कैदी मृत्यु प्रकरण: आजदेखि थुनछेक बहस सुरु

बिएल संवाददाता

सङ्खुवासभा
File Photo
File Photo

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।

हत्या प्रकरणमा जोडिएका १५ अभियुक्तसँग मङ्गलबार बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिए। कैदी हत्या प्रकरणमा सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइएको छ।

जिल्ला न्यायाधीश टेकनाथ गौतमको इजलासमा थुकछेक बहस भइरहेको स्रेस्तेदार केसीले बताए। झन्डै १२ कानुन व्यवसायीले बहस गर्ने उनले जानकारी दिए। दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले निर्णय लिनेछ।

कैदी हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षागार्ड दमनसिंह राई, हबल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षागार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।

त्यस्तै उक्त घटनामा कारागारमा कैद भुक्तान गरिरहेका आठ जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको छ। चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो।

भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर सुरुमा उनीहरूले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरामा देखिएको जनाइएको छ। बाहिर कुटेर दुवै जनालाई कारागारभित्र छिराइएको थियो। गत साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी तथा केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2023-09-13 14:15:00

प्रतिकृया दिनुहोस्