कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खेलकुद सप्ताह

'स्वास्थ्यका लागि खेलकुद' नाराका साथ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खेलकुद सप्ताह सुरु गरेको छ।

प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुबीच विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेगरी खेलकुद सप्ताह सञ्चालन गरिएको हो।

प्रतिष्ठान स्थापनाको लामो समयपछि पहिलोपल्ट सप्ताहव्यापी खेलकुद प्रतियोगिता सञ्चालन गरिएको खेलकुद सप्ताहका संयोजक लेक्चरर ओम प्रकाश काफ्लेले बताए।

'हामीले पहिलोपटक निकै उत्साहकासाथ खेलकुद सप्ताह मनाउन लागेका छाैँ,' उनले भने, 'यसले खेलकुदमा रुचि राख्नेहरुलाई उत्साह दिने र आफ्नाे स्वास्थ्य ख्याल राख्नलाई चेतना दिने विश्वास लिएका छौँ।'

खेलकुदले एकअर्कोमा पारस्परिक सम्बन्ध बढाउने काम गर्ने भएकाले प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता अर्थपूर्ण रहेको प्रतिष्ठानका रेक्टर डा. डबल सिंह धामीले बताए।

उनले भने, 'मानव जीवनका लागि खेल अनिवार्य छ। प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको फलस्वरूप देशका विभिन्न मेडिकल कलेजको टुनामेन्ट जुम्लामा गर्ने तयारीसमेत भइरहेको छ।'

प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमबाट प्रतिभा पहिचान गर्न सहयोग पुग्ने प्रतिष्ठानका निर्देशक डा. पुजन कुमार रोकायाले बताए। उनले भने, 'हप्ताभरिको खेलकुदबाट प्रतिष्ठानका विद्यार्थीको प्रतिभा देखिनेछ।'

शारीरिक रुपमा क्रियाशील हुनाले स्वस्थ्य भइने प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालयका निमित्त डिन प्रा. डा. सेशानन्द सञ्ज्यालले बताए। 'खेलकुदले मान्छेलाई तनाव मुक्त बनाउँछ भने बानी व्यवहार पनि असल बनाउँछ।'

खेलकुद कला प्रदर्शनी गर्ने माध्यम भएकाे प्रतिष्ठानका प्रकाशकीय अधिकृत द्वन्द्व बहादुर शाहीले बताए। उनले भने, 'यसले प्रतिष्ठानको गरिमा उचो बनाउने काम गर्नेछ।'

शारीरिक रुपमा स्वस्थ्य भयाे भने मानसिक र सामाजिक रुपमा पनि स्वस्थ्य भइने हुनाले खेल जरुरी रहेको प्रतिष्ठानकि नर्सिङ डाइरेक्टर सविना थापाले बताइन्।

प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा भलिबल, फुटबल, क्रिकेट, बास्केटबल, टेबलटेनिस, टक अफ वार, ब्याडमिन्टन, एथलेटिक्समा एक सय मिटर, दुई सय मिटर र चार सय मिटर दौड हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति: : 2023-12-03 15:23:00

प्रतिकृया दिनुहोस्