नेपाल औषधि लिमिटेड र काठमाडौं महानगरबीच सम्झौता

काठमाडौं महानगरको ‘सुलभ फार्मेसी’मा नेपाल औषधि लिमिटेडका उत्पादन (भिडियाेसहित)

नेपाल औषधि लिमिटेड र काठमाडौं महानगरपालिकाबीच औषधि उत्पादन गर्ने सम्झौता भएको छ। 

गत मंगलबार औषधि उत्पादनलगायत आपसी सहकार्य गर्ने विषयमा लिमिटेड र महानगरबीच सम्झदारी पत्रमा हस्ताक्षर भएको हो। 

उक्त सम्झौताअनुसार अब काठमाडौं महानगरका लागि लिमिटेडले औषधि उत्पादन गर्ने कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले बताए।

‘कम्पनीले महानगरलाई खाली जग्गामा फार्मेसी बनाउन दिएबापत महानगरले अब लिमिटेडबाट औषधि खरिद गर्नेछ। हामी आपसी समझदारी गरेका हौं। यो सम्झौताले कम्पनी र महानगरलाई नै टेवा पुर्‍याउने विश्वास राखेका छौं’, उनले बताए। 

काठमाडाैं महानगरले बनाउन खाेजेकाे ‘सुलभ फार्मेसी’ काे एउटा शाखा  बबरमहलमा निर्माण हुनेछ। त्याेसँगै नेपाल औषधि लिमिटेडकाे उत्पादन पनि बढ्ने भएकाे छ।

‘अहिले पनि कम्पनीले उत्पादन गरिरहेको छ। तर काठमाडौं महानगरसँगको सम्झौताले औषधि उत्पादन झनै बढ्ने छ’, उनले भने, ‘अब, सरकारको बजेट सरकारमा नै रहनेछ।’

कुनैबेला सययथरि औषधि बनाएर चर्चा कमाएको कम्पनी अब पुरानै लयमा फर्किने भएको छ। 

अहिले कम्पनीले औषधि उत्पादनको संख्यामा पनि बढाइरहेको छ। 

‘कम्पनीमा उत्पादन भएको औषधिको माग बढिरहेको छ। कम्पनीमा बनाइएका औषधि धरान पुगिसकेको छ’, सातै वटा प्रदेशमा कम्पनी बजारीकरण गरिरहेको बताउँदै उनले भने, ‘कम्पनीप्रति सबै जना सकारात्मक हुनुहुन्छ।’

त्यसैगरी सरकारले कम्पनीलाई बनाउन दिएको २० प्रकारका औषधिहरू पनि उत्पादन हुने प्रक्रियामा रहेको उनले बताए। त्यसमध्ये तीन किसिमका औषधि बन्ने तयारीमा छ।

‘सरकारले बनाउन दिएकाे २० किसिमका औषधि बन्न समय लाग्छ। त्यसको लागि बजेट चाहिन्छ तर अहिलेसम्म कम्पनीले बजेट पाएको छैन’, उनले भने, ‘तर आर्थिक वर्षसम्म औषधि उत्पादन हुनेछ। २० प्रकारका औषधि उत्पादन नभएपनि १० वटा हुनेछ।’

नेपाल औषधि लिमिटेड सरकारी भएको कारण कम्पनीले व्यापार मात्र नभई जनताहरूको स्वास्थ्यलाई पनि ध्यानमा राखेकाे उनी बताउँछन्। सोहीअनुसार कम्पनीले गुणस्तरीय औषधिलाई सस्तो मूल्यमा बिक्री गरिरहेको छ। 

‘यदी कुनैपनि औषधि कम्पनीले औषधि लिमिटेडमा उत्पादन भएका औषधिको मूल्यभन्दा सस्तोमा बेचिरहेको छ भने त्यो औषधिमा गुणस्तरीयको प्रश्न उठ्न सक्छ’,बिएल नेपाली सेवासँग उनले भने, ‘अरु कम्पनीले भन्दा सरकारी कम्पनीले औषधि सस्तोमा बिक्री गर्छ।’ 

नेपाल औषधि लिमिटेडमा उत्पादन गरिएको औषधि गुणस्तरीय छ। त्यहीकारण अब महानगरले सञ्चालन गर्न लागेकाे ‘सुलभ फार्मेसी’का लागि पनि नेपाल औषधि लिमिटेडले नै औषधि उत्पादन गर्नेछ।

महानगरले किन सञ्चालन गर्दैछ ‘सुलभ फामेर्सी’?

