स्वास्थ्यकर्मी तुलसालाई जातीय विभेद गर्ने स्वास्थ्य चौकी इन्चार्ज पक्राउ

मुगुको सोरु गाउँपालिका-९ स्थित खनया स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही जातीय विभेदको आरोपमा पक्राउ परेका छन्।

स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा कुमारी विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

सुरजविरुद्ध पीडित तुलसाले आइतबार प्रहरीमा जाहेरी दिएकी दर्ता भएर पक्राउ पुर्जी नै जारी भएको थियो।

उनलाई सोमबार प्रहरीले सदरमुकाम गमगढीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिएका छन्।

पीडित तुलसालाई सुरजकी आमा झ्यापुको पक्ष लिई डेरा छोड्न दाबाब दिएको, जातीय आधारमा  स्वास्थ्य चौकीको क्वाटरमा बस्न नदिएको जाहेरीमा दाबी छ।

जातीय विभेद गरेको आरोपमा सुरजकी आमा झ्यापु शाही र स्थानीय व्यापारी धनप्रसाद भट्टलाई प्रहरीले आइतबार नै पक्राउ गरिसकेको छ।

घटना बाहिर आएपछि इन्चार्ज शाहीले सामाजिक सञ्जाल फेसबुकमा समेत जातीय विभेद हुने पोस्ट गरेका थिए।

प्रकाशित मिति: : 2023-12-26 13:03:00

प्रतिकृया दिनुहोस्