अमेरिकी प्रथम महिला पुनःकोरोना सङ्क्रमित

अमेरिकी प्रथम महिला जिल बाइडेन पुनःकोविड–१९ बाट सङ्क्रमित भएकी छन्। नियमित स्वास्थ्य परीक्षणका क्रममा सोमबार उनी कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको हो। राष्ट्रपति जो बाइडेनको प्रयोगशाला परीक्षण प्रतिवेदन भने नकारात्मक आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

बहत्तर वर्षीया प्रथम महिलालाई कोरोनाका सामान्य लक्षणमात्र देखिएको जनाउँदै राष्ट्रपतिको कार्यालयले उनीडेलावेयरको रेहोबोथ समुद्री किनारको घरमा बस्नुहुनेछ। एक वर्ष अघि पनि प्रथम महिला बाइडेनलाई कोभिड सङ्क्रमण भएको थियो। कोभिड परीक्षणलाई नियमितरूपमा जारी राख्ने र लक्षणहरूको निगरानी गरिने राष्ट्रपतिको कार्यालयले बताएको छ।

पछिल्ला केही साता यता संयुक्त राज्य अमेरिकामा कोरोना सङ्क्रमण बढेको छभने बिरामीको अस्पताल भर्नादरमा पनि वृद्धि भएको छ।

यसैबीच एनबिसी न्युजले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दैै देशमा फेरि कोभिडको अर्को लहर आएको सङ्केत गरेको छ। बितेका दुई सातामा औसत दैनिक १० हजार पाँच जना सङ्क्रमित अस्पताल आएका तथा एक हजार तीन सय ९७ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेको छ।

कोभिड–१९ बाट दैनिकरुपमा पाँच सय सात जना बालबालिका पनि पीडित भइरहेका छन्। अमेरिकी अधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाउन सर्वसाधारणमा आग्रह पनि गरेका छन्।

प्रकाशित मिति: : 2023-09-06 05:59:00

प्रतिकृया दिनुहोस्