लुम्बिनी एमाले: विष्णु पौडेल र शंकर पोखरेलकाे छुट्टाछुट्टै गुट

पोलिटब्युरो सदस्य नै उत्रिए मैदानमा

नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नजिकिँदैगर्दा दिनहुँ गुटका भेला हुन थालेका छन्।

पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको टिमको नाममा नेताहरूले छुट्टा छुट्टै भेला र बैठकको आयोजना गरेका छन्।

महासचिव पोखरेल निकटका नेताहरूले मंगलबार आरम्भ रिसोर्टमा भेला गरेको भोलिपल्टै बुधबार उपाध्यक्ष पौडेलनिकटका नेताहरूले ड्रिमल्याण्ड होटेलमा भेलाको आयोजना गरेका छन्।

भेलाले वर्तमान अध्यक्ष राधाकृष्ण कँडेललाई अध्यक्ष बनाउनका लागि सबैखालका प्रयास गर्ने निर्णय गरेको बुझिएको छ।

पौडेल पक्षीय नेताहरूले क्षेत्र विभाजन गतिविधिअघि बढाउने, जिल्ला जिल्लामा आफू पक्षीय नेताहरूलाई फोन गर्ने, पाेखरेल पक्षका नेताहरूका बीचमा अन्तरविरोध सिर्जना गरेर आफ्नो पक्षमा माहोल बनाउनेसम्मका निर्णय गरेको भेलामा सहभागी एक नेताले बताएका छन्। 

पोलिटब्यूरो सदस्य लिला गिरीको नेतृत्वमा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, दधिराम सुवेदी, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्यलगायतका नेताहरू सहभागी भेलाले आज बिहीबार प्रदेशका अन्य जिल्लामा पनि सोही प्रकृतिका भेला आयोजना गर्ने तयारी गरेको ती नेताले बताएका छन्।

रुपन्देहीमा भेलाको आयोजना गर्दा कुरा खुल्ने र आफूहरूलाई गुटबन्दीको आरोप लाग्ने हुँदा जिल्ला जिल्लामा भेला गर्ने निष्कर्षमा आफूहरू पुगेको उनको भनाइ छ।

यसपूर्व मंगलबार आरम्भ रिसोर्टमा भएको महासचिव पोखरेल निकटका नेताहरूको भेलाले केन्द्रीय सदस्य रिजाललाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको बुझिएको छ।

लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय भएर लागेका रिजालको नेतृत्वमा प्रदेश कमिटी बनाउन प्रयत्न गर्ने र यसो हुन नसकेमा प्रतिनिधिहरूका बीचमा जाने विषयमा छलफल भएकोे भेलामा सहभागी एक नेताले जनाएका छन्।



लुम्बिनी एमाले: शंकर पोखरेल गुटको छुट्टै भेला

एमाले लुम्बिनी अधिवेशनः पौडेलको साथ कँडेललाई, पोखरेलको साथ रिजाललाई

 

प्रकाशित मिति: : 2023-08-31 07:35:00

प्रतिकृया दिनुहोस्