चितवनमा ‘लक्की फिल्मी अवार्ड’ हुने

चितवनमा चलचित्र अवार्ड हुने भएको छ। ‘लक्की मिडिया हाउस’को आयोजनामा यही असोज २५ गते उक्त कार्यक्रम हुन लागेको हो। आयोजक संस्थाले जिल्लामा पहिलोपटक चलचित्र अवार्ड गर्न लागेको हो।

‘लक्की फिल्मी अवार्ड, २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा अवार्डको कार्यक्रम आयोजना गर्न लागेको हो। नेपाली सिने जगत्को संरक्षण र जगेर्ना गर्न मोफसलबाटै अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक तथा मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले जानकारी दिए।

‘चलचित्र उद्योगको प्रवर्द्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ नाराका साथ आयोजना गर्न लागिएको उक्त अवार्डमा विभिन्न १० विधामा मनोनयनको काम सम्पन्न भएको छ। दश विधामा उत्कृष्ट गायिका, गायक, सङ्गीतकार, लेखन, छायाकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र रहेका छन्। ती विधाको मनोनयन सार्वजनिक गरिएको हो।

विधाबाहेक निर्णायक, लोकपृयलगायतका विधामा अवार्ड प्रदान गरिने कार्कीले जानकारी दिए। असोज २५ गते चितवन सिनेप्लेक्स सिजी मल, भरतपुरमा विशिष्ट चलचित्रकर्मीको साथमा भव्यरुपमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

विसं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।

प्रकाशित मिति: : 2023-10-05 12:40:00

प्रतिकृया दिनुहोस्