सर्वसाधारण उपभोक्ता तथा बिरामीहरूलाई सस्तो मूल्यमा औषधी उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन हुन लागेको हाे, सुलभ फामेर्सी। 

दैनिकजसो औषधि प्रयोग गर्नुपर्ने व्यक्तिहरूलाई मध्यनजर गर्दै महानगरले सुलभ फार्मेसीको स्थापना गर्न खाेजेकाे काठमाडौं महानगर स्वास्थ्य विभागका महाशाखा प्रमुख सजिना महर्जनले बताइन्। 

उनका अनुसार सुलभ फार्मेसीमा बजारका फार्मेसीहरूमाभन्दा केही सस्तो मूल्यमा औषधि पाइनेछ। साेहीकारण फार्मेसीकाे नाम सुलभ राखिएकाे हाे। 

‘स्वास्थ्य विज्ञहरूसँग सल्लाह लिएरै महानगरले सुलभ फार्मेसी सञ्चालन गर्न लागेको हो। यो फार्मेसीमा सबै किसिमका औषधि पाइँदैन तर अत्यावश्यक औषधिको कमी हुँदैन’, सुलभ फार्मेसीले सस्ताेमा बिक्री गरेता पनि औषधि गुणस्तरीय रहने उनले बताइन्। 

सस्तो र गुणस्तरीय औषधिलाई नागरिकहरूसम्म पुर्याउने लक्ष्य लिएको छ, महानगरले। त्यसका लागि पाँच ठाउँमा फार्मेसी स्थापना गर्ने भएको छ।  

‘हामीले एक ठाउँ पाइसकेकाे छाैं, अब चार वटा स्थान खाेजिरहेका छाैं’, उनी भन्छिन्, ‘फार्मेसी सञ्चालन गर्दा हामी चाहिने भनेकै पार्किङ क्षेत्र हाे। त्यहीअनुसार घर–जग्गा खाेजिरहेका छाैं।’

नेपाल औषधि लिमिटेडकाे क्षेत्रमा सुलभ फार्मेसी ससञ्चालन गर्नु महानगरकाे लागि फाइदाजनक रहेकाे उनका भनाइ छ। उनका अनुसार त्यहाँ पार्किकाे व्यवस्था सहज छ। 

‘महानगर र औषधि लिमिटेड सरकारसँग सम्बन्धित छ। त्यसैले एकअर्कोसँग सम्झौता गर्दा दुबै पक्षलाई नै फाइदा छ। अब कम्पनीले महानगरको लागि औषधि उत्पादन गर्छ’, उनले बताइन्। 

नागरिकहरूकाे स्वास्थ्यलाई लक्षित गर्दै सुलभ फार्मेसी स्थापना गर्ने उद्देश्य लिएको महागरले एक वर्षभित्र पाँच वटै ठाउँमा फार्मेसी सञ्चालन गर्ने उनको भनाइ छ। अहिले महानगर त्यही फार्मेसीको तयारीमा जुटिरहेको छ। 

‘सुलभ फार्मेसीमा के–के औषधि राख्ने भनेर छलफल भइरहेको छ। कार्य तालिका तयार हुँदैछ’, उनले सुनाइन्। 

बजारका फार्मेसीबाट महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता हटाउन महानगरले सहुलियत मूल्यमा औषधि उपलब्ध गराउन सुलभ फार्मेसीको योजना बनाएकाे हाे। 

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि स्वास्थ्य कार्यक्रममार्फत कुल ९२ करोड ६६ लाख ४४ हजार विनियोजन गरेको छ भने सुलभ फार्मेसी अन्तर्गत महानगरले  ६ करोड रुपैयाँ बजेट विनियोजन गरेकाे छ।


‘सरकारले लगानी गरे सरकारी कम्पनीले नै सबै औषधि उत्पादन गर्नसक्छ’

सरकारी औषधि कम्पनी टिकाउन सरकारसँगै भिडिरहेका ‘जिएम’

‘नि:शुल्क बाँड्ने औषधि सरकारी कम्पनीले नै उत्पादन गर्नसक्छ’

 

प्रकाशित मिति: : 2024-02-01 21:50:00

प्रतिकृया दिनुहोस्