विदेशमा बस्ने नेपालीको मतदाता नामावली सङ्कलन 'खाडी मुलुकबाट थालिन सक्छ'

बिबिसी

काठमाडौं

विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन खाडी मुलुकहरूबाट थालिन सक्ने निर्वाचन आयोगले बताएको छ।

यससम्बन्धी सर्वोच्च अदालतको आदेश र सरकारले नीति तथा कार्यक्रममा समेटेको प्रावधानबीच आयोगले आप्रवासी नेपालीको मतदाता नामावली सङ्कलनको दिशामा आवश्यक प्रक्रिया अघि बढाएको हो।

सो क्रममा आयोगले मतदाता नामावलीमा नाम दर्तासम्बन्धी एउटा मस्यौदा तयार पारी विदेशमा रहेका नेपालीहरूको राय तथा सुझाव मागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उनका अनुसार कार्तिक मसान्तसम्म आआफ्नो रायसुझाव आयोगलाई इमेलमार्फत्‌ उपलब्ध गराउन सकिने छ।

त्यसका निम्ति आयोगले इमेल ठेगाना ecn.namawali@election.gov.np दिएको छ।

वैदेशिक रोजगारीमा रहेका वा विभिन्न उद्देश्यले विदेशमा रही सम्बन्धित देशको स्थायी आवासीय अनुमतिपत्र वा नागरिकता प्राप्त नगरेका नेपालीहरू त्यसमा समेटिने छन्।

प्रकाशित मिति: : 2023-10-28 11:31:00

प्रतिकृया दिनुहोस्