मधेसमा गुञ्जिने भाेजपुरी र्‍यापकाे धुन विश्वभर फैलाउने चाह

वीरगञ्ज महानगरपालिका– १२ मुर्लीका १८ वर्षीय महमद आफताब शेख इन्जिनियरिङका विद्यार्थी हुन्। साथसाथै मधेसबाट प्रतिनिधित्व गर्ने र्‍यापरसमेत। सिभिल इन्जिनियरिङकाे पढाइसँगै साङ्गीतिक यात्रासँग जीवन सयर गराइरहेका उनी यी दुवै क्षेत्रमा स्पेस खाेजिरहेका छन्।

उनी परिवर्तन सम्भव छ भन्ने मान्यता राखेर आशा जगाउने गायक हुन्। देशकाे राजनीतिले व्यापक जनतामाज निराशा फैलाइरहेकाे बेला सामाजिक अभियानमार्फत् आशा जाेगाउन उनले गाउने र लेख्ने कामलाई निरन्तरता दिइरहेका छन्।

उनले आशा जाेगाउने गरी नै र ‘परिवर्तन सम्भव छ’ भन्ने नामको सामाजिक सेवामा क्रियाशील संस्था खाेलेका छन्। ‘समाजिक गतिविधि पनि मेराे रुचिकाे विषय हाे। म गीतमार्फत् परिवर्तनकाे सन्देश दिन चाहन्छु,’ उनले भने।

र्‍याप गीत आज पनि समाजले स्वीकार्न सकेकाे छैन। यस्ता गीत गाउनेहरु समाजकाे नजरमा राम्रा मानिदैनन्। त्यसैले उनले सुरु-सुरुमा गाली पनि खाए। तर, हिजाे गाली गर्नेहरु आज उनको गीत सुनेर ताली बजाउन थालेकाे छन्। यसले उनलाई सितल अनुभव दिलाइरहेकाे छ। ‘निकै राहत महसुस गरेकाे छु। गीत, साहित्यको एक लोकप्रिय विधा हो,’ उनले भने, ‘शब्द, स्वर र लयको संयोजन नै गीत हो। जुन म गाएर व्यापक मान्छेहरुमाझ पुग्न चाहन्छु।’

गाली खाँदै सुरु गरेकाे संघर्षशील सांगीतिक यात्रामा आफूलाई स्थापित गराउन सक्नु उनकाे खुबी हाे। यसकाे फलस्वरूप उनी अहिले वीरगन्जका तमाम युवाहरुमाझ लाेकप्रिय छन्।

उनी मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्छन्। उनलाई ‘अफु इंसेन’काे नामले पनि चिनिन्छ। वीरगन्जकाे गोल्डेन गेटबाट नर्सरीदेखि १० सम्मकाे अध्ययन गरेका उनी हाल वीरगन्जकाे इन्स्टिट्युट अफ टेक्नोलाेजीमा सिभिल इन्जिनीरिङमा डिप्लोमा गरिरहेका छन्।

उनी कक्षा आठदेखि लेखन र गायन क्षेत्रमा क्रियाशील छन्। पछिल्लो समय उनले गाएका गीतहरुले निकै प्रशंसा बटुलिरहेका छन्। उनकाे प्रतिभाले दर्शकहरूलाई तानिरहेकाे छ।

कक्षा आठमा हुँदादेखि लेखन र गायन विधामा उनकाे रुचि बढ्न थाल्यो। प्रायः जसो नेपाल र भारतका चर्चित र्‍यापरहरुका गीतहरू सुनेपछि उनलाई याे क्षेत्रमा आउन प्रेरणा मिल्याे।

