एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चितवनले वीरगञ्ज युनाइटेड एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।
चितवनको जितमा विमल घर्तीमगर र टोरिक जेब्रीनले समान एक–एक गोल गरे। त्यस्तै वीरगञ्जका लागि भने आइकिन्स बाफुरले एक गोल फर्काए। खेलको २८औँ मिनेटमा विमलले गोल गर्दै चितवनलाई पहिलो अग्रता दिलाए।
खेलको ५५औँ मिनेटमा वीरगञ्जका आइकिन्सले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ६८औँ मिनेटमा चितवनले खेलमा पुनः अग्रता लियो। चितवनका टोरिकले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे।
यससँगै चितवनले ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित चार अङ्क जोडेको छ। वीरगन्ज भने दुवै खेलमा पराजित हुँदै अङ्कबिहीन रहेको छ।
उक्त प्रतियोगितामा भोलि दुई खेल हुँदैछन्। जसमा पहिलो खेल १ बजे झापा एफसी र पोखरा थन्डर्स भिड्ने छन्। त्यस्तै दोस्रो खेल साँझ ५ः३० बजे धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन्।