औषधि किन्दा यी कुरामा ध्यान दिनुपर्छ (भिडियाे)

मिनु गोले

काठमाडाैं
Breaknlinks
Breaknlinks

अधिकांश मानिसले औषधि किन्दा खासै ध्यान नदिएकाे तथा आफूखुसी किनेकाे पाइन्छ। तर, त्यसाे गर्नुहुँदैन किनभने औषधिकाे सही प्रयाेगले जस्ताेसुकै राेग पनि निकाे हुन्छ भने गलत प्रयाेगले ज्यानै पनि जान सक्ने हुन सक्छ। त्यसैले औषधि किन्दा स्वयम् बिरामी र आफन्तले राम्राेसँग ध्यान दिन जरुरी छ।

पहिलाे कुरा त चिकित्सककाे परामर्शमा मात्र औषधि किन्नुपर्छ।

औषधि किन्ने बेला औषधि बनेको र म्याद सकिने मिति तथा खाने तरिका र समयबारे स्वास्थ्यकर्मीसँग राम्रोरी बुझ्नुपर्छ। औषधिकाे बनेकाे र म्याद सकिने मिति औषिधकाे पछाडिपट्टि स्पष्टसँग लेखिएकाे हुन्छ। यदि लेखिएकाे छैन भने त्यस्ताे औषधि नकिन्नुहाेस्।

औषधि घरमा जहाँ पायो त्यहाँ राख्नु हुँदैन। बिरामीले सजिलै भेट्ने गरी व्यवस्थित तरिकाले राख्नुपर्छ। र, बालबच्चाको पहुँचबाट टाढा राख्नुपर्छ। यदि बालबच्चाले औषधिलाई मिठाइँ हाे भनेर जथाभावी सेवन गरे भने उनीहरुकाे ज्यानै जानेसम्म खतरा हुन्छ।

भ्याक्सिन (खाेप) भने तापक्रम मिलाएरमात्र राख्नुपर्ने भएकाेले घरमा राख्न सम्भव छैन। त्यसैले औषधि पसलले नै उचित प्रविधिकाे प्रयाेग गरेर पसलमै वा स्टाेरमै राख्ने व्यवस्था मिलाउनुपर्छ।

त्यस्तै औषधि सेवनबारे सम्भव भएसम्म बिरामी स्वयमले नै जानकारी लिनुपर्छ। औषधि कुन समयमा खाने, कसरी खाने, औषधि खानुअगाडि खाना खानुपर्छ कि पर्दैन भन्नेबारे स्पष्टसँग बुझ्नुपर्छ।

केही-केहीले त एन्टिबायाेटिककाे प्रयाेग आफूखुसी गरेकाे पाइन्छ, त्यस्ताे गर्नु ठिक हाेइन। किनभने, एन्टिबायाेटिकले साइट इफेक्ट गर्छ। त्यसैले यसकाे जथाभावी प्रयाेग गर्नुहुँदैन। औषधी पसलहरुले पनि चिकित्सककाे प्रेस्किप्सनबिना कसैलाई औषधि दिनुहुँदैन। सरकारले पनि औषधि पसलहरुलाई नियमन र निगरानी गर्नुपर्छ।

औषधि किन्दा र प्रयाेग गर्दा के-के कुरामा ध्यान दिनुपर्छ? औषधिकाे जथाभावी प्रयाेगले कस्ताे-कस्ताे असर पर्छ?लगायत विषमा रहेर बिएलकर्मी मिनु गाेलेले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पतालका विशेषज्ञ डा.शेरबहादुर पुनसँग कुराकानी गरेकी छन्।

प्रस्तुत छ, डा.शेरबहादुर पुनसँग गरिएकाे भिडियाे कुराकानी:

प्रकाशित मिति: : 2023-12-20 18:00:00

प्रतिकृया दिनुहोस्