ब्याजदर थप बढाउने तयारीमा अमेरिकी फेड

अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले लक्षितभन्दा माथिको मुद्रास्फीतिलाई ‘दिगो रूपमा’ कम गर्न ब्याजदर बढाउन तयार रहेको बताएका छन्।

वायोमिङमा आयोजित ‘ज्याक्सन होल इकोनोमिक सिम्पोजियम’मा उनले भने, ‘यदि उपयुक्त भएमा हामी ब्याजदर बढाउन तयार छौं र मुद्रास्फीति हाम्रो उद्देश्यतर्फ दिगो रूपमा तल जाँदैछ भन्ने कुरामा हामी विश्वस्त नभएसम्म प्रतिबन्धात्मक स्तरमा नीति कायम राख्नु आवश्यक छ।’

करिब डेड वर्षको (१८ महिनाभन्दा कम) समयमा ११ पटक ब्याजदर वृद्धि भएपछि अमेरिकी महत्वपूर्ण कर्जा दर अहिले ५.२५ देखि ५.५ प्रतिशतको बीचमा रहेको छ, जुन २२ वर्षयताकै उच्च स्तर हो।

यद्यपि, ब्याज दर वृद्धिको द्रूत चक्रले मुद्रास्फीतिलाई रोक्न असफल भएको छ, जुन फेडको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यभन्दा माथि अड्केको छ।

केन्द्रीय बैंकरहरूको यस वर्षको ‘ज्याक्सन होल रिट्रीट’ले विश्वव्यापी अर्थव्यवस्थामा संरचनात्मक परिवर्तनहरूको परीक्षण गर्ने क्यान्सास सिटी फेडले एक विज्ञप्तिमा जनाएको छ।

युरोपेली केन्द्रीय बैंकका अध्यक्ष क्रिस्टीन लेगार्डले शुक्रबार अपराह्न उक्त गोष्ठीलाई सम्बोधन गर्नुहुनेछ भने बेलायत र जापानका वरिष्ठ केन्द्रीय बैंकरहरूले शनिबार समूहगत छलफलमा भाग लिनेछन्।

प्रकाशित मिति: : 2023-08-26 05:28:00

प्रतिकृया दिनुहोस्