उद्योगीसँग हातेमालो गर्दै अगाडि बढ्छौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वदेशी उत्पादन वृद्धि र रोजगारी सृजना गर्न उद्योगी व्यवसायीसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन्।

लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित लेखनाथ महोत्सव आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले भने, 'रोजगारीका लागि विदेश जाने बढ्दोक्रम रोक्दै स्वदेशमै रोजगारीको सृजना गर्नुको विकल्प छैन। स्वरोजगार र कृषि उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अगाडि बढेको छ।'

प्रदेशका पहाडी क्षेत्रमा खेतीयोग्य जमिन बाँझो भएका कारण त्यस क्षेत्रमा कृषि उत्पादन गर्न प्रदेश सरकारले कृषि अनुदानको कार्यक्रम ल्याउने तयारी गरेको उनको भनाइ छ। गण्डकीलाई समृद्ध र समुन्नत प्रदेश बनाउन दलगत स्वार्थ त्यागेर अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

'कृषि र पर्यटनबाट नै गण्डकी प्रदेशको समृद्धि हुने भएकाले सरकार ती क्षेत्रको विकासमा जुटेको छ', मुख्यमन्त्री पाण्डेले भने, 'पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने तयारीमा छौँ।' उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै त्यसलाई सञ्चालन गर्न आफूले छिमेकी दुई देशसँग समन्वय गर्नुको साथै सङ्घ सरकारलाई पनि पहल गर्न आग्रह गरिरहेको जानकारी दिए।

प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशको समृद्धिका लागि यस क्षेत्रका उद्योग तथा सहकारीले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताए। पोखराका नौ वटा ताललाई सडक सञ्जालबाट जोड्न सकिए पर्यटकको बसाईं लम्ब्याउन सकिने भनाइ उनको थियो। 

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले १९औँ संस्करणको लोखनाथ महोत्सव यही पुस ५ देखि १६ गतेसम्म सञ्चालनमा आउने बताए। विसं २०५८ देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिस्कृत गर्दै विसं २०६१ देखि वार्षिक रुपमा महोत्सव गर्दै आएको उनले बताए।

विभिन्न जातजाति भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्य मात्र नभई महोत्सवको माध्यमबाट यस क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीको उत्पादनको प्रदर्शनी एवं बिक्री गरिने उनले बताए।

महोत्सवमा कविशिरोमणि लेखनाथ पौडेलको सम्झनामा साहित्यिक कार्यक्रम, महिला विशेष तथा रीतिरिवाज जर्गेनाअन्तर्गत रत्यौली कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जातजातिको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमारमहिला समूहको झाँकी, र्याली तथा वेशभूषा प्रदर्शनी, हास्यव्यङ्ग्य कलाकारको दैनिक प्रस्तुति, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट हुने बताइएको छ।

औद्योगिक उत्पादनलाई बढावा दिन, हस्तकलाका सामानको बजार प्रवर्द्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन, आवश्यक ज्ञान, सीप, उद्यमहशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवर्द्धन, जातीय वेशभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्न, आन्तरिक एवं वाह्य पर्यटक आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने महोत्सवको मुख्य उद्देश्य रहेको छ। 

महोत्सवको बचतबाट प्रदर्शनीस्थल र सङ्घको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ वेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रवर्द्धनका लागि उत्कृष्टस्तरको कोसेली घर निर्माण, सङ्घद्वारा वेगनासतालमा निर्माण गरिएको लेटर बोर्डको परिसरमा चेम्बर पार्क निर्माणलगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने सो अवसरमा बताइएको छ। 

विभिन्न तीन सय ३४ व्यापारिक कक्ष रहने महोत्सवको दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ। करिब नौ करोड बराबरको आर्थिक कारोबार हुने र करिब ९० लाख आम्दानी भई १० लाख बचत हुने लक्ष्य राखिएको छ। 

प्रकाशित मिति: : 2023-12-21 21:45:00

प्रतिकृया दिनुहोस्