नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विनरक इन्टरनेशनलका पदाधिकारीबीच कृषि अनुसन्धानमा सहकार्य गर्नेबारेमा छलफल भएको छ।
नार्कको केन्द्रीय कार्यालय खुमलटारमा आज भएको छलफलमा यूएसएडअन्तर्गत विनरक इन्टरनेशनलमार्फत सञ्चालन हुने कृषि सामग्री परियोजना लागु गरी धान, मकै, मुसुरो र तरकारी बालीहरुमा बिउबिजन, यान्त्रिकीकरण, सिँचाइ र खाद्यतत्व व्यवस्थापनमा सहकार्यका विषय समेटिएका थिए।
सो परियोजना सुरुमा सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र बागमती प्रदेशमा लागु हुनेछ। भविष्यमा अन्य प्रदेशमा समेत विस्तार गर्न सकिने जनाउँदै विनरक इन्टरनेशनलका तर्फबाट एलेक्सिस एलिकोटले यो परियोजनाको डिजाइनको अवस्थादेखि नै सहकार्य गर्न चाहेको बताइन्।
विनरक इन्टरनेशनलका रिक ओडीले यो परियोजनाको कार्यान्वयनमा नार्कको अनुसन्धानको पक्ष महत्वपूर्ण रहने बताए।
नार्कका कार्यकारी निर्देशन डा. ध्रुवराज भट्टराईले नार्कसँग सहकार्य गर्न सकिने मुख्य पक्षहरुमा जोड दिएका थिए। उनले नेपालको कृषि अनुसन्धान प्रणालीबारेमा जानकारी दिँदै कृषि अनुसन्धानका प्राथमिकताहरुको विवरण प्रस्तुत गरेका थिए।
बाली तथा वागवानी अनुसन्धान निर्देशक डा.कृष्णकुमार मिश्रले अनुसन्धानका उपलब्धिलाई किसानसम्म पुर्याउन उपयुक्त माध्यम पनि पहिलै सुनिश्चित गर्नुपर्ने बताए।
योजना महाशाखा प्रमुख डा.टेकप्रसाद गोतामेले बालीनालीको प्राथमिकता तय गर्दा नेपाली बजारको मागअनुसार गर्नुपर्ने बताए।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले नेपालमा कृषिसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरुले कृषिको उत्थानमा निकै चासो दिइरहेको र त्यसलाई हामीले सकारात्मक रुपमा लिई नतिजामुखी काम गरेर देखाउनुपर्ने खाँचो रहेको बताए।
छलफलमा योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डे, वैज्ञानिक डा. सविना देवकोटा, विनरक इन्टरनेशनलको तर्फबाट रुद्रबहादुर श्रेष्ठलगायतको सहभागिता रहेको थियो।