दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउन समस्या

भोजपुरको दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या हुने गरेको छ। दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेको छ। सर्पदंशको समयमै उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन्। 

वर्षात्ले ग्रामीण भेगका अधिकांश सडक बन्द रहेकाले मानिसको दैनिक जनजीवन कष्टकर बनेको छ। सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा नहुँदा समयमा बाहिरका अस्पतालमा लैजान समस्या हुने गरेको स्थानीय बताउँछन्।

स्टेचर तथा डोकोमा बोकेर बिरामीलाई अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता हुँदा उपचार नपाएर ज्यान जाने अवस्था छ। सर्पदंशको उपचारलाई सहज बनाउनुपर्ने टेम्केमैयुङ गाउँपालिकाका स्थानीयवासी मानबहादुर विष्टले बताए।

'समयमा उपचार नपाउँदा सर्पको डसाइबाट अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ,' उनले भने, 'खेतबारीमा काम गर्नैपर्‍यो। काम गर्ने क्रममा ख्याल गर्दा पनि सर्पले डस्ने सम्भावना बढी हुन्छ। सर्पले डसेको अवस्थामा उपचार पाउन मुस्किल छ। हाम्रो यो ठाउँबाट सामान्य स्वास्थ्य सेवा लिनका लागि तीनदेखि चार घन्टा हिँडेर स्वास्थ्यचौकी जानुपर्ने अवस्था छ। जिल्ला अस्पताल पुग्न त झनै समस्या छ। सर्पको डसाइ तथा अन्य आकस्मिक घटना हुँदा स्वास्थ्योपचार नपाएरै ज्यान गुमाउनुपर्ने अवस्था छ।'

यो समयमा जिल्लामा सर्पदंशका बिरामी पनि बढ्ने गरेका छन्। तर, सर्पको डसाइको उपचार पाउन भने स्थानीयलाई सास्ती छ। प्रायः यस्ता घटना ग्रामीण भेगका गाउँघरमा बढी हुने गरेका छन्।

सर्पदंश उपचारका लागि राज्यले ध्यान दिन आवश्यक रहेको स्थानीय हरिबहादुर लम्सालले बताए  । सर्पले डसेपछि मानिस धामीझाँक्रीको खोजीमा समय बिताउने गरेकाले धेरैको ज्यान जाने गरेको उनले बताए। 

सर्पको डसाइको सामान्य उपचार मात्र गर्न सकिने जिल्ला अस्पताल भोजपुरले जनाएको छ। धेरै विषालु पर्सले टोकेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने बाहिर नै सिफारिस गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ। 

गर्मी बढेसँगै सर्प आफ्नो बासस्थान छाडेर बाहिर निस्कने गर्दछन्।

प्रकाशित मिति: : 2023-09-08 09:44:00

प्रतिकृया दिनुहोस्