वीरेन्द्रप्रसाद महताे वन तथा वातावरण मन्त्री नियुक्त भएकाे एकहप्ता पुग्दैथियाे। वन र वातावरण बिटमा कलम चलाउने एकजना पत्रकारले ९८५१३३... नम्बरबाट फाेन गरे।
मन्त्रालयका सह–सचिवबारे हिमचिम बढाउँदैआएका ती पत्रकारले कर्मचारीको निजी र व्यक्तिगत कुरा टेलिफाेनमा सुनाए। पत्रकारकाे कुरा सुनेपछि मन्त्री क्षणभरमै प्रभावित भए। भेट्ने समय तय भयो– मन्त्रीको च्याम्बरमा।
हिमचिम बाक्लिँदैजाँदा पत्रकारले आफ्नो निजी लगानीमा एउटा अनलाइन मिडिया सञ्चालित रहेको र वार्षिक प्रचारप्रसार गरिदिएबापत केही लाख रुपैयाँ दिनुपर्ने सर्त राखे।
केही कर्मचारीहरूको निजी कुरा सुनाउँदै उनले पैसा कर्मचारीहरूले नै जुटाइदिन सक्ने जुक्ती मन्त्रीलाई सुनाए। डकुमेन्ट्री बनाउन दिएर भएर पनि त्यति पैसा दिन सकिने भन्दै उनले मन्त्रीलाई भने।
वन मन्त्रीले आफू त्यस्तो गर्न नसक्ने भन्दै जङ्गिए। मन्त्रीले आफूले नसक्ने बताए। ती पत्रकार रिसले चुर भए। अति भएपछि मन्त्रीले आफ्नो सहयोगीमार्फत् ती पत्रकारलाई च्याम्बरबाट नै घोक्रेठ्याक लगाएर लखेटे।
त्यसपछि ती पत्रकारले मन्त्री महतोविरुद्ध नियोजित रुपमा आफ्नो निजी अनलाइनमा समाचार लेख्न थाले। हुँदै नभएको स्रोतको हवाला राख्दै उनले प्रयोजित रुपमा समाचार लेख्दै आए। मन्त्रालयका कर्मचारी र त्यस क्षेत्रमा आबद्ध व्यक्तिहरूको फेसबुक म्यासेन्जरमा समाचारको लिंक पठाउन थाले। कसैले चासो देखाएनन्।
कतिसम्म भने केही व्यक्ति र पूर्वकर्मचारीहरूलाई उचालेर उनले लेखसमेत लेख्न लगाए। केही अन्तर्राष्ट्रिय संस्थाहका नेपाल प्रतिनिधिको म्यासेन्जरमा लिंक पठाउन लगाएर फेसबुकमा सेयर गर्न लगाए।
मन्त्रीले कुनै चासो नदेखाएपछि एक हप्ताअगाडि ती पत्रकारले मन्त्रीका सहयोगीलाई फोन गर्दै समाचार रोक्ने हो भने दुबईमा हुने कोपमा सहभागी गराउन प्रस्ताव पठाए। कोपमा सहभागी गराउने र पैसा उपलब्ध गराइदिए समाचार रोकिदिने भनेपछि मन्त्री महतोले पत्रकार नै हो कि पत्रुकार हो भनेर आफ्नो सचिवालयका व्यक्तिहरूलाई बुझ्न पठाए।
बुझ्दै जाँदा ती पत्रकारको आवरणमा मन्त्रीलाई पैसा माग्दै हिँड्ने पत्रकार नेपालको एक सरकारी मिडियामा आबद्ध व्यक्ति भएको खुल्न आयो। सरकारी मिडियामा आबद्ध भएर निजी लगानीमा एउटा छद्मभेषी अनलाइन चलाएर सहसचिव, उपसचिव र संरक्षित क्षेत्रका प्रमुखलाई प्रभावमा पारेर डकुमेन्ट्री, भिडियो रिपोर्ट, अनलाइन, प्लेन टिकट र पैसा माग्दै कमाउ धन्दामा लागेको खुलेको छ।
ती पत्रकारले हालै काठमाडौँका केही वन तथा वातावरण बिटमा आबद्ध पत्रकारहरूलाई फोन गर्दै भेटौं भन्ने र जलवायु परिवर्तन लेखनसम्बन्धी कुनै संस्था खोलौँ भन्दै हिँडेको रहेछन्। कोपमा जानका लागि जलवायु परिवर्तनसम्बन्धी पत्रकारको समूह गठन गरेर पैसा बार्गेनिङ्ग गर्ने ती पत्रकारको योजना सुनेपछि नाम चलेका पत्रकारहरूले उनीबाट जोगिन भाग्न थालेका छन्।
मन्त्रीलाई ती पत्रकारबारे ब्रिफिङ गरेपछि उनको अनलाइन र सरकारी मिडियाको बारेमा कानुनी प्रक्रियामा जान सुझाव दिएको वन मन्त्रालयका एक सह–सचिवले बताए। उक्त घटनाका जानकार मन्त्रालयका एक सह–सचिवले भने, ‘ती पत्रकारले हामीलाई धुरुक्कै रुवाएका छन्। डकुमेन्ट्री बनाउन र विज्ञापन नदिने हो भने उनको निजी अनलाइनमा नानाभाँती लेखिदिन्छन्।’
मन्त्रालयका अर्का सहसचिवले भने, ‘बेलायतको ग्लासगो कोपमा पनि धुरुक्कै रुवाएका थिए पैसा मागेर। हामीले कताकताबाट जुटाइदिएर गएका थिए। अहिले हामीसँग भेट पनि भएको हुँदैन उनको अनलाइनमा नानाभाँती लेख्दै एक सहसचिव भनेर नाम हाल्छन् तर कोही नै छैन। अस्ती हामी सह–सचिवहरू सबै एक ठाउँमा आएर यस विषयमा चर्चा पनि गर्यौं तर त्यो पत्रुकारले हामीसबैलाई दुःख दिएको छ।’
मन्त्रीका सचिवालय ती पत्रकारविरद्ध उजुरी लिएर प्रेस काउन्सिल जाने तयारी गरेको छ। कानुनबाट जोगिनका लागि तीनले आफ्नो आबद्ध लुकाए पनि प्राप्त प्रमाणले उनी दोषी देखिने बताए।