सरकारी कर्मचारी नै गर्छन् विमानस्थलबाट खुलेआम ‘मानव तस्करी’

फाइल तस्बिर: अन्नपूर्ण पाेष्ट

अध्यागमन कार्यालयले के गर्छ? सबैलाई थाहा भएकै कुरा हो– भन्सारमा हुने अवैध गतिविधि रोक्ने। नेपालमा अध्यागमन कार्यालय १४ वटा छन्। तीन वटा विमानस्थल (त्रिभुवन, पोखर र गौतमबुद्ध)मा छन्। ११ वटा विभिन्न सीमा नाकामा।

अध्यागमन कार्यालयले देश बाहिरबाट भित्रने र बाहिरीनेहरूलाई चेक/जाँच गर्ने र अवैध रुपमा आवतजावत गर्न लागेको हो भने रोक्ने।

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय भने मानव तस्करमा संलग्न छ। सीमा नाकामा रहेका अध्यागमन कार्यालयहरू अवैध काममा रहेको अघिका दिनहरूमा नआएका होइनन्।

त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालय अवैध काम मात्र होइन, मानव तस्करमा नै संलगन रहेको पुष्टि भएको छ। मंगलबार अध्यागमनका एक कर्मचारी मानव तस्करी गर्न दलालसँग पैसाको डिल गरिहेको अवस्थामा पक्राउ परे।

पक्राउ पर्ने कुनै तल्लो तहका कर्मचारी होइनन्। उनी अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का हुन्। उनी रुकुम (पश्चिम)काे सानाेभेरी गाउँपालिका– १० का हुन्। खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले २ लाख रुपैयाँसहित रंगेहात पक्राउ गर्‍याे।

उनी ट्राभल्स एजेन्सीले पठाएको २ लाख रुपैयाँ दलाल पदम लामाबाट बुझ्दै गर्दा पक्राउ परेका हुन्। ‘मानव तस्करको सेटिङ मिलाउन पदम लामाबाट २ लाख रुपैयाँ लिँदै गर्दा हामीले रंगेहात पक्राउ गरेका हौँ,’ काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंहले भने।

उनकाअनुसार खड्काले अवैध रुपमा विदेश जानेहरूको कागजपत्र मिलाउने काम गर्ने गर्थे। ‘ट्राभल्स एजेन्सीहरूले नक्कली कागजपत्र बनाएर नागरिकहरुलाई विदेश पठाउने काममा खड्काले ती कागजपत्र सदर गर्ने रहेछन्,’ सिंहले भने।

पहिलोपटक भिजिट भिसामा विदेश जान लागेकाबाट खड्काले ५५ हजार रुपैयाँ र दोस्रोपटक विदेश जान लागेकाबाट ४० हजार रुपैयाँ लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरी अनुसन्धानमा ट्राभल्स एजेन्सीहरुले एक जनालाई भिजिट भिसामा विदेश पठाए बापत दुईदेखि तीन लाखसम्म शुल्क लिने गरेका छन्। यो शुल्क खाडी मुलुकको भिजिट भिसामा जानेहरुबाट हो।

अन्य विकशित देश युके, अष्ट्रेलिया, अमेरिकातिर जानेहरुबाट भने ४० देखि ७० लाखसम्म लिने गरेको प्रहरी प्रमुख सिंहले बताए।

यद्यपि, भिजिट भिसामा विदेश जानेहरु घुम्नका लागि गएका होइनन्। मावन तस्करको जालोमा परेर उनीहरु भिजिट भिसामा विदेशमा कामका लागि जाने गरेका छन्।

सरकारले २०७२ सालदेखि खाडी मुलुकमा महिलालाई घरेलु कामदानमा जानका लागि प्रतिवन्ध लगाएको छ। सरकारको प्रतिवन्धपछि महिलाहरुलाई भिजिट भिसा बनाएर दलालहरुले खाडी पुर्‍याइरहेका छन्।

