संस्कृत विश्वविद्यालयमा ताला: अखिल क्रान्तिकारीको विवाद छताछुल्ल

File Photo
File Photo

नेपाल संस्कृत विश्वविद्यालयमा एक महिना लगाइएको ताला खुलेको हप्तादिन नहुँदै पुनः लाताबन्दी भएको छ। विद्यार्थी संगठनको नाममा संस्कृत विश्वविद्यालयमा पटक–पटक तालाबन्दी गर्दै आइरहेका विद्यार्थीले फेरि तालाबन्दी गरेका छन्।

नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालय सेवा आयोगले सञ्चालन गर्न लागेको परीक्षामा प्रश्न उठाउँदै असार ९ गतेदेखि तालाबन्दी गरेको थियो। सेवा आयोगले लिन लागेको परीक्षा लोक सेवा आयागलाई दिने सहमति भएपछि नेविसंघले असार ३१ गते सेवा आयोग र डिनको कार्यकक्षको ताला खोलेको थियो।

तर उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रनिकट अनेरास्वयु (क्रान्तिकारी)ले साउन ४ गतेदखि सेवा आयोग र केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ।

यद्यपि, विभिन्न विद्यार्थी संगठनले केही समयअघि शिक्षामन्त्रीलाई भेटर विद्यालय, विश्वविद्यालयमा तालाबन्दी नगर्ने प्रतिबद्धता जनाएका थिए।

उक्त प्रतिबद्धतालाई भाडमा हाल्दै संस्कृत विश्वविद्यालयका अध्यक्ष (माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल) रहेकै पार्टीको विद्यार्थी संगठनले तालाबन्दी गरेको छ। सेवा आयोग हुँदाहुँदै लोक सेवाले परीक्षा सञ्चालन गर्न नहुने भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो।

अखिल क्रान्तिकारीले सेवा आयोगले खुलाएको उपप्राध्यापक तथा कर्मचारीहरुको छनोटका लागि निर्धारण गरिएको परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको समेत आरोप लगाएको छ।

तालाबन्दीका विषयमा बुझ्न खोज्दा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सम्पर्कमा आउन मानिनन्।

यसैबीच अखिल क्रान्तिकारीको विवाद छताछुल्ल भएको छ। संस्कृत विश्वविद्यालयमा तालाबन्दीका विषयमा अखिल क्रान्तिकारीबाट तीन वटा विज्ञप्ति जारी भएको छ। जसमा एक पक्षले तालाबन्दी गरिएको जानकारी दिएको छ भने अर्को पक्षले अखिल क्रान्तिकारीले तालाबन्दी नगरेको बताएको छ।

अखिल क्रान्तिकारीका अध्यक्ष हरी न्यौपानेले जारी गरेको विज्ञप्तिमा अखिल क्रान्तिकारीको नाम जोडेर संगठनको बदनाम गराउन तालाबन्दी गरिएको भन्दै उक्त तालाबन्दीमा अखिल क्रान्तिकारीको कुनै संलग्नता नरहेको जनाइएको छ।

प्रकाशित मिति: : 2023-08-23 11:06:00

प्रतिकृया दिनुहोस्