चुकेनी जलविद्युत् आयाेजनाकाे काम अन्तिम चरणमा, दशैँसम्म बिजुली उत्पादन हुने

२०७६ जेठ १० गते सम्झाैता भएर निर्माण सुरु भएकाे ९ सय ९८ किलाेवाट क्षमताकाे चुकेनी जलविद्युत आयाेजनाबाट दशैँसम्ममा बिजुली उत्पादन हुने भएकाे छ। सम्झौता भएर साडे तीन वर्ष बितिसक्दा समेत नबनेर आश मारेकाे आयाेजनाले फेरि एकपल्ट आश पलाएकाे छ।

पछिल्लो समय फेरि चाेक, चिया चाैताराेमा जुम्ला झिलीमिली हुने भयाे भनेर छलफल चल्न थालेकाे छ। सम्झौताकाे मितिबाट १८ महिनामा सकिनुपर्ने आयाेजना साडे तीन वर्ष बितिसक्दा पनि नबनेपछि बढ्न थालेकाे निराशा फेरि आशामा बदलिन थालेकाे छ।

‘हामीले अब त छ महिनामा चुकेनी बल्छ, बिजुली अभाव हुँदैन भनिह्याैँ,’ केही दिन अगाडि आयाेजनाकाे स्थलगत अनुगमन गर्न गएका पातरासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया राेकायाले भनिन्, ‘अब भने आशा पलाएकाे छ। कछुवा गतिमा भएकाे निर्माण कार्य यतिबेला भने राम्राे भएको छ।’

जुम्लामा बिजुलीकाे माग बढ्दाे छ। झण्डै साढे तीन सय किलोमिटरकाे दूरीमा तानिएकाे लाइनका कारण चुहावट धेरै छ। यही कारणले राष्ट्रिय प्रसारण लाइन भरपर्दो बन्न सकिरहेकाे छैन। बेलाबेला बत्ती निभिरहन्छ। ‘कम्तिमा आफ्नै उत्पादन भए सहज हुन्थ्यो,’ नेपाल विद्युत प्राधिकरण जुम्ला शाखा प्रमुख नरेशदत्त रावलले भने, ‘चुकेनी जलविद्युत् आयाेजनाकाे प्रगति निराशाजनक थियाे। पछिल्लो खबरले केहीहदसम्म आश पलाएकाे छ।’

ठेकेदार कम्पनीकाे ढिलासुस्तीका कारण आशातित प्रगति हुन सकेकाे थिएन। चाैतर्फी आलोचनापछि अब निर्माण कार्य तीव्र भएकाे छ। ६/७ महिनामा बन्ला भन्न थालेबाट हालसम्म आयाेजना साडे तीन वर्षपछि बन्ने पक्का भएकाे छ।

ठेकेदार कम्पनीबाट बारम्बार पेलिनु परेकाे स्थानीय रुपा रावतले बताइन्। उनकाअनुसार ठेकेदारलाई छिटाे काम गराउन स्थानीय २५ जनाकाे समिति बनेकाे छ। हरेक दिन पालाे गरेर उनीहरु हेर्न जाँदा ठेकेदार कम्पनीले कामकाे गति बढाएकाे छ। ‘हामी काम लगाएका लगायै छाैँ,’ उनले भनिन्, ‘त्यसैकाे फलस्वरूप बिजुली बल्ने दिन नजिकिन लागेजस्ताे महसुस भएकाे छ।’

ठेकेदार कम्पनीका कारण काम ढिला हुँदा पातरासी गाउँपालिकाकाे लगानी खेर गइरहेकाे उपाध्यक्ष राेकायाकाे भनाई छ। ‘काम निकै ढिला हुँदा हाम्राे लगानीले प्रतिफल दिन सकेकाे छैन। हामीले जनशक्ति थप्नु भनेर ठेकेदारलाई बारम्बार ताकेता लगायाैँ,’ उनले भनिन्, ‘बारम्बारकाे ताकेतापछि बल्ल आशा पलाएकाे छ।’

कुल ४३ कराेडकाे आयाेजनामा ३० कराेड वैकल्पिक ऊर्जाकाे लगानी छ भने १३ कराेड पालिका र स्थानीय जनताको लगानी छ। जनताले चुकेनीखाेला सहकारी संस्थामार्फत् आफ्नाे घर जग्गाको लालपुर्जा धराैटी राखेर ६ कराेड बराबरको शेयर लगानी गरेका छन्।

‘बैंककाे ब्याज तिर्नु परिरहेकाे छ,’ पातरासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराले भने, ‘ठेकेदार कम्पनीले गरेकाे ढिलासुस्तीकाे कारण हाम्राे लगानीबाट प्रतिफल आएन। बरु ऋणकाे ब्याज तिरिरहनु पर्‍यो।’

विद्युत आयाेजनामा चुकेनीखाेला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेकाे छ। सहकारी संस्थाका २५ जनाकाे घर जग्गाकाे लालपुर्जा बैंकमा धराैटी राखिएकाे स्थानीय वीरबहादुर राेकायाले बताए। उनले भने, ‘हामी ऋणमा डुबिराखेका छाैँ। काम ढिलाे हुन लाग्याे। त्यही भएर चिन्ता लागेकाे छ।’

पातरासी गाउँपालिका वडा नम्बर ३ का अध्यक्षले ठेकेदारले ढिला गर्दा गाउँलेलाई नाेक्सान बताए। 'हामीले बैंकबाट ६ कराेड लाेन लिएका छाैँ,’ उनले भने, ‘अझै पनि ठेकेदारले काम गर्नलाई विश्वासको वातावरण बनिरहेको छैन।’

गाउँपालिका अध्यक्ष बाेहाेरा आयाेजना चाँडाे सम्पन्न गराउन हर तहकाे काेसिस गरिरहेका छन्। उनी कहिले ठेकेदारलाई ताकेता लगाउने काम गर्छन् भने कहिले जिल्लाबाट जिम्मेवार व्यक्तिलाई लिएर अनुगमन गराउँछन्। केही दिनपछि प्रदेशसभा सदस्य देवेन्द्र शाहीलाई फेरि अनुगमन गर्न लिन लागेकाे उनले बताए।

चुकेनी जलविद्युत आयाेजना निर्माणकाे ठेक्का फेवा कन्स्ट्रक्सन प्रा.लि. पोखराले लिएकाे थियाे। उसले स्थानीयस्तरमा मेगाहाइड्राे एण्ड इन्जिनियरिङमार्फत् काम गरिरहेको छ।

मेघाका प्रबन्धक चन्द्र भण्डारीकाअनुसार सुरुकाे दुई वर्ष काेभिडका कारण काम गर्न सक्ने वातावरण बनेन। ‘यतिबेला जनशक्ति थपेर पनि काम गरिरहेका छाैँ। क्यानल र पावर हवसकाे काम पूरा भइसकेकाे छ। दशैँसम्ममा सबै काम सकिएर बत्ति बल्छ।’

प्रकाशित मिति: : 2023-08-30 11:11:00

प्रतिकृया दिनुहोस्