चौथोपटक पनि जेलबाट जोगिने भए ट्रम्प, दुईलाख धरौटीमा छुट्ने सहमति

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प चौथोपटक पनि जेल जानबाट जोगिने भएका छन् । जर्जिया राज्यको फुल्टोन काउन्टी कोर्टका प्रतिनिधि र ट्रम्पका वकिलबीच ट्रम्पलाई दुई लाख धरौटीमा छुटाउन सहमति भएपछि  उनी यसपटक पनि जेल जानबाट जोगिएका हुन् । 

सहमतिपछि ट्रम्प विहीबार स्वयं फुल्टोन काउन्टी कारगारमा हाजिर हुने भएका छन् । ट्रम्पलगायत उनका १८ अनुयायीलाई शुक्रबारसम्म हाजिर हुन आदेश जारी गरिएको छ ।निर्धारित समयभित्र हाजिर नभए पक्राउ गरेर जेल पठाइने बताइएको छ । यस मुद्दाका अधिकांश अभियुक्तकलाई जेल जानबाट जोगाउन उनीहरूका वकिलहरू धरौटीमा छुटाउन काउन्टी कोर्टका प्रतिनिधिहरूसँग सौदाबाजी गरिरहेका छन् । 

ट्रम्प र उनका १८ समर्थकविरूद्ध २०२० को राष्ट्रपति चुनावमा निर्णायक रहेको जर्जिया राज्यको फुल्टन काउन्टीको परिणाम उल्टाउन जालसाझी गरेकोलगायतका १३ अभियोग लगाइएका छन् । ट्रम्पलगायतक अधिकांशले ती सबै अभियोगहरू अस्विकार गरे का छन्प । यद्यपि, उनीहरूले गरेका जालसाझीका अनकौ दशी प्रमाणहरू मिडिया अर्काइभमा भेटिन्छन् । 

के तपाई विश्वास गर्न सक्नुहुन्छ? म बिहीबार एक कट्टरपन्थी वामपन्थी जिल्ला अधिवक्ता, फानी विलिसले लगाएको अभियोगमा गिरफ्तारी दिन एटलान्टा, जर्जिया जाँदैछु ।
- डोनल्ड ट्रम्प, अमेरिकी पूर्वराष्ट्रपति 

फुल्टोन काउन्टीको यो पछिल्लो मुद्दामा भने ट्रम्प जेल जानसक्ने अनुमान धेरै अमेरिकीले गरेका थिए । यही पेचिलो परिस्थिति उत्पन्न भएपछि दक्षिणपन्थी रिपब्लिक खेमामा  सन्नाटा र क्रोध दुबै छाएको थियो । ट्रम्पका केही कट्टर समर्थकले त उनलाई जेल पठाए न्यायाधीशको ज्यान लिने धम्की समेत दिएका थिए । 

यसरी वातावरण संगीन बन्दै गएको बेला काउन्टी कोर्ट र ट्रम्पका वकीलबीच जमानतमा छुटाउने सहमति भएपछि भने तनावको पारो बिस्तारै ओर्लन थालेको छ । तर, यसपटक कडा शर्तको पनि पालना गर्नुपर्ने भएकाले ट्म्प ती शर्त उलंघन गरेर कुनै पनि बेला पक्राउ पर्ने सम्भावना भने जिवितै छ ।

यसैबीच धरौटीमा छुट्ने सहमतिप्रति रूष्ट ट्रम्पले उनको आफ्नै सामाजिक प्लेटफर्म सोसल ट्रुथमा एक स्टाटस पोष्ट गरेका छन् । उनले आफूलाई अभियोग लगाउने अभियोजनकर्ता फानी विलिसलाई वामपन्थी कार्यकर्ता भन्दै लेखेका छन्, ' के तपाई विश्वास गर्न सक्नुहुन्छ? म बिहीबार एक कट्टरपन्थी वामपन्थी जिल्ला अधिवक्ता, फानी विलिसले लगाएको अभियोगमा गिरफ्तारी दिन एटलान्टा, जर्जिया जाँदैछु ।'

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरूद्धको यो चौथो फौजदारी अभियोग हो । यस्तो अभियोग लाग्ने अमेरिकी बहालवाला र पूर्वराष्ट्रपतिमा ट्रम्प पहिलो र एक मात्र राष्ट्रपति हुन् । 

आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्प रिपब्लिकन उम्मेद्वारका आकांक्षी हुन् । १२ जना रिपब्लिकन आकांक्षीको भीँडमा ट्रम्प नै सबैभन्दा अगाडि छन् । दक्षीणपन्थी रिपब्लिकनहरूको अपार समर्थन पाएका उनी खासगरी मध्यमवर्गीय, अशिक्षित गोराहरूको आदर्श भएका छन् । ४० देखि ६० वर्ष उमेर समूहका दक्षिणपन्थी गोराहरू अरू रङका आप्रवासी आएर आफ्नो भाग खोसेको भनेर रूष्ट छन् । ट्रम्प राष्ट्रपति भए आफ्ना सुदिन फर्कनेमा उनीहरू आशावादी छन् । 

प्रकाशित मिति: : 2023-08-22 07:20:00

प्रतिकृया दिनुहोस्