अवैध रुपमा खाडीमा काममा लाग्दा महिलाहरुले निकै जोखिमका काम गर्नु परेको तथा दुःख पाएका घटनाहरु बाहिरिरहेका छन्।

एयरलाइन्सका कर्मचारी पनि ‘मानव तस्करीमा’

मानव तस्करको जालो कतिसम्म रहेको छ भन्ने घटना एयरलाइन्सका कर्मचारीसमेत संगलग्न रहेको तथ्यबाट उदाङ्गो भएको छ। प्रहरीले अध्यागमनका कर्मचरीसँग नेपाल एयरलाइन्स्का दुई जना कर्मचारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका छैठौँ अधिकृत होम पोख्रेल र पाचौँ तहका अधिकृत अर्विन यादव रहेका छन्। एयरलाइन्सका यी कर्मचारीले दलालबाट लाखौँ रुपैयाँ बुझेको खुलेको छ।

पोख्रेलले रोलेक्स ट्राभल्सबाट लाखौँ रुपैयाँ लिएका छन्। ‘रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनालका कर्मचारी सञ्जय तामाङ र राजकिशोर शाहबाट पोख्रेलले पटक–पटक गरी १८ लाख दिएको अनुसन्धानमा देखिएको छ,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सिंहले भने।

एचआर टुर एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी र एसके आइ ट्राभल्सका सञ्चालक दिनेश ज्ञावलीले पनि यी कर्मचारीलाई पैसा दिएको खुलेको सिंहले बताए।

एयरलाइन्सका कर्मचारी कसरी मानव तस्करसँग मिले त? उनीहरुले टिकट मिलाएबापत पैसा खाने गरेको अनुसन्धानबाट खुलेको छ। भिजिट भिसामा कुनै देश जानु परेमा जाने आउने टिकट काट्नु पर्छ। त्यसको प्रमाण अध्यागमन विभागमा बुझाउनुपर्छ।

नेपाल एयरलाइन्सका यी कर्मचारीले आउने टिकट नक्कली बनाएबापत दलालबाट पैसा खाने गरेको सिंहले बताए। एयरलाइन्सका यी कर्मचारीले आउने टिकट नक्कली बनाएबापत एक जनाबाट १० देखि १५ हजार लिने गरेको खुलेको छ।

पाँच एयरलाइन्स पनि अनुसन्धानको घेरामा

मानव तस्करमा संलग्न नेपाल एयरलाइन्स मात्र होइन। अन्य एयरलाइन्स पनि संलग्न रहेको प्रहरी अनुसन्धानमा देखिएको छ। जसमा नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने पाँच वटा एयरलाइन्स मानव तस्करमा संलग्न रहेको देखिएको हो।

उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिहेको छ। प्रहरी प्रमुख सिंहले अनुसन्धान घरामा रहेको बताए। उनले भने, ‘हामीले मानव तस्करको सेटिङमा काम गरिरहेका पाँच एयरलाइन्सलाई पनि अनुसन्धानको घेरामा रहेका छौँ।’

ती कुन–कुन हुन उनले खुलाउन चाहेनन्। तर, नेपालका एयरलाइन्सले दैनिक दुई सय बढीलाई यस्तै अवैध रुपमा विदेश जानेलाई सेटिङ गरेर लगिरहेको उनको भनाइ छ।

विदेश घुम्न पठाउने एजेन्सीहरु ‘मान्छे बेच्दै’

ट्राभल्स एजेन्सीहरुको काम के हो? नेपालबाट विदेशमा घुम्न जानेलाई पठाउने, विदेशबाट घुम्न आएकालाई सहजीकरण गर्ने। तर, नेपालका सबकासब ट्राभल्स एजेन्सीहरु मानव तस्करीमा छन्।

प्रहरीले मानव तस्करी गरेको आरोपमा विभिन्न एजेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ। जसमा रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव रहेका छन्।