पछिल्लो समय धेरैजसो र्‍याप गायकहरु काठमाडौँ महानगरपालिकाका प्रमुख बालेद्र साहलाई आफ्नाे आदर्श मानिरहेका छन्। पेशासमेत मिलेका उनी पनि साहबाट प्रेरित छन्। ‘उहाँको कारणले गर्दा नै मेरो र्‍याप गीतप्रति चाहना बढेको हो,’ उनले भने, ‘सुरू–सुरूमा लेख्थेँ र मनमनै गुनगुनाउँथेँ मात्रै। दुई वर्षदेखि खुलेर गाउन थालेकाे छु।’

उनी देशप्रेमी र्‍याप गाउँछन्। उनकाे मातृभाषा भाेजपुरी हाे। मातृभाषामा गाउँदा अझ बढी कम्फर्ट हुने उनकाे बुझाइ छ। साथ साथै उनी नेपाली, हिन्दी, अंग्रेजी गीतहरु पनि गाउने गर्छन्।

रचनात्मक कार्यमा उनकाे सक्रियता बढिरहेकाे छ। संगीत र कलामार्फत् सामाजिक चेतना दिने मामलामा उनी अगाडि छन्। उनका गीतहरुमध्ये एउटा ‘खुकुरी’ नेपालभरका धेरै श्रोताको मनमा गुञ्जिरहेकाे छ। हालै उनले लिङ्क स्टुडियोमा रेकर्ड गरेको गीत ‘क्रांतिकारी’ पनि दर्शकमाझ आउँदैछ।

महमद अफताब शेखको करियरको एक विशिष्ट पक्ष भनेको नेपालकाे हिपप नक्सामा मधेश हिपपको प्रतिनिधित्व गर्नु हो। उनी र्‍यापमार्फत् आफ्नो संस्कृति र समुदायको वकालत पनि गरिरहेका छन्। जसले मधेस क्षेत्रको समृद्ध सम्पदाकाे उजागर गरिरहेकाे छ।

उनलाई आदर्श व्यक्तिहरुले सहयोग पनि गरिरहेका छन्। उनले भने, ‘कपिलवस्तुका सागर कुनुवार हाल जापानमा बस्नुहुन्छ। वीरगन्जका जावेद शेख, कॉलेजका मित्र आदि मेरा सहयोगी गुरुजन हुनुहुन्छ। लेखन विधि, मीठाेपना, शब्द चयन र फ्लो आदि ज्ञान बेलाबेला उहाँहरूबाट प्राप्त भइरहेकाे छ।’

गीतमा उचित शब्द संयोजन हुनुपर्ने मान्यता राख्ने उनी प्रसिद्धि पाउने होडमा छाडा र अश्लीलता फैलाउने गीत गाउन नहुने मत राख्छन्। उनले भने, ‘र्‍याप गीतमा अश्लीलताकाे हाेड चलेपछि समाजमा राम्राे छाप छैन। त्यसैले म समाज र संस्कृतिमा आधारित गीत गाउन चाहन्छु।’

भोजपुरी र्‍याप र नेपाली र्‍याप गीतहरूको दायरा विस्तार गर्नु उनी आफ्नाे दायित्व सम्झिन्छन्। यसका लागि गायकले आफू बसिरहेकाे माटाे चिन्नुपर्ने उनकाे बुझाइ छ।

‘यसरी आफ्नाे मातृभूमि र भाषाप्रति प्रतिबद्ध हुनुमा मेराे आमा र हजुरआमाकाे देन छ,’ उनले भने, ‘यसकारण एकदिन म आफ्नो गीतबाट धेरैलाई चेतना दिन सक्नेछु भन्ने ठान्छु।’

बिस्तारै महमद अफताब शेखकाे नेपाली हिपपमा राम्राे छाप पर्दैछ। उनी चाहन्छन् सानाे देश नेपालकाे सानाे भूगोल मधेस प्रदेशबाट गुञ्जिएकाे धुन विश्व भर फैलियाेस्। उनी आफ्नाे चाहनालाई हकिकतमा बदल्न अथक मेहनत गरिरहेका छन्।

प्रकाशित मिति: : 2023-10-18 08:04:00

प्रतिकृया दिनुहोस्