अमेरिकी राष्ट्रपति बाइडेनद्वारा राष्ट्रसंघको महासभालाई सम्बोधन

प्रदीप भट्टराई

न्युयोर्क, अमेरिका

अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेका छन्। 

राष्ट्रसंघको मुख्यालय न्युयोर्कको स्थानिय समयअनुसार मंगलबार विहान उनले महासभालाई सम्बोधन गरेका हुन्। 

उनले आफ्नो सम्बोधन मूलत: दुई विषयमा केन्द्रित गरे, युक्रेन र जलबायु। उनले युक्रेनको सार्वभौमिकताको रक्षाका लागि अमेरिकाको अटल समर्थन रहने बताउँदै विश्व थाकेर रसियालाई बिना परिणाम युक्रेनमा क्रूरता गर्न अनुमति नदिने बताए। उनले रुसलाई जवाफदेही बनाएर भविष्यमा हुने आक्रमणलाई रोक्ने कार्यमा एकजुट हुन विश्व समुदायलाई आह्वान गरे।

उनले जलवायु एक गम्भीर समस्याका रूपमा देखिएको बताउँदै यसमा सहकार्यका लागि सबैलाई आव्हान गरे। उनले यो समस्यासँग एक्लैले जुधेर नहुने बताउँदै सबैले साझा प्रतिवद्धताका साथ जुध्नुपर्ने बताए। उनले जलवायुसँग सम्बन्धित विश्वका केही जल्दावल्दा समस्याहरूको उल्लेख गर्दै यी घटनाहरूले जीवाश्म ईन्धन निर्भरता कम गर्न विश्वव्यापी रुपमा तत्काल कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिए।

उनले कुनै पनि राष्ट्रले आजको चुनौतीलाई एक्लै सामना गर्न नसक्ने बताउदै अगाडि भने। 'अमेरिका सबै मानिसहरूका लागि अझ सुरक्षित, थप समृद्ध, अधिक समानतापूर्ण संसार खोज्छ, किनभने हामीलाई थाहा छ हाम्रो भविष्य तपाईंसँग जोडिएको छ।’

अमेरिकी राष्ट्रपति संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन सोमबार न्युयोर्क आएका हुन्। मंगलबार विहान महासभालाई सम्बोधन गरेपछि उनी दिउँसो केही भेटघाटमा व्यस्त हुनेछन् भने साँंझ महासभामा सहभागी हुन आएका विश्वका सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा स्वागत समारोहको आयोजना गर्नेछन्। 

उनी बुधबार वासिङ्टन डीसी फर्कने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ।

प्रकाशित मिति: : 2023-09-19 22:17:00

प्रतिकृया दिनुहोस्