जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि मधेस कृषि विश्वविद्यालयको सपना पूरा भएकोमा खुसी व्यक्त गरेका छन्। आज सो विश्वाविद्यालयको भवन शिलान्यासका अवसरमा विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउनेमा विश्वास व्यक्त गरे।
‘आज राजविराजमा कृषि विश्वविद्यालय भवन शिलान्यास गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ, विश्वविद्यालयबाट उत्पादन हुने दक्ष जनशक्तिले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै रोजगारी तथा आर्थिक समृद्धिमा योगदान दिनेमा विश्वस्त छु’, उनले भने। उनले विश्वविद्यालयको भवन निर्माणका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले कृषि विश्वविद्यालय प्रदेश सरकारको गौरवका योजनामा रहेकाले भवन निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे। उनले विश्वविद्यालय परिवारलाई उच्च मनोबलका साथ अगाडि बढन समेत निर्देशन दिए।