मुगुमा बलात्कृत १४ वर्षीया बालिका प्रदेश अस्पताल रिफर

मुगुमा बलात्कृत भएकी १४ वर्षीया किशोरी छायाँनाथ रारा नगरपालिका-१४ की बालिकालाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ।

स्वास्थ्य सेवा कार्यालय गमगढी मुगुमा उपचार सम्भव नभएपछि अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) अन्तर्गत उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ। 

कार्यालयका अनुसार बलात्कारमा परेकी बालिका यही पुस २० गते जिल्ला अस्पताल मुगुमा चेकजाँच गर्न आएकी थिइन। अस्पतालमा उपचार सम्भव नभएपछि (ओसिएमसी) कार्यक्रम अन्तर्गत बालिकालाई पुस २३ गते प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुकी सिनियर अनमी रामदेवि केसीले बताइन्। उनले भनिन्, 'बालिलाई अहिले प्रदेश अस्पतालको (ओसिएमसी) अन्तर्गत फाँट राखिएको छ।'

छायाँनाथ रारा नगरपालिका-५ का नगर प्रहरी ३० वर्षीय बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढी मुगुमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका-८ आँसिधाराका २२ वर्षीया बसन्त रोकाया र अन्य केही १४ वर्षका बालकले १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेका थिए। 

बालिकाको गर्भमा बच्चा समेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी बिरेन्द्रबहादुर थापाले बताए।

'१४ वर्षका बालकहरूले गत १६ भदौमा आफूमाथि बलात्कार गरेका र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदमबहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएकी छिन्,' उनले भने।

प्रकाशित मिति: : 2024-01-15 20:35:00

प्रतिकृया दिनुहोस्