६० किलो सुन प्रकरण: दावाले छोराको नाम जोडेपछि तनावमा ईश्वर पोखरेल !

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग आफ्नो परिवारलाई जोडेर समाचार प्रकाशन गरेकाे भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उपाध्यक्ष पोखरेलले पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा आफ्नो परिवारलाई जोडेर लेखेको समाचार शतप्रतिशत झुटो भएकाे दाबी गरेका छन्।

‘पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा मेरो परिवारलाई जोडेर लेखेको शतप्रतिशत झुटो समाचारको म घोर निन्दा, भर्त्सना र खण्डन गर्न चाहन्छु’, उनले भनेका छन्, ‘माओवादीको लगानी रहेको र कतिपय लगानीकर्ताको लगानीसमेत ठगी गरेको भनेर यसअघि नै विवादित त्यस अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै छ।’

आफ्नो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च भएकाे भन्दै उनले यसमा आफ्नो परिवारको कुनै कुरामा संलग्नता नभएकाे जिकिर गरेका छन्। पोखरेलले यस्ता कुराबाट भ्रमित नहुन भन्दै यस सम्बन्धमा कानुनी कारबाही अगाडि बढाउने बताए।

बिहीबार एक अनलाइन सञ्चारमध्यमले सुन तस्करीको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको भनेर सीआईबीसँगकाे बयानमा भनेकाे भन्दै समाचार प्रकाशित गरेकाे थियाे।

उक्त अनलाइनले दावाले आफूलाई अप्ठ्यारो पर्दा उनीहरुले नै सहयोग गर्ने गरेको भनेर बयान दिएकाे उल्लेख गरेकाे थियाे।

साेही अनलाइनकाे समाचारकाे खण्डन गर्दै उपाध्यक्ष पाेखरेलले सुन तस्करी प्रकरणमा आफ्नो परिवारको कुनै कुरामा संलग्नता नभएकाे र भ्रममा पार्न खाेजिएकाे भन्दै आपत्ति जनाएका हुन्।

प्रकाशित मिति: : 2023-08-18 12:28:00

प्रतिकृया दिनुहोस्