यस्तै एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञावली, एड्भान्स म्यानेजमेन्ट एण्ड मल्टीपल ट्रेनिङ सेन्टरका गणेश पाण्डे, वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी गरी ६ जनलाई पक्राउ गरी अनुसन्धान गरिहरको छ।

अनि प्रहरीलाई लाग्यो– मानव तस्करमा कर्मचारीको संलग्नता छ

दैनिक सयौँको संख्यामा विदेशमा घुम्नका लागि नेपालीहरु देश छाडिरहेका छन्। घुम्न जाने संख्या कति छ? प्रहरी अनुसन्धानबाट दैनिक दुई–तीन सयको संख्यामा विदेशमा घुम्नका लागि भनेर एजेन्सीहरुले नेपालीलाई विदेश पठाइरहेका छन्।

विदेशमा घुम्न गएकाहरु घुमेर स्वदेश फर्किने त कहाँ छ कहाँ? दुई शक्ति राष्ट्र रुस–युक्रेनको युद्धमा सेना हुन पो पुगिरहेका छन्। त्यो मात्र होइन। काम गर्न जाने अनुमति नभएका इराक, युके, जापानलगायत देशमा पनि नेपालीहरु पुगिरहेका छन्।

यस्ताे काम कसले गरिरहेका छ?

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई लागिरहेको थियो, मानव तस्कर ट्राभल्स एजेन्सीहरुले गरिरहेका छन्।

त्यसपछि प्रहरीले असोज १५ गतेदेखि हालसम्म एक हजार पाँच सय १३ वटा शंकास्पद डकुमेन्ट नियन्त्रणमा लियो। जसमा २४६ नक्कली भएको प्रहरीले भेटायो। नक्कली डकुमेन्ट छ, त्यसको चेकजाँच गर्ने अध्यागमन कार्यालय छ तर कसरी यति धेरै नक्कली डकुमेन्ट बनाएर नेपाली विदेश गइरहेका छन्?

प्रहरीलाई लाग्यो कर्मचारीको मिलेमत्तो पक्का छ। विदेशमा घुम्न जानका लागि कम्तिमा १२ कक्षा पास गरेको हुनुपर्छ। दुई लाख बैंकमा पैसा, भिजिट भिसा, जाने ठाउँमा होटल बुकिङ, जाने–आउने टिकट पनि हुनुपर्छ।

तर, विदेश घुम्न जानेको सबकासब डकुमेन्ट नक्कली हुँदा पनि अध्यागमन विभाग के गरिहेको छ? त्यसपछि प्रहरीको अनुसन्धान सोझियो सरकारले तस्करी रोक्न खटाएको कर्मचारीतर्फ।

‘हामीले धेरै डकुमेन्ट नक्कली भेटायौँ। अध्यागमनका अधिकृत, एयरलाइन्सका कर्मचारीले राम्रोसँग डकुमेन्ट हेरिदिएमा नक्कली कागजपत्र भएकाहरु बाहिर जान पाउँदैनथे,’ सिंह भन्छन्, ‘तर, यहाँ अध्यागमनदेखि एयरलाइन्सका कर्मचारी पनि सेटिङमा रहेको पाइयो।’

त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा दलाल, विचौलिया, कर्मचारी गरी ३२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एजेन्सीका सञ्चालक छ जना, प्रहरी एक जना, पूर्वप्रहरी एक जना, एयरलाइन्स कर्मचारी दुई जना र अन्य ११ जना रहेका छन्।

पक्राउ परेकामध्ये ९ जनामाथि सङ्गठित अपराधमा र १२ जनामाथि लिखतसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। यसअघि यसै प्रकरणमा पक्राउ परेका ८ जना भने धरौटीमा छुटेका छन्।

प्रकाशित मिति: : 2023-12-13 19:56:00

प्रतिकृया दिनुहोस्