प्रचण्ड र बाइडेनबीच भेट र ‘फोटो शेसन’ भएको हो, भेटवार्ता हैन

प्रदीप भट्टराई

न्युयोर्क, अमेरिका

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र उनकी कम्प्यानियन छोरी गंगा दाहालले अमेरिकी राष्ट्रपति जो बाइडन र प्रथम महिना जिल बाइडनसँग भेटवार्ता गरेको समाचार बाहिर ल्याएर एउटा झुटको खेती गरिएको छ। 

नेपालका रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई स्रोत बनाएर सरकारी सञ्चार संस्था राससले बाहिर ल्याएको यो समाचार गोयबल्स शैलीको नयाँ नमुना हो।

राससले बनाएको यो समाचारलाई नेपालका सबैजसो सञ्चारमाध्यमले विभिन्न शीर्षक दिएर समाचार बनाए। जे  शीर्षकमा समाचार बनाए पनि त्यसको आशय नेपालका प्रधानमन्त्री प्रचण्ड र उनकी कम्प्यानियन गंगाले अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनसँग भेटवार्ता गरेको भन्ने थियो। अझ, समाचारमा भेटवार्तामा दुईपक्षीय सम्बन्धलाई उचाईमा पुर्याउने बारेमा कुरासमेत भएको दाबी गरिएको छ।

वास्तवमा उनीहरूबीच एउटा भेटघाट भएको हो। पालो पर्खेर भेट्ने, हात मिलाउने र तस्बिर खिच्ने भएको यति नै हो। यहीबीचमा बढीमा 'हेल्लो हाय' सम्म भयो होला। उमेरले बूढा र बिर्सने रोग लागेका अमेरिकी राष्ट्रपति बाइडनले प्रचण्ड र उनकी कम्प्यानियन कुन देशका हुन् भन्ने पनि हेक्का नराखेका हुन सक्छन्।

त्यसैले त्यो दाबी गरिएअनुसार कुनै भेटवार्ता नै हैन। परम्परा के हो भने  संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन आउने राष्ट्रप्रमुख र सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपति र प्रथम महिलाले स्वागत समारोहको आयोजना गर्छन्। त्यस क्रममा अमेरिकी राष्ट्रपतिले सबैसँग हात मिलाएर तस्बिर खिचाउँछन्। त्यो तस्बिर ह्वाइट हाउसका फोटोग्राफरले मात्र खिचेका हुन्छन्।

त्यो तस्बिर सम्बन्धित देशका सरकार वा राष्ट्रप्रमुखलाई ह्वाइट हाउसले उपलव्ध गराउँछ। त्यसपछि, त्यो तस्बिरलाई ती  सरकार वा राष्ट्रप्रमुखले महत्वका साथ सार्वजनिक गराउँछन् 

यसपटक पनि भएको त्यही नै हो। अमेरिकी राष्ट्रपति बाइडेन र प्रथम महिलाले नेपालका सरकार प्रमुख प्रचण्ड र उनकी कम्प्यानियन गंगासँग तस्बिर खिचेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र उनकी कम्प्यानियन छोरी गंगा दाहालले अमेरिकी राष्ट्रपति जो बाइडन र प्रथम महिला जिल बाइडनसँग भेटवार्ता गरेको समाचार बाहिर ल्याएर एउटा झुटको खेती गरिएको छ। एक सनातनी भेट र फोटो सेसनलाई भेटवार्ता  भनेर सरकारी सञ्चार संस्था राससमार्फत् समाचार बनाइनु गोयबल्स शैलीको एक भद्दा नमुना हो।

यही तस्बिरका साथ समाचार बन्यो, प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता। यो भेटघाट मात्र हो, भेटवार्ता हैन।

यसपटक राष्ट्र संघको महासभामा सहभागी हुन आएका दुई राष्ट्रपतिसँग मात्र अमेरिकी राष्ट्रपति बाइडनले भेटवार्ता गरेका छन् , युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र टर्कीका राष्ट्रपति तथ्यय एर्दोआनासँग मात्र भेटवार्ता गरेका थिए।

अमेरिकी राष्ट्रपतिले भेटवार्ता गरेको समाचार ह्वाइट हाउसले प्रेस नोटमात्र सार्वजनिक गर्छ। राष्ट्रसंघको ७८औं महासभाको क्रममा  यी दुई राष्ट्रपतिसँग मात्र भेटेको प्रेस नोट ह्वाइट हाउसले  जारी गरेको छ।

यस तथ्यले पनि हात मिलाउने र फोटो सेसन गर्ने यस कार्यलाई भेटवार्ता भन्न सकिन्न।

यसरी एउटा प्रोटोकल भेटघाट र फोटो शेसनलाई भेटवार्ता भनेर दिउँसै रात पार्ने दुस्कर्म राससको दुरूपयोग गर्दै  प्रधानमन्त्री प्रचण्डको किचेन क्याविनेटले गरेको छ। एक किसिमले भन्ने हो भने यो जनताको सुसूचित हुने अधिकारमाथिको खेलवाड नै हो।

प्रकाशित मिति: : 2023-09-23 08:40:00

प्रतिकृया दिनुहोस्