त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको ६० किलो सुन प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काे टाेलीले उनीहरूलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको हाे।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ३ महिला र एक पुरुष रहेका छन्। यसअघि मंगलबार मात्रै ३ जना चिनियाँ नागरिक पक्राउ परेका थिए।
रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाँग्रे सवारीको पार्टस् ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गल क्षेत्रबाट बरामद गरेको थियो।
बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो चार सय ६८ ग्राम भएकोमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले ब्रेकशु, प्याकेजिङ कार्टुनलगायतबाट छुट्याएपछिको सुन तौल ६० किलो सात सय ८९ ग्राम कायम भएको थियो। तर मंगलबार उक्त सुन गाल्दा ७३ ग्राम जर्ती काटिएपछि वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको थियाे।
याे सुन तस्करीकाे अनुसन्धान सुरु राजस्व अनुसन्धान विभागले गरेकाे भएपनि हाल नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूराे (सिआइबी)ले गरिरहेकाे छ।