‘बातलाबा’को ३०औँ शृङ्खला ‘तीन कवि : तेब्बर कविता’ सम्पन्न भएको छ।
शनिबार प्रदर्शनमार्गस्थित पद्मोदय मा.वि.मा सम्पन्न कार्यक्रममा कवि लक्ष्मी रुम्बा, कृष्णकिसु न्यौपाने र युग सर्वनामले तीन-तीन वटा कविता वाचन गरेका थिए।
कार्यक्रम कवि लक्ष्मी रुम्बाले 'लामो रातपिछ', 'जंगल एक सपना' र 'घर एक सत्ता' कविता वाचन गरेकी थिइन् भने युग सर्वनामले 'रगतको पैदल यात्रा', 'युद्धबिराम' र 'छुट्नेहरू' कविता वाचन गरेका थिए। कवि कृष्णकिसुले 'मुग्लाने मजदुरको पत्र', 'आकांक्षा' र 'सरकर परिचय दिलाइ पाऊ' कविता वाचन गरेका थिए।
सिर्जनामाथि टिप्पणी गर्दै युवा समालाेचक पुरुषोत्तम रिजालले कृष्णकिसुको कवितामा गम्भीर सामाजिक विषयलाई कलात्मक रुपमा व्यक्त गरिएकाे चर्चा गरे। कविताको एकअंश वाचन गर्दै उनले यो शक्तिशाली कविता भएको बताए। किसुका कवितामा वैदेशिक राेजगारीमा गएकाहरुकाे नाप्न नसकिने दु:ख र भोगाइसँगै देशप्रतिकाे जिम्मेवारीबाेधसमेत व्यक्त भएकाे उनकाे टिप्पणी थियाे।
यस्तै अर्का कवि युग सर्वनामका कवितामा समतामूलक समाज निर्माणका लागि अधिकार र पहिचानको निरन्तर सङ्घर्षलाई आह्वान गरेकाे समालाेचक रिजालले बताए। 'उत्पीडित वर्गकाे अधिकार प्राप्तिकाे आवाजलाई एकपटक लेखेर पुग्दैन। याे संघर्ष थकाइ मार्ने खालको हाेइन। सर्वनामका कविताले यही सन्देश मुखरित गर्छन्,' उनले भने।
कवि लक्ष्मी रुम्बाको सधैँ पुरुषकाे कब्जामा रहने 'घर एक सत्ता' कवितामाथि आफूले टिप्पणी गरेर न्याय गर्न नसक्ने रिजालले बताए। कविलाई आफूले ज्यादै नजिकबाट चिनेकाले कवितामा कवि रुम्बाले आफ्नाे पारिवारिक पृष्ठभूमिलाई समेत जाेडेर यथार्थकाे नजिक पुर्याएकाे उनकाे धारणा थियाे।
यस्तै रुम्बाकाे 'लामो रातपछि' कवितामा राज्यसत्ताबाट तामाङ जाती उपर भएको उत्पीडनकाे इतिहासलाई सशक्त रुपमा उजागर गरेकाे बताए। 'सबैभन्दा उत्पीडनमा पारिएका तामाङ जाति हुन्। दैलोमै राखेर शोषण गरिएको हो। यस विषयको चेत लक्ष्मीजीको कवितामा पाइन्छ,' उनले भने।
कार्यक्रमका संयाेजक अखिल नेपाल लेखक सङ्घका अध्यक्ष स्वप्निल स्मृतिले बातालाबाकाे नियमित शृङ्खलालाई अझ प्रभावकारी रूपले निरन्तरता दिने बताए।
कवि जीत अधिकारीले सञ्चालन गरेकाे कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञहरु अगिव बनेपाली, डा. काैशिला रिसाल, समालाेचक कुमारी लामा, तेजविलाश अधिकारी, कवि राजु स्याङ्तान, बच्चु हिमांशुलगायतकाे उपस्थिति रहेकाे थियाे।