अमेरिकी सरकारले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना लिन रोक लगाएको छ। यसबाट हार्वर्डबाट डिग्री लिने संसारभरका हजरौंको सपनामाथि आघात पुगेको छ।
देशको आन्तरिक सुरक्षामा खलल पुगेको भन्दै ट्रम्प प्रशासनले अनिश्चित समयका लागि उक्त विश्वविद्यालयमा नयाँ भर्ना गर्न रोक लगाएको हो।
अमेरिकाका गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले सामाजिक सञ्जालमार्फत ट्रम्प प्रशासनको यस्तो घोषणाबारे जानकारी दिएकी हुन्।
‘अन्तर्राष्ट्रिय विद्यार्थीहरूले देशको आन्तरिक कानुनलाई पालना गरेको देखिएन। त्यस कारण अबका दिनदेखि हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना रद्द गरिएको छ’ उनले लेखेकी छिन्।
उनका अनुसार हार्वर्ड विश्वविद्यालयमात्रै नभएर यो अमेरिकामा रहेका सबै विश्वविद्यालयका लागि एक चेतावनी पनि हो।
ट्रम्प प्रशासनको यो कदमलाई विश्वविद्यालयले भने ‘गैरकानुनी’ भनेको छ।
‘हामी आफ्ना अन्तर्राष्ट्रिय विद्यार्थी तथा विद्वानहरूलाई हाम्रो विश्वविद्यालयमा भर्ना लिने हाम्रो संकल्पमा दृढ छौं’ विश्वविद्यालयले भनेको छ।
हार्वर्डले विश्वविद्यालयको शैक्षिक र अनुसन्धानात्मक अभियानका लागि ट्रम्प प्रशासनले प्रतिशोध साँधेको भन्दै विश्वस्तरीय शिक्षामा यसले गम्भिर असर पार्ने चेतावनी पनि दिएको छ।
हार्वर्ड विश्वको सबैभन्दा प्रतिष्ठित र चर्चित विश्वविद्यालय हो। सन् १६३६ मा स्थापित यो विश्वविद्यालय संसारकै सबैभन्दा पुरानो विश्वविद्यालय पनि हो। एक ऐतिहासिक, समृद्ध, उत्कृष्ट अनि अब्बल शैक्षिक पहिचान बनाएको यो विश्वविद्यालयमा अब विदेशी विद्यार्थीहरूले भर्ना हुन पाउने छैनन्।
यहाँ विश्वका लगभग १४० भन्दा बढी देशका विद्यार्थीहरूले शैक्षिक डिग्रीका लागि आवद्ध छन्। हरेक वर्षजसो विश्वका लगभग ६ हजारभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू यहाँ भर्ना हुँदै आएका छन्। यो त्यहाँ रहेको कूल विद्यार्थी संख्याको लगभग २७ प्रतिशतभन्दा धेरै हो।
यहाँ भर्ना हुने साधारण विद्यार्थीले एफ-१ भिसा प्राप्त गर्छन् भने विद्वान तथा आगन्तुक सोध र खोजकर्ताहरूलाई जे-१ भिसा दिइन्छ।
यसअघि नै ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयले अमेरिकी सरकारबाट पाउँदै आएको २ अर्ब डलर बराबरको शैक्षिक अनुदानमाथि रोक लगाइसकेका छन्।
अमेरिकाको नीति विपरीत यहाँ पढ्न भनेर अमेरिका बस्ने विद्यार्थीहरूले गैरकानुनी क्रियाकलापमा संलग्न हुने गरेको आरोप ट्रम्प प्रशासनको छ। त्यसैको खोजबिन गर्नका लागि सरकारले विश्वविद्यालयमा भएका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको चारित्रिक तथा अन्य रेकर्ड मागेको थियो। तर विश्वविद्यालयले भने सरकारका सबै आरोपहरू अस्वीकार गर्दै आएको छ।
विदेशी विद्यार्थीहरू भर्ना गर्ने अनुमति रद्द भएसँग ७२ घण्टाभित्र त्यहाँ अध्ययनरत विद्यार्थीहरू अर्को विश्वविद्यालयमा स्थानान्तर हुनुपर्नेछ वा अमेरिका छोड्नुपर्नेछ।