बाढीबाट गोदावरीधामका मठमन्दिरमा क्षति

फाइल तस्बिर
फाइल तस्बिर

गए रातिको वर्षासँगै कैलालीको गोदावरी नदीमा आएको बाढीले गोदावरीधाम परिसरमा रहेका मठमन्दिरमा क्षति पुर्याएको छ।

नदीमा आएको बाढीले धाम परिसरमा श्राद्ध गर्न बनाइएको कुण्ड, पिण्डस्थलका साथै श्रीयन्त, विष्णु मन्दिर, शिवमन्दिर, बटुक बस्ने घरलगायतका संरचनामा क्षति पुर्याएको छ। धेरै संरचना बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवाले पुरिएका छन्। 

बाढीले धाम परिसरमा जडान गरिएको सोलार बत्तीका साथै नदीको कतिपय भागको तटबन्धनमा पनि क्षति पुर्याएको छ। 

धाम विकास समितिका पदमराज जोशीले राति नदीमा आएको बाढीले धाम परिसरमा क्षति पुर्याएको बताए।

धाममा बस्दै आएका बटुक खगेन्द्र बिनाडीले बेलुकी आरती गर्ने समयमा नदीमा अचानक बाढी आउँदा क्षति पुर्याएको बताए। 

बाढीपछि जोखिममा परेका बटुक र सन्त महन्तलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाको संयुक्त पहलमा उद्धार गरिएको थियो। बाढीले धाम आसपासमा रहेका पशुचौपाया बगाएको जनाइएको छ।

बाढीसँगै गोदावरी नदीमाथि धातु र काठ प्रयोग गरी झन्डै छ दशकअघि बनेको पुल छेउमा कटान गरेको छ। यो पुल जीर्ण बन्दै गएपछि केही वर्षअघि सोही ठाउँमा पक्की पुल निर्माण गरिएको थियो। 

सडकमार्गबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला प्रवेश गर्ने मुख्यद्वार र प्रदेशको प्रमुख तीर्थस्थलका रूपमा रहेको यो धामक्षेत्र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यहाँ प्रत्येक वर्ष माघ १ गते लाग्ने मकर सङ्क्रान्ति मेलामा नेपाल तथा भारतका भक्तजन स्नान र पूजा गर्न पुग्ने गर्दछन्।

यसैबीच वर्षासँगै धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गतको बुढीतोला सडकखण्ड ठाउँ–ठाउँमा भासिँदा यातायात आवागमन अवरुद्ध भएको छ।
 

प्रकाशित मिति: : 2023-08-08 11:02:00

प्रतिकृया दिनुहोस्