पातारासीका गाउँहरू छुइगोठ मुक्त बन्दै 

पातारासी गाउँपालिका भित्रका गाउँहरू एक–एक गर्दै छुइगोठ मुक्त बन्दैछन्। यसैबीच बुधबार गाउँपालिकाको वडा नं ४ लाई छुईगोठ मुक्त घोषणा गरिएको हाे। 

उक्त वडाका तीन गाउँ लाम्री, तिर्खु र डिल्लीचौर गाउँका महिलाहरू आफ्नै घरमा सुरक्षित रुपमा बस्न थालेपछि छुइगोठ मुक्त वडा घोषणा गरिएको पातरासी गाउँपालपकाकी महिला शाखाकी प्रमुख भगवती गिरीले बताइन्।

'छुईगोठ मुक्त वडा घोषणाका लागि विभिन्न सुचक पूरा गर्न गाउँ–गाउँ र विद्यालयमा सचेतनाका कार्यक्रम गरिएको थियो,' उनले भनिन्, 'छुईप्रथा महिला विकासको बाधक मात्र नभई सामाजिक अपराध हो। यसलाई अझ पेचिलो ढंगले बुझाउन जरुरी छ। जसले छुइप्रथाको जरा उखेल्न सहयोग गर्नेछ।'

वडा नं ४ का तीनवटै गाउँमा सबै महिनावारी हुने उमेर समूहका किशोरी तथा महिला घरमै बस्ने गरेको सुनिश्चित भएपछि वडालाई छुइगोठ मुक्त घोषणा गरिएको वडाध्यक्ष काली बहादुर बुढाले बताएका हुन्।

'गाउँमा अहिले छुईप्रथा मान्ने कुनै घर छैन्। सबै महिला किशोरी घरमै बस्दै आएका छन्,' उनले भने, 'धामि झाँक्रीहरूलाई पटक पटक अभिमुखिकरण गर्दै आएका पनि छौं। यदपी आगामी दिनमा घोषणा कार्यान्वयनमा समस्या ल्याएमा कारबाहि गरिने छ।'

कुल महिला १ हजार २० जना मध्य महिनावारी हुने उमेरका सबै किशोरी तथा महिला हाल महिनावारी हुँदा घरमै बस्दै आएपछि ४ नम्बर वडालाई छुइगोठ मुक्त घोषणा गर्न सफल भएको महिला शाखा प्रमुख गिरीले बताइन्। 

उनले भनिन्, 'एउटा स्वभाविक चक्रलाई हाम्रो समाजले पाप जस्तो बनायो। यो फुल फुलेपछि फल लाग्ने प्रक्रिया हो। स्वभाविक रुपमा लिउँ।'

छुई कुप्रथालाई जरैदेखि उखेल्न यो अभियान जरुरी रहेको पातारासीका अध्यक्ष पूर्णसिंह बोहराले बताए। 

'उनले भने हामीले सुरु गरेको अभियान सफल पारेर मात्रै विश्राम लिन्छौं।  सामाजिक सशक्तिकरण हाम्रो प्रथामिकतमा छ,' उनले भने, 'छुइप्रथा समाज रुपान्तरणको बाधक बनेको छ। यो बाधा फकाउनु हाम्रो दायित्व हुनेछ।'

छुईप्रथा महिला शसक्तिकरणको मुख्य बाधक बनेको सर्वाेदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीको भनाई छ। 

छुईगोठ मुक्त घोषणा कार्यक्रममा वडाका विभिन्न गाउँका महिलाहरूले देउडा गित समेत प्रस्तुत गरेका थिए। गीत मार्फत छुईप्रथा र छुईगोठमा बस्दा हुने असर घरमा बस्दा हुने फाईदाका विषयमा प्रस्तुत गरेका हुन।

कार्यक्रमका अबसरमा वडालाई छुईगोठ मुक्त वडा घोषणाका लागि सहयोग गर्ने व्यक्ति र निकायलाई सम्मान गरिएको थियोे।

४ नम्बर वडाका तिर्खु,लाम्री र डिल्लीचौ गरि तीन गाउँमा कुल पाँच सय घरधुरी रहेको छ। भने दुई हजार एक सय ९५ जनसंख्यामा रहेको छ। जसमा महिला एक हजार ७० जना र पुरुष एक हजास एक सय २५ जना रहेका छन्।

प्रकाशित मिति: : 2024-01-11 08:34:00

प्रतिकृया दिनुहोस्