजाइन

ललितपुरको ग्वार्को चोक (चक्रपथ सडक)मा निर्माण भइरहेको फ्लाइओभरको डिजाइन बनाउन ढिलाइ भइरहेको छ। फ्लाइओभर निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएपछि फ्लाइओभरको डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएको थियो।

डिजाइन नहुँदा डिजाइन परिवर्तन गर्नुपर्ने भागको काम असारयता रोकिएको छ। फ्लाइओभरको चोकमा राखिने पिलरको डिजाइन परिवर्तन गर्नुपर्ने निर्माण कम्पनीले जनाएको छ।

निर्माण कम्पनीले फ्लाइओभरको ठेक्का ल्याएर आफैं डिजाइन गरेको भएपनि उक्त डिजाइनअनुसार काम गर्न नसक्ने कम्पनीले बताउँदै डिजाइन परिवर्तन गर्न लागेको छ। कम्पनीले डिजाइन परिवर्तन गरेर सडक डिभिजन कार्यालयमा दिइसकेको छ।

तर, त्यो डिजाइन सडक भिडिजन कार्यालय ललितपुरमा अध्ययनको चरणमा रहेको छ। ‘कम्पनीले डिजाइन बनाएर पठाएको छ। त्यसको हामीले अध्ययन गरिरहेका छौँ,’ गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर राकेश महर्जनले भने, ‘छलफलपछि त्यो हामीले पास गर्नेछौँ र काम सुरु हुनेछ।’

महर्जनले हप्ता दिनमा डिजाइन कम्पनीलाई दिइसक्ने बताए। निर्माण कम्पनीले पठाएको डिजाइनको अध्ययन भइरहेको र आफूहरुलाई डिजाइन सही लागेमा पास गरेर पठाउने बताए।

पहिलेको डिजाइनअनुसार चोकमा राखिने पिलरको संख्या ४ वटा थियो। ती पिलर ३४ मिटर गहिरो राख्नुपर्ने डिजाइन गरिएको थियो। तर, ४ वटा पिलरलाई ३४ मिटर गहिराइमा राख्न नेपाल, भारतमा मेसिन नभएपछि डिजाइन परिवर्तन गर्नु परेको हो।

पिलर राख्दा अस्थायी रुपमा बाहिरबाट केसिङ अर्थात् सुरक्षाको उपकरण पनि राख्नुपर्ने हुन्छ। तर, उक्त केसिङ राख्नका लागि नेपाल, भारतमा मेसिन उपलब्ध नभएपछि पिलरको संख्या बढाएर गहिराइ घटाउने गरी डिजाइन गरिँदै छ।

तर, त्यो डिजाइन बनाउन ढिलाइ भइरहेको छ। डिजाइन नहुँदा पिलर राख्ने भागको काम ठप्प रहेको छ।

चक्रपथमा हुने ट्राफिक समस्या कम गर्नका लागि सरकारले लामो समयदेखि तयारी थालेको फ्लाइओभर निर्माणको काम गत फागुनमा सुरु गरिएको थियो। नेपालकै पहिलो फ्लाइओभरकाे निर्माण थालिएको चार महिनामा नै प्राविधिक समस्या देखिएको थियो।

फ्लाइओभरको आशिष–समानान्तर–रेलिगेल जेभी कम्पनीले निर्माण गरिरहेको छ। इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्ट्रक्सन (इपीसी) मोडेलमा फ्लाइओभर निर्माण भइरहेको छ।

फ्लाइओभर निर्माण भएपछि चक्रपथको बीचमा गुड्ने सवारी साधन ग्वार्को चोकमा रोकिनुपर्ने छैन। फ्लाइओभरबाट सिधैं गाडीहरू गुड्ने छन्। साथै मङ्गलबजारबाट इमाडोल वा इमाडोलबाट मङ्गलबजारतर्फ जाने वा चक्रपथमा जाने सवारी साधन पुलमुनिबाट प्रवेश गर्ने छन्।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भइरहेको फ्लाइओभरको उचाइ ६ मिटरको हुनेछ। सुपर स्ट्रक्चर ३५ मिटर हुने फ्लाइओभरको जम्मा लम्बाइ ५४० मिटर हुनेछ।

फ्लाइओभर निर्माणको समयावधि आउने फागनु १२ गतेसम्म रहेको छ। १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा बन्ने फ्लाइओभरको पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने शर्त छ।

ग्वार्को फ्लाइओभर: काम सुरु भएको चार महिनापछि ‘डिजाइन’ फेल ! (भिडियाे)

प्रकाशित मिति: : 2023-08-04 17:35:00

प्रतिकृया दिनुहोस्