जुम्ला चिनाउन चन्दननाथ नगरपालिकामा पर्यटन बोर्ड गठन गरिएको छ।
भाषा, साहित्य, संस्कार, सभ्यता र संस्कृतिले भरिपूर्ण र प्राकृतिक पर्यटन, पर्यापर्यटन, धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको जुम्ला चिनाउन पर्यटन बोर्ड गठन गरिएको हो।
स्थानीय उत्पादन, स्रोत र जनशक्तिलाई परिचालन गरी बढ्दो बेरोजगारी घटाउन, जीविकोपार्जनमा सुधार ल्याउन र आर्थिक समृद्दि हाँसिल गर्न जुम्लाका लागि पर्यटन क्षेत्र पहिलो आधार हो।
जुम्लामा नेपाली भाषा साहित्यको उद्गम स्थल सिंजा, विराट दरबार, पाण्डुगुफा, गिडी दह, तातोपानीधारा, पहिलो पल्ट मार्सिधान रोपिएको गुरुफोक्टो, नेपालकै दोस्रो ठुलो स्तुपा, प्रसिद्द चन्दननाथ भैरबुवनाथ मन्दिर, नेपालकै जेठो कर्णाली प्राविधिक शिक्षालय, धिमि, चेरे चौर, पातारासी झरना, हिमाल, गुठीचौर उपत्यका, खाली पाटन, माझ पाटन, पान सय पाटन, असी पाटन ऐतिहासिक मष्टो परम्परा लगायत पर्यटन गन्तव्य र सम्भवना रहेका छन्।
त्यस्तै स्याउ, सिमी, आरु, ओखर, कोदो फापर, चिनो कागुनो लगायतको कृषि उत्पादनलाई (एग्रो टुरिजम) सँग जोडेमा उत्पादन वृद्धि र रोजगारी वृद्धि हुनेमा दुईमत छैन। आर्थिक समृद्दि, रोजगारी सृजना गर्ने प्रचुर पर्यटन सम्भावना हुँदा पनि ठोस नीति र लगानी अभावका कारण जुम्ला ओझेलमा परेको छ।
सम्भावनालाई अवसरमा बदलेर जुम्लालाई विश्व समुदायमाझ चिनाउने अभियानको सुरुवात चन्दननाथ नगरपालिकाले गरेको मेयर राजुसिंह कठायतले बताए। यो अभियानसँगै कर्णालीका ७९ वटै पालिकामा पर्यटन बोर्ड गठन गर्ने काममा चन्दननाथ पहिलो भएको छ।
पर्यटन क्षेत्रबाट जुम्लाई चिनाउन चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतको संयोजकत्वमा ११ सदस्यीय पर्यटन बोर्ड गठन गरिएको नगरपालिका प्रबक्ता तथा वडा नं ४ का वडाध्यक्ष नवराज देवकोटाले बताए। उनका अनुसार बोर्डले जिल्लाको पर्यटन प्रवर्द्धनका लागि बहस पैरवी, प्रचार प्रशासन, म्यागेजिन निर्माण लायतका काम गर्ने छ।
बोर्डको सदस्यमा उपमेयर रामदेवी खड्का, पर्यटन व्यवसायी नोर्बु लामा, सरोज शाही, तोरन सिंह कठायत, घनश्याम नगरकोटी सहित पर्यटनसँग सम्बन्धित कार्यालयहरुलाई रहेका छन्। जसमा नगरपालिकाकै वातावरण विज्ञ, डिभिजन वन कार्यालय, सामाजिक विकास कार्यालय, भौतिक पूर्वाधार कार्यालयलाई सदस्यमा राखिएको प्रवक्ता देवकोटाले जानकारी दिए। उनले भने, 'हाल धर्म संस्कृति विज्ञ मात्रै राखिएको छैन। हामी चाँडै नै सदस्य चयन गर्नेछौं।'
बोर्डले पर्यटन केन्द्रित गतिविधि गर्न चालू आवमा चन्दननाथले ५ लाख विनियोजित गरेको छ। जुम्ला चिनाउने आधारनै पर्यटन भएकोले बोर्ड गठन गरेको मेयर राजुसिंह कठायतले बताए।
'जुम्ला सम्भावना भएर पनि गरिब बन्यो। ओेझेलमा पर्यो। राज्यको उपेक्षामा सदियौंदेखि छ। पर्यटन क्षेत्रमा न्यून लगानी छ,' उनले भने, 'स्थानीयतह भौतिक विकासवादी भयौं। त्यसैले चन्दननाथले पर्यटन प्रवर्द्धनमा जोड दिएको हो।'
उपमेयर रामदेवि खड्काले कृषि, पर्यटन, सांस्कृति, भाषा साहित्यसँग पर्यटनलाई जोडेर जिल्लाको विकासमा टेवा पुर्याउन सकिने बतइन्। उनले भनिन्, 'त्यसका निम्ति नीतिगत रुपमै चन्दननाथ अघि बढेको र पर्यटनसँग महिला र यूवालाई जोडिनेछ।'
पर्यटन प्रवर्द्धनका लागि जिल्लामा कुनै पालिकाले सुरसार नगरेको अवस्थामा चन्दननाथले पर्यटन बोर्ड गठन गर्नु उदाहणीय काम भएको पर्यटन व्यवसायी नोर्बु लामाले बताए। 'ठोस नीति लगानी र संयन्त्रको अभावले जिल्लाका सम्भावना भएर पनि अपेक्षित पर्यटक आउन सकेका छैनन्,' उनले भने।
'जुम्लालाई चिनाउन र पर्यटन प्रवर्द्धन गर्न चन्दननाथ जुरमुराएको छ। बोर्डलाई सक्रिय बनाउन जरुरी छ। थुप्रै समिति गठनपछि निष्क्रिय भएका छन्। राज्यलाई नै उत्तरदायी बनाउने गरि जुम्ला पर्यटन प्रर्बद्दनका गतिविधि अघि बढाउन जरुरी छ,' लामाले थपे।