निर्देशक सुब्बा भन्छन्,– वर्ल्ड प्रिमीयर हुन गइरहेको समाचार सुनाउन पाउँदा हामी उत्साहित भएको छौँ
विश्वको प्रतिष्ठित चलचित्र महोत्सव ४८औं ‘टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव- २०२३ (Toronto International Film Festival, 2023)’मा नेपाली चलचित्र ‘गाउँ जाने बाटो’ छनोट भएको छ।
अगामी सेप्टेम्बर ७ देखि १७ तारिखसम्म चल्ने महाेत्सवमा ‘गाउँ जाने बाटो’ वर्ल्ड प्रिमियर हुने भएकाे हाे। ‘४८औँ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव- २०२३ मा छनौट भई वर्ल्ड प्रिमीयर हुन गइरहेको समाचार सुनाउन पाउँदा हामी उत्साहित भएको छौँ,’ चलचित्र निर्माण पक्षाले जारी गरेकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ।
विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली चलचित्र छनाेट हुनुले समग्र नेपाली सिनेमा उद्याेगमा सकारात्मक प्रभाव पर्ने र नेपाली चलचित्रहरुकाे अन्तर्राष्ट्रियकरणामा टेवा पुग्ने विश्वास निर्माण पक्षले लिएकाे छ।
टोरोन्टोमा वर्ल्ड प्रिमियर हुने सुखद् समाचार सुने लगत्तै निर्देशक नवीन सुब्बाले विश्वमा नेपाली फिल्मको दृश्यता बढाउन र अन्तर्राष्ट्रियकरणमा टेवा पुर्याउन सहयाेग पुग्ने भन्दै सञ्चार माध्यमद्वारा खुसी व्यक्त गरे।
पछिल्लो समय नेपाली सिनेमाको पहुँच विश्वमा बढे पनि विश्व बजारसँग जोड्न नसकेको अवस्थामा यस्ताे अवसर प्राप्त हुनुले विश्व चलचित्र बजारमा राम्राे सन्देश जाने निर्देशक सुब्बाले बताए। ‘नेपाली फिल्मलाई विश्व बजारसँग जोड्न हामी प्रयासरत छौँ। नेपालमा पनि गुणस्तर सिनेमा निर्माण हुन्छन् भन्ने सन्देश पनि विश्वलाई जान्छ’, सुब्बाले भने।
राई समुदायको सामाजिक परिवेशमा बनेको चलचित्रमा गाउँमा बाटो आएपछि जनजीवनमा आएको परिवर्तनको विविध पक्षलाई कथामा उतारिएको निर्माता अमोद राईले बताए। निर्देशक सुब्बाले ‘नुमाफुङ’मार्फत् विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पाएर चर्चा कमाएका थिए।
टेलिश्रृङ्खला ‘दलन’ र चलचित्र ‘गुडबाई काठमाण्डु’पछि यो उनको कमब्याक फिल्म हो।
राई जातीको सामाजिक पृष्टभूमिमा बनेको ‘गाउँ जाने बाटो’मा गाँउमा सडक आएपछि बाबु छोराको सम्बन्धमा आउने उतारचढावलाई देखाउने प्रयास गरिएको छ।
सुब्बाको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा आदिले अभिनय गरेका छन्।
महेश राई र नवीन सुब्बाको लेखन रहेको चलचित्रमा जोस हेरमको छायाँकन, क्वान पुन लिउङको सम्पादन, हेडी लिको संगीत, किशोर आचार्यको ध्वनी, राज थापाको प्रडक्सन डिजाइन, जगदिस अधिकारी र सुजना श्रीसको कला, रजत राईको प्रप्स र सिकुमा राईको कस्टयूम डिजाइन छ। मिन्सो लिम्बु लाइन प्रोड्युसर रहेको यस चलचित्रको कार्यकारी निर्माता सन्जु राई, नरहाङ राई, भीम राई र देवराज राई रहेका छन् भने आमोद राई र नवीन सुब्बा निर्माता रहेको छन्। यो चलचित्र छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको व्यानरमा निर्माण गरिएको छ।
हङकङमा बसोबास गर्दै आएका अमोद राईद्वारा निर्मित र नवीन सुब्बाद्वारा निर्देशित फिल्म ४ महिना लगाएर छायाँकन गरिएको थियो।
निर्माता राई विगत २० वर्षदेखि हङकङमा शिक्षण पेसामा आवद्ध छन्। नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउने लक्षसहित चलचित्र निर्माणमा लागेकाे राई बताएका छन्। हङकङबाट बिएल नेपाली सेवासँग राईले संक्षिप्तमा भने, ‘हाम्रो मिहेनत र प्रयासलाई मान्यता दिइएको छ, यसमा गर्व लागेको छ।’
यो चलचित्र सामुदायिक लगानीको अवधारणामा निर्माण भएको हो। यो चलचित्रको निर्माणमा नेपाल र विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरुले सामुहिक लगानी गरेका छन्।
चलचित्रकाे लागि हङकङ, मकाउ, बेलायत, बेल्जियम, दक्षिण कोरिया, नेदरल्याण्ड, पोर्चुगल, जर्मनी, नेपाललगायत देशमा रहेका नेपालीहरुबाट साथ सहयाेग प्राप्त भएकाे राईले जानकारी दिए। चलचित्रलाई हङकङकाे घरेलु बजार हुँदै चीनसम्म जाेड्ने चाहना रहेकाे उनले बताए।
चलचित्र नेपालकाे भोजपुरको आमचोक, भोजपुरबजार, सङ्खुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायाँकन गरिएको थियाे।