गायक वैद्यलाई गीतसङ्गीतमार्फत श्रद्धाञ्जली

गायक तथा साहित्यकार योगेश वैद्यलाई सङ्गीतकर्मीले गीतसङ्गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिएका छन्। उनको आज ७७ वर्षको उमेरमा सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

नेपाल सङ्गीतकार सङ्घको आयोजनामा नक्सालस्थित सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा भएको श्रद्धाञ्जली सभामा उनको पार्थिव शरीरलाई सङ्गीतकार शम्भुजीत बास्कोटा, चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्कालगायतले श्रद्धाञ्जली दिए।

‘सपना भुलाइ सारा’ गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिइएको सङ्गीतकार सङ्घका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए। ‘उहाँको निधनले हामीलाई ठूलो क्षति भएको छ। केही दिन अगाडि मात्र नोर्बू छिरिङ्ग दाईलाई बिदाइ गरेका थियौँ, अहिले योगेश दाईलाई बिदाइ गर्दैछौँ। हामी मर्माहित छौँ’, अध्यक्ष सापकोटाले भने।

सङ्गीतकार शम्भुजीत बास्कोटाले दिवङ्गत गायक वैद्यसँग तीन दिन अगाडि मात्रै कुरा भएको बताए। उनले भने, ‘उहाँले कविता, गीत लेख्नुहुन्थ्यो। सङ्गीत गर्नुहुन्थ्यो। उहाँ मखमली आवाजको धनी हो। मेरा केही गीतहरु पनि गाउनुभएको थियो।’

वैद्यको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरलाई छोरा लोकेस नन्दन वैद्यले दागबत्ती दिए।

करिब पाँच सय नेपाली गीत तथा झण्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिएका वैद्य पछिल्लो समय पक्षघातसम्बन्धी समस्या झेलिरहेका थिए। गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए।

वि.सं.२००३ मा नरदेवीमा जन्मिएका उनको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाइ सारा’ बोलको गीत गीत निकै लोकप्रिय छन्। राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति प्रकाशित छन्। उनकी श्रीमती, दुई छोरी र एक छोरा छन्।

प्रकाशित मिति: : 2024-01-19 21:28:00

प्रतिकृया दिनुहोस्